पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६६ आँै वार्षिकोत्सवको उपलक्ष्यमा महिला उद्यमी सीता गुरुङलाई सम्मान गरेको छ । उनलाई संघअन्तर्गतको महिला उद्यमी उपसमितिको पहलमा ‘पोखरा उद्योग वाणिज्य संघ, सफल महिला उद्यमी सम्मान–२०७६’ प्रदान गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशसभाकी सदस्य प्रभा कोइरालाले महिला उद्यमी सीतालाई नगद १० हजारसहित सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरेकी हुन् ।
कास्कीको तान्चोकमा जन्मेर पोखराको बागबजार बस्दै आएकी सीता गुरुङ संघकी पूर्वकार्यसमिति सदस्यसमेत हुन् । उनी स्वस्तीक हस्तकला उद्योगकी संचालिका तथा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् । यसअघि यो सम्मानबाट रामकली खड्का र मीना पराजुली सम्मानित भइसकेका छन् । पोखरा उद्योग वाणिज्य संघ माघ २५ गतेबाट ६६ आँै वर्षमा प्रवेश गर्दैछ । यो पोखराको पुरानो सामाजिक संस्था पनि हो ।
वार्षिकोत्सवकै अवसरमा संघको व्यवस्थापन एवं न्यूबिजनेस एज प्रालिको आयोजनामा शुक्रबार महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता एवं उद्यमशीलता विषयमा अन्तक्रिया र प्रशिक्षण कार्यक्रम पनि आयोजना गरियो । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले महिलाहरुले खल्ती पनि बलियो र क्षमता पनि बलियो बनाउँदै उद्यमशीलताको बाटो लाग्नुपर्नेमा जोड दिइन् । यसअघि महिलाहरुलाई राजनीतिक दलहरुले पनि भीड बढाउन मात्रै उपयोग गरेको र अवसर नदिएको बताउँदै उनले संघीयतापछि महिलाको पनि राजनीतिमा पहुँच बढेको बताइन् । ‘अब महिला अधिकार भनेर मात्रै भएन,महिला उद्यमशीलताको पनि विकास गर्नुपर्छ’, उनले भनिन्,‘अधिकारको कुरा धेरै सिकाइन्छ, कर्तव्यको कुरा सिकाइन्नँ भन्ने कुरालाई महिलाले नै असत्य सावित गर्ने यही बेला हो ।’
कार्यक्रममा बोल्दै संघका उद्योग उपाध्यक्ष तथा कार्यक्रमकी अध्यक्ष विन्दु कोइराला सुवेदीले महिलालाई अवसरसँगै सहयोगको पनि आवश्यकता भएको बताइन् । उलने महिलाहरुको वित्त व्यवस्थापन क्षमता बढी भएको बताउँदै वित्तीय साक्षरताको जानकारीले आफ्नो हिसाबकिताब चुस्त राख्न सघाउने धारणा राखिन् । न्यूबिजनेस एजका अध्यक्ष मदन लम्सालले महिलाहरुले वित्तीय क्षेत्रका सामान्य जानकारीसमेत नपाउँदा सरकारले दिने सुविधाहरुबाट बञ्चित हुनुपरेको धारणा राखे ।
सम्मानित व्यक्तित्व सीता गुरुङले महिला उद्यमीहरुमा मिलेर अघि बढ्नेभन्दा पनि अर्काको रिस गर्ने प्रवृत्ति घातक भएको बताइन् । संघका महासचिव अर्जुन पोखरेलले महिलाहरुलाई सम्मान र आवश्यक सहयोग गर्न उद्योग वाणिज्य संघ पछि नपर्ने बताए । सो अवसरमा वित्तीय साक्षरता र उद्यमशीलताबारे न्यूबिजनेस एजका व्यवस्थापक बालसिंह पोखरेल तथा अभियान राष्ट्रिय दैनिक एवं न्यूबिजनेस एजले महिला उद्यमशीलताको क्षेत्रमा गरेका कामबारे अभियानका वरिष्ठ सहसम्पादक टिपी भुसालले सहभागिहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा संघकी उपमहासचिव चिनु गुरुङ, कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोला,नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी इकाईकी संयोजक रामकली खड्का, महिला उद्यमीहरु सान्त्वना पराजुली, जमुना पराजुली, सीता रानाभाट,ज्ञानु कुँवरलगायतले महिला उद्यमशीलता तथा व्यवसायीहरुमाथि परेका विभिन्न समस्याबारे चर्चा गरेका थिए । उनीहरुले उठाएको जिज्ञासाको नेपाल राष्ट्र बैंक पोखरा शाखाका अनुसन्धान अधिकृत आशबहादुर थापा,स्टान्डर्ड चार्टर्डका पोखरा शाखा प्रमुख भीम ढुंगाना,आन्तरिक राजश्व कार्यालय पोखराका करअधिकृत ऋषिराम पोखरेललगायतले जवाफ दिएका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु