भ्रमण संस्कृतिमा गण्डकी देशकै पहिलो, ६१ प्रतिशत घरधुरी पर्यटकीय गतिविधिमा संलग्न

पर्यटन

भ्रमण संस्कृतिमा गण्डकी देशकै पहिलो, ६१ प्रतिशत घरधुरी पर्यटकीय गतिविधिमा संलग्न

bandipur ghumghaam

बन्दीपुरमा आन्तरिक पर्यटक

पोखरा । नेपालमा आन्तरिक पर्यटनको अवस्थाबारे राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पहिलो राष्ट्रिय प्रतिवेदनमा गण्डकी प्रदेशको सबैभन्दा बलियो उपस्थिति देखिएको छ । ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ अनुसार गण्डकी प्रदेशका बासिन्दा भ्रमण गर्ने मामिलामा देशकै पहिलो नम्बरमा देखिएका छन् । प्रतिवेदनले गण्डकीका प्रति १ हजार घरधुरीमध्ये ६ सय १२ घरधुरीले पर्यटकीय भ्रमण गर्ने गरेको देखाएको छ । यो तथ्यांक देशभरकै औसत सहभागी दर ५ सय २३ भन्दा निकै बढी हो ।

देशभरका ३६.२ लाख घरधुरी आन्तरिक पर्यटनमा सहभागी हुँदा गण्डकी प्रदेशका ४.१३ लाख घरधुरीले भ्रमण गरेका छन् । प्रतिवेदन अनुसार गण्डकीका बासिन्दाले वर्षमा औसत ६.२६ पटक भ्रमण गर्ने गरेका छन् । यो भ्रमणको आवृत्ति देशभरका सातै प्रदेशमध्ये सबैभन्दा धेरै हो । भ्रमणका क्रममा गण्डकीका पर्यटकहरू औसत ५.५८ दिन गन्तव्यमा बिताउने गरेका छन् । यो समय राष्ट्रिय औसत बसाइ ५.२९ दिनभन्दा बढी हो ।

गण्डकी प्रदेशमा आन्तरिक पर्यटकको आवागमन पनि उत्साहजनक देखिएको छ । सर्वेक्षण अवधिमा गण्डकी प्रदेशमा ३२.८६ लाख ‘सोही दिन फर्किने’ (सेम–डे) र २५.६४ लाख ‘रात बिताउने’ (ओभरनाइट) पर्यटकहरू पुगेका छन् । लुम्बिनी र कोसी प्रदेशपछि सबैभन्दा धेरै पर्यटक पुग्ने प्रदेशमा गण्डकी तेस्रो स्थानमा छ । विशेष गरी बिदा र मनोरञ्जनका लागि कास्की जिल्ला नेपालकै पहिलो रोजाइको गन्तव्य बनेको छ । मनोरञ्जनका लागि हुने कुल राष्ट्रिय भ्रमणमध्ये कास्कीको हिस्सा २२.२२ प्रतिशत छ ।

आर्थिक योगदानका हिसाबले पनि गण्डकी प्रदेशको भूमिका महत्वपूर्ण देखिएको छ । गण्डकी प्रदेशका बासिन्दाले आन्तरिक र बाह्य पर्यटनमा गरी ६० अर्ब २६ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । यसमध्ये आन्तरिक पर्यटनमा ५५ अर्ब ८६ करोड रुपैयाँ र बाह्य पर्यटनमा ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ खर्च भएको छ । गण्डकीका पर्यटकले एकपटकको भ्रमणमा औसत १५ हजार ६ सय ५२ रुपैयाँ खर्च गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेशको सबल पक्षका रूपमा यहाँका बासिन्दामा देखिएको उच्च भ्रमण संस्कृति र कास्की जस्तो आकर्षक गन्तव्य रहनुलाई लिइएको छ । ‘मनोरञ्जनका लागि जाने पर्यटकका लागि कास्की जिल्ला पहिलो स्थानमा छ,’ प्रतिवेदनमा भनिएको छ । गण्डकीमा पर्यटनको आवृत्ति धेरै हुनुले यहाँको आन्तरिक पर्यटन बजार परिपक्व हुँदै गएको संकेत गर्छ । यस्तै यहाँको पर्यटनमा महिलाको सहभागिता पनि ५२ प्रतिशतभन्दा माथि रहनुलाई सकारात्मक मानिएको छ ।

गण्डकीका केही दुर्वल पक्षहरू पनि प्रतिवेदनले उजागर गरेको छ । लुम्बिनी र मधेश प्रदेशको तुलनामा गण्डकीमा ‘सेम–डे’ पर्यटकको संख्या कम छ । सीमावर्ती क्षेत्र नभएका कारण भारततर्फ हुने बाह्य पर्यटनमा गण्डकीको हिस्सा लुम्बिनी र मधेशको तुलनामा निकै कम छ । यस्तै गण्डकीका बासिन्दाले गर्ने खर्चको ठुलो हिस्सा (करिब २७ प्रतिशत) स्वास्थ्य उपचारमा हुने गरेको छ । यसले मनोरञ्जन र व्यावसायिक भ्रमणमा हुने खर्चलाई अझै बढाउनुपर्ने आवश्यकता देखाउँछ ।

तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकृत डा. कमलप्रसाद पोखरेलले यो सर्वेक्षणले नेपालको अर्थतन्त्रमा आन्तरिक पर्यटनको वास्तविक योगदान मापन गरेको बताए । ‘पर्यटन स्याटलाइट लेखा (टिएसए) ढाँचामा आधारित यो प्रतिवेदनले नीति निर्माणमा ठूलो सहयोग पुर्‍याउनेछ,’ उनले भने । प्रतिवेदनले आन्तरिक पर्यटनले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा २.६५ प्रतिशत योगदान पुर्‍याएको तथ्य समेत सार्वजनिक गरेको छ ।

यो सर्वेक्षणका लागि देशभरका ४ सय ४४ गणना क्षेत्रका ५ हजार ३ सय २८ घरधुरीमा स्थलगत अध्ययन गरिएको थियो । गण्डकी प्रदेशमा मात्रै ५५ वटा गणना क्षेत्र छानिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ