तनहुँ । १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको पहिलो प्याकेजको संरचना बनाउन पुनः टेण्डर आह्वान गरिएको छ ।
तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको पहिलो पटक टेण्डर पाएको कम्पनीले सम्झौताअनुसार काम सुरु नगरेको र दोस्रो ठेक्कामा सहभागी कम्पनीहरू प्राविधिक रूपमा अयोग्य भएपछि शुक्रबार पुनः टेण्डर आह्वान गरिएको हो ।
टेण्डर आह्वान ४५ दिनको समयका लागि दिइएको र १३ अप्रिल बुझाउने अन्तिम मिति तोकिएको तनहुँ जलविद्युत आयोजनाले जनाएको छ ।
आगामी असोज भित्रमा ठेकेदार नियुक्त गरी मंसिर भित्रमा आयोजना स्थलमा परिचालन गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ । काम सुरु गरेको १७२३ दिनभित्रमा काम सकिसक्नु पर्ने प्रावधान समेत रहेको छ ।
आयोजनाको बाँधसहितको संरचना (हेडवर्क्स)का लागि पहिलो पटक गरिएको ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको थियो । सीएमसीले भनेको समयमा काम सुरु नगरेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।
त्यसपछि वैशाखमा आह्वान गरिएको दोस्रो पटकको ठेक्कामा सहभागीको सूची आयोजना कार्यालयले दातृ निकाय एसियाली विकास बैंक (एडीबी) मा पठाएको थियो । बाँधसहितको संरचना (हेडवर्क्स) निर्माणका लागि गरिएको ठेक्कामा चार कम्पनीले बोलपत्र पेस गरेका थिए ।
चीनको चाइना गेजुवा ग्रुप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनियरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को खरिद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्ने गरी बोलपत्र माग गरिएको थियो ।
यी कम्पनीहरूको सूची एडीबीमा पठाइएको र कुनै पनि कम्पनी प्राविधिक रूपमा आयोजना निर्माणका लागि सक्षम नदेखिएपछि पुनः ठेक्का आह्वान गर्ने निर्णय भएको हो ।
पहिलो पटक ठेक्का गर्दा आयोजना २०२४ को जुनभित्र सक्ने लक्ष्य राखिएको थियो । दोस्रो पटकको ठेक्कामा आयोजना निर्माण सम्पन्न मितिलाई २०२४ को डिसेम्बरमा सारिएको थियो । तीन पटक ठेक्का गर्नुपर्दा आयोजना निर्माण सम्पन्न अवधि सन् २०२५ को जुनसम्म धकेलिने अनुमान गरिएको आयोजना प्रमुख प्रदीपकुमार थिकेले बताए ।
पहिलो चरणको संरचनाअन्तर्गत आयोजनाको १ सय ४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ ।
पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैक (ईआईबी) को सहुलियतपूर्ण ऋण परिचालन हुने आयोजनाले जनाएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका काम गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन बनाउन भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । उक्त कम्पनीले प्रसारण लाइनको सर्भे गरिरहेको छ । आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।
यसमध्ये एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
सम्बन्धित खबर
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
सुरक्षा पालुवाको १८ औं स्थापना दिवसमा भवन उद्घाटन एवम् रक्तदान
मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै, ३ बजेपछि प्रदेश सभा बैठक
स्याङ्जामा गस्ती गएका प्रहरीमाथी कुटपिट, चौकी इन्चार्जलाई कुट्ने दुई युवा पक्राउ
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग