दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो

चाडपर्व

दशैं मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो

new buspark

बडादशैंको आगमनसँगै राजधानी काठमाडौं सहितका मुख्य शहर क्षेत्रबाट गाउँ फर्किनेको चहलपहल बढेको छ।

दशैं मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २५ र २६ गते दुई दिनमा मात्रै एक लाख नौ हजार ६३६ जना यात्रुले उपत्यका छाडेका छन्। बाहिरिनेमा ६७ हजार ६९० पुरुष र ४१ हजार ९४६ महिला रहेका छन् ।

प्रहरीको तथ्यांकअनुसार असोज २५ गते ५२ हजार ८२७ जना र २६ गते ५६ हजार ८०९ जना यात्रु उपत्यकाबाट बाहिरिएका थिए। असोज २७ गतेको तथ्यांक भने सार्वजनिक भइसकेको छैन।

दशैं मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू गाउँ फर्किन थालेपछि कलंकी क्षेत्रमा पनि घर जाने यात्रुको चहलपहल बढेको छ। यात्रुहरू परिवार तथा आफन्तसँग चाडपर्व मनाउन आवश्यक सामानसहित गन्तव्यतर्फ लागिरहेका छन्।

उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुंगा–थानकोट, साँगा र दक्षिणकालीलगायतका नाकामा बढेको छ। पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी नागढुंगा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्।

यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरी टिकटमा हुने कालोबजारी, ठगी तथा यात्रुका गुनासो सम्बोधन गरिरहेको जनाएको छ।

प्रहरीले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्रा गर्नुअघि सवारीसाधनको अवस्था बुझ्न आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ