पूर्वाधार विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको ५४.६४ प्रतिशत खर्च गरेको छ । कार्यालयले एक अर्ब नौ करोड ८१ हजार ८३ रुपैयाँमध्ये ५९ करोड ५६ लाख ७१ हजार ७८० रुपैयाँ खर्च गरेको हो ।
कार्यालय प्रमुख गुरुदत्त अधिकारीका अनुसार प्रदेशतर्फका ११६ र संघतर्फका पाँच गरी कार्यालयअन्तर्गत १२१ योजना थिए । तीमध्ये ६१ वटा योजना सम्पन्न भएका छन् भने ५३ वटा निर्माणाधीन अवस्थामा छन् । सात वटा योजनामा भने काम हुन सकेन ।
अघिल्लो आर्थिक वर्षबाट ५२ वटा योजना चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा आएका थिए । मागअनुसार ती योजनाका लागि ७५ प्रतिशत मात्रै बजेट प्राप्त भएकाले केही योजनामा बजेट रकमान्तर गरेर १२ वटा योजना सम्पन्न गरिएको अधिकारीले जानकारी दिए ।
चार मोटरेबल र चार झोलुङ्गे पुल बने
कार्यालयले चालु आर्थिक वर्षमा रातो खोला, राक्सेघाट, पौवेखोला र फेदीखोलामा चार वटा मोटरेबल पुल निर्माण गरेको छ । यस्तै, चार वटा झोलुङ्गे पुलसमेत निर्माण भएको अधिकारीले बताए ।
यस अवधिमा ९.५ किलोमिटर सडक कालोपत्रे, ७.७ किलोमिटर सडक ढलान, पाँच किलोमिटर ग्राभेल र १.२५ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । ३०.३ किलोमिटर नाला निर्माण गर्नुका साथै १०९ वटा कल्भर्ट तथा ह्युम पाइप राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयअन्तर्गत बायाँटारी–सेतीवेणी, मण्डलीथान, धुर्कोट–दामाचौर र जिमुवा–पाखीचौर बहुवर्षीय योजनामा पनि राम्रो प्रगति भएको अधिकारीले बताए ।
सात योजनामा काम भएन
कार्यालयका अनुसार भीरकोट–मोहनडाँडा सडक र बीपी स्मृति भवन सडकका लागि ५०–५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । त्यस्तै, गल्याङ–चापाकोट सडक मर्मतका लागि २५ लाख, कटुवा थर–निबुवाखर्क झोलुङ्गे पुलका लागि एक करोड, झोलुङ्गे पुल मर्मतका लागि ५० लाख र जनता आवास कार्यक्रमका लागि पाँच लाख रुपैयाँ छुट्याइएको थियो । तर यी योजनामा काम हुन नसकेको अधिकारीले जानकारी दिए ।
सडक निर्माणमा ढिलाइ गर्ने बलमाटा सडकको ५६ लाख रुपैयाँ र ज्यामिरे–कोल्मा सडकको एक करोड ६० लाख रुपैयाँ धरौटीसमेत कार्यालयले सरकारी खातामा तानेको उनले बताए ।
यातायातबाट ११ करोड ७६ लाख राजस्व
कार्यालयअन्तर्गतको यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ११ करोड ७६ लाख एक हजार ८२९ रुपैयाँ राजस्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालयले सवारीसाधन नवीकरण, २४५ वटा जाँचपास तथा ५३४ वटा रुट परमिटबाट उक्त राजस्व संकलन गरेको हो ।
कार्यालय प्रमुख अधिकारीले महँगी, अलकत्राको मूल्यवृद्धि, निर्वाचन तथा जेनजी आन्दोलनलगायतका कारण पूर्वाधारतर्फ अपेक्षाअनुसार प्रगति हासिल गर्न नसकिएको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते