पोखरा : दिनभर घरमा शुभेच्छकको भीड लागिरहँदा स्वराज अधिकारी बार्दलीमा निस्किएर भीड नियाल्दै थिए। उनी घरि भित्र गएर हजुरआमालाई सुम्मुम्याउँथे त घरि बाहिर आएर बाटोतिर आँखा लगाउँथे। जसै भीड यतैकतै रवीन्द्र अधिकारी छन् भनेर बाटैतिर आँखा लगाइरहन्थ्यो। उसैगरी ८ वर्षे स्वराज बाबा बाटोतिरै हेरिरहेका थिए। ‘हाँस्दै र हात हल्लाउँदै आइहाल्छन् जस्तो लाग्ने’, भीडमा आवाज आयो, ‘पत्यारै लागेको छैन।’ केशवशरण लामिछानेले अन्नपूर्ण पोष्टका लागि लेखेका छन् ।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीको घरमा बिहीबार दिनभर शुभेच्छुक पुगे। आमाबाबुलाई भेटे र सान्त्वना दिए। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सबै ७ मन्त्रीले बिहीबार स्वर्गीय रवीन्द्रको पोखरा ५ स्थित घर पुगी उनका आमाबुवालाई भेटेर समवेदना प्रकट गरे।
मन्त्री अधिकारीको घरमा बिहीबार थुप्रै शुभचिन्तक पुगेका थिए। बुधबार काठमाडौं लगिएका उनका आमाबुवा बिहीबार फेरि जहाजमै पोखरा फर्किए। काठमाडौंमै अन्त्येष्टि हुनसक्ने भन्दै आमाबाबुलाई बुधबार काठमाडौं लगिएको थियो।
पोखरेलीहरुको आग्रह अनुसार मन्त्री अधिकारीको अन्त्येष्टि सरकारले पोखरामै तय गरेपछि आमाबुवा फेरि पोखरै फर्किएका हुन्। अर्काे छोरा दीपेन्द्र, छोरी विमलासहित आमा लक्ष्मी र बाबु इन्द्रप्रसाद बिहीबार नाति (रवीन्द्रका कान्छा छोरा स्वराज)लिएर गृहनगर फर्किएका हुन्। रवीन्द्रकी श्रीमती विद्या भट्टराई काठमाडौं मन्त्री क्वाटरमा छिन्। भारतको बैंगलुरुमा पढिरहेका जेठा छोरा बिराज बिहीबार काठमाडौं आइ पुगेका छन्।

पोखरा ५ मालेपाटनको जनप्रियमार्गको घर नम्बर २३ मा बिहीबार थुप्रै मान्छेको भीड थियो तर घर सुनसान झैं लाग्थ्यो। टिलपिलाएका आँखाहरु लिएर मानिसहरु मौन बसिरहेका थिए। हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा बुधबार ज्यान गुमाएका पर्यटनमन्त्री अधिकारीको गृहनगर पोखरामा उनको अन्तिम संस्कार हुने भएको छ। शवयात्राले नगर परिक्रममा गर्दै सेतीनदीको रामघाटमा शुक्रबार अन्त्येष्टि गर्ने तयारी गण्डकी प्रदेश सरकारले गरेको छ।
अधिकारीप्रति श्रद्धाञ्जली अर्पणका लागि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्थिव शरीर राखिने भएको छ। १२ बजेदेखि ४ बजेसम्म प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कारका लागि रामघाट लग्ने निर्णय गण्डकी प्रदेश सरकारले गरेको छ।
नयाँबजारबाट महेन्द्रपुल, रानीपौवा र हस्पिटलचोक हुँदै रामघाटमा उनको अन्त्येष्टि हुने सरकारका प्रवत्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जनाए। उनले भने, ‘श्रद्धाञ्जली र शवयात्रामा सहभागी बन्न सबैलाई आह्वान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।’ श्रद्धाञ्जली सभामा भाग लिन उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत आउने कार्यक्रम रहेको जानकारी पनि मन्त्री बस्नेतले दिए।
उनकै भनाइमा शुक्रबार अन्त्येष्टिका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संयोजकत्वमा बिहीबार सुरक्षा बैठक बसेको थियो। रामघाटमा स्वर्गीय अधिकारीलाई नेपाली सेनाले सलामी अर्पण गर्ने तय बैठकले गरेको थियो। शवयात्राका क्रममा सुरक्षा व्यवस्थाबारे पनि बैठकमा छलफल भएको थियो।
नेकपा गण्डकी प्रदेशले १९ गते सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको जानकारी उक्त पार्टीको प्रदेश कमिटी सचिव गोविन्दबहादुर नेपालीले दिएका छन्। ३ दिन सबै पार्टी कार्यलयको झन्डा आधा झुकाउने पनि उक्त पार्टीको निर्णय छ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधवार निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीका मातापितालाई पोखरा स्थित घरमा सान्त्वना दिदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ। गण्डकी प्रदेशका मन्त्री सांसद, नेता, कार्यकर्ता र आम नागरिक मन्त्री अधिकारीको घरमा पुगेर परिवारलाई सान्त्वना दिइरहेका छन्। तस्बिर : केशवशरण लामिछाने
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’