देउवा समूहलाई कांग्रेसको चेतावनी: रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही

राजनीति

देउवा समूहलाई कांग्रेसको चेतावनी: रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही

babalika – 17

babalika – 17

नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ