बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

खेतीदेखि ब्रान्डसम्म

बुबाले रोपेको कफीमा छोराको प्रिमियम सपना

तीन पुस्तादेखिको कफी खेतीलाई आधुनिक प्रशोधन, ब्रान्डिङ र फार्म पर्यटनसँग जोड्दै केसी

Krishnajung-Kc-2

बुबाले सुरु गरेको कफी बगानमा अहिले छोरा नयाँ स्वाद र नयाँ बजारको खोजीमा छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ उनियाचौरका भूमिजंग केसीले वर्षौँअघि सुरु गरेको कफी खेतीलाई उनका छोरा कृष्णजंग केसीले प्रिमियम कफी उत्पादन, ब्रान्डिङ र फार्म पर्यटनसँग जोडेर नयाँ उचाइ दिने प्रयास गरिरहेका छन् ।

केसी परिवारले आफ्नै बगानमा उत्पादन गरेको कफीलाई अन्य स्थानको कफीसँग नमिसाई छुट्टै प्रशोधन गरेर बजारमा पठाउँदै आएको छ । ‘सिंगल फार्म ओरिजिन’ नाम दिइएको यो कफी ‘भूमि रोस्टरी’मार्फत सीमित परिमाणमा बिक्री भइरहेको छ । आफ्नै बगानको कफीको मौलिक स्वाद, गुणस्तर र पहिचान कायम राख्ने उद्देश्यले छुट्टै प्रशोधन र बजारीकरण गरिएको कृष्णजंग बताउँछन् ।

‘मेरो बुबाको सम्मानमा यो कफी बनाइरहेको छु । उहाँले गरेको कृषि पेसालाई अँगालेर नयाँ पुस्ताले पनि यस क्षेत्रमा भविष्य देख्न सक्छ भन्ने सन्देश दिन चाहेको हुँ ।’

बेलायतमा करिब १५ वर्ष बसेर नेपाल फर्किएका कृष्णजंग पछिल्लो समय कफी क्षेत्रमा सक्रिय छन् । बुबाले गर्दै आएको कृषि पेसालाई निरन्तरता दिँदै उनले खेतीसँगै कफी प्रशोधन, क्याफे र फार्म पर्यटनलाई एउटै व्यवसायिक अवधारणामा जोड्ने प्रयास गरेका छन् ।

हाल ‘भूमि रोस्टरी’बाट मासिक करिब १० देखि २० किलो प्रिमियम कफी बजारमा पठाउने तयारी भइरहेको छ । आगामी वर्ष उत्पादन बढाएर करिब पाँच क्विन्टल प्रिमियम कफी बजारमा पुर्‍याउने परिवारको लक्ष्य छ ।

एउटै फार्ममा उत्पादन भएको कफीलाई छुट्टै राखेर प्रशोधन गर्दा स्वाद, गुणस्तर र उत्पादनको मौलिक पहिचान कायम राख्न सहज हुने कृष्णजंगको भनाइ छ । यही कारण केसी परिवारले ठूलो परिमाणमा उत्पादन गरेर सामान्य बजारमा पठाउनुभन्दा सीमित उत्पादनमार्फत प्रिमियम बजारमा आफ्नो पहिचान स्थापित गर्ने रणनीति लिएको छ ।

‘धेरै उत्पादन गर्नुभन्दा गुणस्तर, मौलिकता र पहिचानलाई प्राथमिकता दिनुपर्छ । आफ्नै बगानको कफीलाई आफ्नै पहिचानसहित बजारमा पुर्‍याउनु हाम्रो लक्ष्य हो ।’

केसी परिवारले अहिले करिब ४५ रोपनीमा कफी खेती गरिरहेको छ । बगानबाट वर्षमा १५ देखि १८ क्विन्टलसम्म कफी उत्पादन हुँदै आएको छ । बगानको राम्रो हेरचाह र व्यवस्थापन गर्न सके उत्पादन बढाएर २० क्विन्टलसम्म पुर्‍याउन सकिने कृष्णजंग बताउँछन् ।

उत्पादित कफीमध्ये करिब १० क्विन्टललाई छुट्टै प्रशोधन गरी प्रिमियम ‘सिंगल फार्म’ कफीका रूपमा बजारमा लैजाने परिवारको योजना छ ।

बजार खोज्न धाउनुपर्दैन
कफी उत्पादन बढ्दै गए पनि बजारको समस्या नरहेको कृष्णजंग बताउँछन् । परिवारले आफ्नै व्यवसायमार्फत प्रत्यक्ष बिक्री गर्नुका साथै अनलाइन माध्यमबाट पनि ग्राहकसम्म कफी पुर्‍याउँदै आएको छ । काठमाडौंका विभिन्न ग्राहक तथा संस्थालाई नियमित रूपमा कफी बिक्री भइरहेको छ ।

उनका अनुसार केसी परिवारको कफी बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, न्युजिल्यान्ड र अस्ट्रेलियासम्म पुगिरहेको छ । नेपालका करिब ४० देखि ५० वटा क्याफेलाई समेत नियमित रूपमा कफी उपलब्ध गराउँदै आएको उनले बताए ।

कफीको उत्पादन र बिक्रीसँगै परिवारले फार्म पर्यटनलाई पनि व्यवसायको अर्को पाटो बनाएको छ । फार्म र क्याफेमा आउने विदेशी पर्यटकमार्फत नेपाली कफी, कृषि उत्पादन र स्थानीय पर्यटनबारे जानकारी फैलाउन सहयोग पुगेको कृष्णजंग बताउँछन् ।

उनका अनुसार फार्म भ्रमणका लागि अहिलेसम्म २५६ वटा समूहले बुकिङ गरिसकेका छन् । फार्ममा आउने पर्यटकलाई कफी खेती, टिपाइ, प्रशोधन र उत्पादनको प्रक्रियाबारे जानकारी दिने गरिएको छ ।

कफी खेतीले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । फार्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् । कफी टिप्ने, गोडमेल गर्ने, बोक्ने तथा प्रशोधन गर्ने मौसमी काममा तीन महिनाको अवधिमा २० देखि २५ जनासम्मले रोजगारी पाउने गरेका छन् ।

‘कफी नेपालका लागि तेलजस्तै बन्न सक्छ’
नेपालको भौगोलिक उचाइ, माटो र हावापानी कफी खेतीका लागि अनुकूल रहेको कृष्णजंगको बुझाइ छ । उत्पादनको गुणस्तरमा ध्यान दिन सके नेपाली कफीले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाउन सक्ने उनको विश्वास छ ।

‘खाडी राष्ट्रले तेल निर्यात गरेर जसरी आफ्नो अर्थतन्त्रलाई बलियो बनाएका छन्, हाम्रो लागि कफी पनि महत्वपूर्ण उत्पादन बन्न सक्छ ।’

तर त्यसका लागि ठूलो परिमाणमा उत्पादन गर्नुभन्दा गुणस्तर, मौलिकता र पहिचानलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ । यही सोचअनुसार केसी परिवारले आफ्नै बगानमा उत्पादन भएको कफीलाई छुट्टै पहिचान दिएर सीमित उत्पादनमार्फत प्रिमियम बजारमा पुर्‍याउने रणनीति अपनाएको हो ।

तीन पुस्तादेखिको कफी खेती
केसी परिवारको कफी खेतीको इतिहास कृष्णजंगको पुस्ताबाट मात्र सुरु भएको होइन । परिवारका अनुसार उनका हजुरबुबा नरबहादुर केसीले गुल्मी जिल्लाको रिडी क्षेत्रबाट कफीका बिरुवा ल्याएर आफ्नै बगानमा रोपेका थिए ।

परिवारमा विसं. २०१६ देखि २०१८ सालतिर कफी खेती सुरु भएको थियो । त्यसलाई भूमिजंग केसीले २०३३ सालदेखि व्यवस्थित रूपमा विस्तार गर्दै व्यावसायिक दिशामा अघि बढाएका थिए । त्यसपछिको पुस्ताले २०५८ सालदेखि कफी क्षेत्रमा सक्रिय रूपमा काम गर्न थालेको कृष्णजंग बताउँछन् ।

हाल ९४ वर्षका भूमिजंगले कृषि तथा कफी क्षेत्रमा पुर्‍याएको योगदानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेका छन् । उनलाई थाइल्यान्डको राजदरबारबाट उत्कृष्ट कृषकका रूपमा सम्मान गरिएको थियो ।

परिवारका अनुसार संयुक्त राष्ट्रसंघले सन् १९९६ मा उनलाई एसियाका उत्कृष्ट कृषकमध्ये एकका रूपमा १० हजार अमेरिकी डलर, प्रमाणपत्र र पदक प्रदान गरेको थियो । नेपाल सरकारले समेत उनलाई कृषि क्षेत्रमा पुर्‍याएको योगदानका लागि गोर्खा दक्षिण बाहुले सम्मान गरेको थियो ।

विदेश छाडेर आफ्नै माटोमा
बेलायतमा काम गरेका कृष्णजंग नेपाल फर्किएपछि परिवारको कृषि कर्ममै जोडिए । उनले कफीलाई परम्परागत खेतीका रूपमा मात्र नहेरी आधुनिक व्यवसाय र पर्यटनसँग जोड्ने प्रयास गरिरहेका छन् ।

‘युवाले भविष्य खोज्न विदेश नै जानुपर्छ भन्ने सोच बदल्नुपर्छ । आधुनिक प्रविधि र बजार व्यवस्थापन गर्न सके आफ्नै माटोमा कृषि उद्यमबाट पनि राम्रो सम्भावना छ ।’

बुबालाई गुरुका रूपमा सम्मान गर्दै कृष्णजंगले आफ्नै उत्पादनलाई बजारमा फरक पहिचान दिन ‘कर्ण कफी’ र ‘रोड साइड’ जस्ता ब्रान्डसमेत बजारमा ल्याएका छन् । यी ब्रान्ड ग्राहकबीच लोकप्रिय हुँदै गएको उनको भनाइ छ ।

कृषि, कफी र पर्यटनलाई एउटै व्यवसायिक अवधारणामा जोडेर स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने प्रयासमा केसी परिवार लागेको छ । बुबाले रोपेको कफीको बिरुवालाई छोराले नयाँ पुस्ताको सोच, प्रविधि र बजारसँग जोड्दै अघि बढाएका छन् ।

परम्परागत कृषि पेसालाई आधुनिक उद्यममा रूपान्तरण गर्ने यो प्रयासले एउटा परिवारको व्यवसाय विस्तार मात्र देखाउँदैन, आफ्नै माटोमा सम्भावना खोज्ने नयाँ पुस्ताको सोचलाई पनि प्रतिनिधित्व गर्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ