पोखरा । साहित्यकार तथा पत्रकार असफल गौतमले आमा गौरीमायाको स्मृतिमा गौरीमाया स्मृति कोष घोषणा गरेका छन् । आमा गौरीमायाको ४५ औं दिनको पुुण्यतिथिमा सोमवार असफलले कोष स्थापना गरेका हुन् । उक्त कोषबाट हाललाई आफूले छ कक्षादेखि १० सम्म अध्ययन गरेको जनप्रिय माध्यमिक विद्यालय स्याङ्जा भाटखोलामा उत्कृष्ट अंक ल्याएर १०+२ तह नियमित उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीलाई वार्षिक पाँच हजार एक सय नगद राशि, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गर्ने जनाइएको छ ।
सो अवसरमा असफलले आमाको स्मृतिमा मुक्तक मञ्च नेपाल टीकापुरको अक्षयकोषलाई पाँच हजार एक सय ५१, जनमत वाङ्मय प्रतिष्ठान बनेपाको अक्षयकोषलाई एक हजार एक सय ११ सहयोग घोषणा गरेका छन् । यस्तै, पोखराको बगर, गाइघाट र विन्ध्यवासिनी क्षेत्रका २१ जना असहायलाई एक दिन बराबरको खाद्यान्न र नगदसमेत प्रदान गरे ।
पोखरामा आयोजित कोष घोषणा सभामा असफलले छ महिनाकै उमेरमै मातृस्नेहबाट बञ्चित दूधे बालकलाई गौरीमायाले हुर्काएर आजको अवस्थामा ल्याउन गरेको योगदानलाई चिरस्थायी बनाउन कोष घोषणा गरेको बताए ।साथै उनले, आमाले आफ्ना कोखबाट जन्मेका आठ छोरीको सुन्दर भविष्य निर्माणसँगै आफूलाई आजको अवस्थामा ल्याउनका बगाएको आँसु, रगत र पसिनाको भारा तिर्न नसके पनि मनको शान्तिका लागि कोष स्थापना गर्ने सोँच आएको जानकारी दिए ।
जनप्रिय मावि स्याङ्जाका छात्रछात्रालाई पुरस्कृत गर्ने घोषणासँगै उक्त विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुनामले धन्यवाद ज्ञापन गरे । विद्यालयका शिक्षक पदम रानाभाटले भू.पू. विद्यार्थीले स्थापना गरेको शैक्षिक पुरस्कारले विद्यार्थीलाइ थप प्रोत्साहन मिल्ने बताए ।
पोखराको साहित्य र पत्रकारितामा क्रियाशील असफल गौतमले यस अघि आफ्ना बाबा आमा र दाजुको स्मृतिमा तीन अक्षयकोष स्थापना गरिसकेका छन् । जसमा स्याङ्जाको शारदा रमणीय डाँडा स्कुल र जनमूखी स्कुलमा शैक्षिक अक्षयकोष हस्तान्तरण गरेका छन् । दाजुको स्मृतिमा स्थापित कोषबाट वाङ्मयिक क्षेत्रमा क्रियाशील स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएका छन् ।
समसामयिक विषयमा कलम चलाउने असफल पत्रकार र साहित्यकारका रुपमा परिचित छन् । कानूनमा स्नातक, भाषासाहित्य र राजनीतिशास्त्रमा स्नातकोत्तर उनी दशकदेखि आदर्श समाज दैनिकसँग आवद्ध छन् । स्मरण रहोस्, असफलकी आमा दानमायाको निधन भएपछि हजुरआमा गौरीमायाले छ महिनाको उमेरदेखि ल्याएर उनले लालनपालन गरेकी थिइन् ।
सम्बन्धित खबर
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, झण्डै पाँच सयले पाए सेवा
मालुङ्गामा मृत अवस्थामा चितुवा भेटियो
ईद–उल–फित्र पर्वमा प्रदेश प्रमुख भट्टको शुभकामना
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु