नेपाली सेनाद्वारा तनहुँका स्थानीय तहका युवालाई विपद प्रतिकार्य तालिम (फोटो/भिडियो सहित)

नेपाली सेनाद्वारा तनहुँका स्थानीय तहका युवालाई विपद प्रतिकार्य तालिम (फोटो/भिडियो सहित)

IMG_20191128_133131

किरण श्रेष्ठ, तनहुँ । तनहुँमा नेपाली सेनाले स्थानीय तहका युवाहरुलाई सामुदायिक विपद प्रतिकार्य तालिम प्रदान गरेको छ ।

व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालय तनहुँको सहकार्यमा नेपाली सेना श्री कृष्ण दलगण चापाघाटले आयोजना गरेको सो तालिममा तनहुँका ७ वटा स्थानिय तहका युवाहरु सहभागी थिए ।

१० वटा स्थानिय तहलाई दिने भनिएतापनि भानु नगरपालिका, रिसिङ्ग गाउँपालिका र घिरिङ्ग गाउँपालिकाबाट सहभागिता नभएपछि अन्य ७ स्थानिय तहका २० जना युवाहरुको सहभागिता रहेको थियो ।

चार दिने सो तालिममा विपद्को अबधारण र विपद् व्यवस्थापन, सडक दुर्घटनामा उद्दार, विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका, बाढी तथा पहिरोमा उद्दारका तरिका, उद्दार सामाग्री, रेस्क्यू, आगोको परिचय, अग्नी नियन्त्रण (घर तथा भवन), भूकम्प पश्चात घाइते उद्दार, खोज तथा उद्दारको तरिका, विपद् प्राथमिक उपचार लगायतको विषयमा शैदान्तिक तथा व्यवहारिक पक्षका बारेमा तालिम दिइएको श्रीकृष्ण दलगण चापाघाट ब्यारेकका प्रमुख सेनानी अनन्त बहादुर सिंहले बताए ।

पुरा भिडियो :

गाउँघरमा साना-ठूला विपद आउँदा स्थानीय युवाहरुलाई स्वयंसेवीको रुपमा परिचालन गर्न सकियोस् भन्ने उद्देश्यले उक्त तालिम प्रदान गरिएको प्रमुख सेनानी सिंहले बताए ।

जिल्लामा विपदका घटनाहरु हुँदा सेना तथा प्रहरी सदरमुकामबाट पुग्‍न समय लाग्‍ने हुँदा स्थानीय स्तरमा विपदमा सहायता गर्न ग्रामीणस्तरमा स्वयंसेवक उत्पादन गर्न युवाहरुलाई तालिम प्रदान गरिएको प्रमुख सेनानी सिंहले बताए ।

स्थानीय युवाहरुले विपदको समयमा सहयोग गर्दै आइरहेको अवस्थामा यस्तो तालिमबाट विपदबाट हुने क्षति न्यूनिकरण गर्न सकिने व्यास नगरपालिकाका युवा आशिष नेपालिले बताए ।

तालिममा तनहुँका ७ स्थानिय तहका २० जना युवाहरुको सहभागिता थियो । सेनाको जनतासँग घुलमिल हुने कार्यक्रम अनुसार र गाउँ बस्तीमा विपद आउँदा त्यसबाट हुने क्षतिमा कमी ल्याउन यो तालिमले सहयोग गर्ने नेपाली सेनाको विश्वास छ ।

सेनाका तालिम प्राप्त सहसेनानीदेखि जवानसम्मले तालिममा सहजिकरण गरेका थिए । तालिममा विपदका बेला हुन सक्ने क्षति कम गर्न रिहर्सल गरिएको थियो ।

बिहिबार आयोजित समापन कार्यक्रममा व्यास नगरपालिकामा प्रमुख वैकुण्ठ न्यौपानेले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै तालिममा सिकेका कुरालाई विपद् आइपर्दा खोज तथा उद्दार कार्यमा प्रयोग गर्न आग्रह गरे । कुनै पनि दुर्घटना भएको खण्डमा न्युनतम क्षति अथवा सके शुन्य क्षति बनाउन यस्ता खाले तालिमले सहयोग पुर्याउने प्रमुख न्यौपानेले बताए ।

सोहि अवसरमा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारि रुद्र प्रसाद पण्डितले स्थानिय स्रोत र साधनको प्रयोग गरि विपद व्यवस्थापन गर्नुपर्ने बताए ।

साथै उनले भने ‘स्थानिय तहले विपद व्यवस्थापन सम्बन्धि सामाग्री समेत खरिद गर्नुपर्छ ।’ स्थानिया ज्ञान र सिपको प्रयोग गरि विपद व्यवस्थापनमा लाग्न तालिम प्राप्त युवाहरु लाइ अनुरोध गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ