बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान

बढुवा

बाढीपछि उद्धारमा खटिएका पूर्व कप्तान भरत खवास नेपाली सेनाको मेजरमा बढुवा, फिल्डमै दर्ज्यानी चिन्ह प्रदान

bharat khawas

काठमाडौँ। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवम् प्रभावशाली स्ट्राइकर भरत खवास नेपाली सेनाको मेजर (सेनानी) पदमा बढुवा भएका छन्। नेपाली सेनाले उनलाई सह-सेनानी (क्याप्टेन) बाट सेनानीमा पदोन्नति गरेको हो।

भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यका लागि नुवाकोटको त्रिशूली क्षेत्रमा खटिएका छन् । खवासले कार्यक्षेत्र (विपद् व्यवस्थापनको उद्धार मैदान) मै सेनानी पदको दर्ज्यानी चिन्ह लगाएका हुन्।

यसअघि २०७९ साउनमा सह-सेनानी (क्याप्टेन) मा बढुवा भएका ३४ वर्षीय खवासले हाल बाढीपीडितको उद्धारमा खटिएकै स्थानबाट सेनानीको जिम्मेवारी प्राप्त गरेका छन्।

फुटबलमा पनि उनको यात्रा उत्तिकै प्रभावशाली छ । एन्फा एकेडेमीका उत्पादन खवासले संकटा ब्वाइज क्लबबाट युवा उमेरमा आफ्नो खेल कौशल निखारेका थिए। त्यसपछि उनले फ्रेन्ड्स क्लब र स्पोर्टिङ इलाम मेचीबाट समेत व्यावसायिक फुटबल खेलेका थिए।

नेपाल पुलिस क्लब हुँदै त्रिभुवन आर्मी क्लबमा आबद्ध भएका उनी लामो समयदेखि आर्मी टोलीका मुख्य खेलाडीका रूपमा मैदानमा सक्रिय छन्। नेपालका लागि फिफा विश्वकप छनोट, एएफसी च्यालेन्ज कप छनोट, साफ च्याम्पियनसिप र एएफसी सोलिडारिटी कपजस्ता ठूला प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरिसकेका खवास सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा तीनपटक उत्कृष्ट फरवार्ड घोषित भइसकेका खेलाडी हुन्।

खेल मैदानमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पहिचान बनाएका खवासले सैनिक अधिकारीका रूपमा विपद् प्रभावित नागरिकको उद्धारमा खटिइरहेकै बेला पदोन्नति पाएका हुन्। उनको बढुवालाई नेपाली खेलकुद र सैनिक सेवाबीचको अनुशासन, समर्पण तथा निरन्तरताको उदाहरणका रूपमा हेरिएको छ।

खवास नेपाली सेनाको सैनिक वायु सेवामा कार्यरत छन्। उनले हवाई उडान सञ्चालनसम्बन्धी विशेष तालिमसमेत लिएका छन्। सन् २०१९ मा सैनिक जिम्मेवारीअन्तर्गत थाइल्यान्डमा ‘फ्लाइट अपरेसनल अफिसर’सम्बन्धी तालिममा सहभागी भएका कारण उनले राष्ट्रिय टोलीका केही अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। तालिम सकेपछि उनी पुनः राष्ट्रिय टोलीमा फर्किएका थिए।

खवास करिब १४ वर्षअघि नेपाली सेनामा प्रवेश गरेका थिए। उनी २०७२ सालमा उपसेनानी र २०७९ साउनमा सहसेनानी पदमा बढुवा भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds