स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

स्याङ्जामै पहिलोपटक अर्जुनचौपारीबाट सुरु भयो करदाता सेवा

arjunchauparima-kardata-sewa-suru

स्याङ्जा जिल्लामै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकाबाट औपचारिक रूपमा करदाता सेवा सञ्चालनमा आएको छ । गाउँपालिकामै सेवा उपलब्ध हुन थालेपछि अब स्थानीय नागरिक र व्यवसायीले प्यानदेखि भ्याटसम्बन्धी विभिन्न कामका लागि अन्यत्र धाउनुपर्ने अवस्था कम हुने भएको छ ।

करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले करदाता सेवा कार्यालयको संरचना हटाएपछि स्याङ्जाका ११ स्थानीय तहमध्ये अर्जुनचौपारी गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरी जिल्लामै पहिलोपटक यस्तो सेवा सुरु गरेको हो ।

यसअघि करदाता सेवा कार्यालय स्याङ्जाबाट उपलब्ध हुँदै आएका केही सेवा अब गाउँपालिकाबाटै प्राप्त गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

उनका अनुसार गाउँपालिकाबाट व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) जारी गर्ने, प्यान संशोधन गर्ने तथा रूपान्तरणलगायतका सेवा उपलब्ध हुनेछन् ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) दर्ता, रूपान्तरण र खारेजीका साथै कर चुक्ता प्रमाणपत्रसँग सम्बन्धित सेवासमेत आन्तरिक राजस्व कार्यालय पोखराको समन्वयमा गाउँपालिकाबाटै उपलब्ध गराइनेछ ।

अर्यालका अनुसार करसम्बन्धी अधिकांश काम अब स्थानीय तहमै हुनेछन् । गाउँपालिकाबाट समाधान हुन नसक्ने प्राविधिक वा अन्य विषयमा भने आन्तरिक राजस्व कार्यालय पोखरासँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइनेछ ।

पालिकामै करदाता सेवा सुरु भएपछि करको दायरामा आउने व्यक्ति तथा व्यवसायीको समय र आर्थिक खर्च बचत हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ