पोखरा । पछिल्लो समय नेपाली हिन्दु नारीहरुको महान पर्व तीज भड्किलो बन्दै गएको छ । महिनादिन अघि देखि नै ठूला होटल र पार्टी प्यालेसमा जम्मा भएर तीज मनाउने परम्परा नै बसिसकेको छ । तर कास्की जिल्ला प्रशासन कार्यालयले होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने भएको छ । एक सूचना जारी गरी प्रशासनले तीजलाई भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा कार्यक्रम र भोजभतेर गर्नेलाई समातेर कारबाही गर्ने जनाएको हो ।
‘आजकलको तीजले संस्कृति झल्काउँदैन । महंगा रिसोर्टमा गएर दिनहुँ दर खाने चलन छ,’ पोखराकी सामाजिक अभियान्ता अञ्जु क्षेत्रीले भनिन्, ‘यो विकराल बन्दै छ । धनी र गरिव बीचमा ठूलो खाडल सिर्जना गरेको छ । यसलाई तुरुन्त रोक्नुपर्छ नत्र अझै चुनौती थपिदै जान्छ ।’ उनकै नेतृत्वमा रहेको नारी जागरण अभियानले ज्ञापनपत्र सहित तीजको भड्किलोपना रोक्न जिल्ला प्रशासन र प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो ।

तीजको मौलिकतालाई जोगाउन र भड्किलो गतिविधि रोक्न प्रशासनले सार्वजनिक सूचना जारी गरेर तडकभडक नगर्न निर्देशन दिएको छ । सूचना अटेर गरे कानुन अनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिए । ‘पर्व मनाउन पाईन्छ । यसमा हाम्रो छेकवार छैन । तर आफ्ना गतिविधिले समाज भाँडिन हुँदैन । यसको मौलिकता हराउन लाग्यो भने संरक्षण गर्ने दायित्व सरकार र नागरिक दुवैको हो,’ उनले भने, ‘पैसा हुनेहरु महिनैभरी दर खाने र नाचगान गर्छन् । हाम्रो परम्परा यस्तो होईन । यसले संस्कार मासिन्छ । त्यसैले रोक्न बाध्य भएका हौं ।’
होटल र पार्टी प्यालेसमा तीज मनाएको थाहा भए सूचना दिन पनि उनले आग्रह गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज यो वर्ष भदौ १५ गते दर खाने र १६ गते तीज पर्व परेको छ ।
प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नचाहिने कुरामा प्रतिश्पर्धा गर्नु नहुने बताए । ‘पुरुषले रक्सी खाए हामीले खाँदा के भयो ? पुरुषले चुरोट खाए हामीले खान के भो भन्दै तर्क गरेर महिला सशक्तीकरण हुँदैन,’ उनले भने, ‘विकृति रोक्ने हो । नचाहिने कुरामा प्रतिश्पर्धा गर्ने होईन । समाज विकासमा प्रतिश्पर्धा गर्नुस् । राम्रा कुराको सिको गर्नुस् र नराम्रा कुरा त्याग्नुस् ।’ भड्किलो भोजभतेरमा नजान उनले आग्रह गरेका छन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो