गण्डक न्युज पोखरा, २७ माघ / पोखरा ७ मासबार पोखरीपाटन स्थित पुरानो पोखरीलाई संरक्षण गर्ने ध्येयका साथ आधुनिक तबरले पुनर्निर्माण गरिएको छ । पोखरीको शनिबार सो क्षेत्रको प्रतिनिधिसभा सांसद रबिन्द्र अधिकारी तथा प्रदेशसभा सांसद कृष्ण थापाले समुद्घाटन गरे ।
पोखरीको निर्माण, बीचमा लक्ष्मी नारायण मन्दिर र वरपर फलामेबार तथा भित्रपट्टीको क्षेत्रमा बगैंचा, पानीटंकी निर्माण गर्दा ५७ लाख १६ हजार खर्च भएको पोखरी संरक्षण समितिले जनाएको छ । सांसद अधिकारीले नै निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत झण्डै १५ लाख रकम छुट्याएका हुन् भने उनी सहितकै आग्रहमा पोखरा लेखनाथ महानगरपालिका कार्यालयबाट करीब २२ लाख, सदस्यता शुल्कबाट करीब १९ लाख, मुर्ति खरिदका लागि विष्णुमाया बरालबाट ९२ हजार संकलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अधिकारीले पुराना सम्पदालाई संरक्षण गर्ने स्थानीयको सोचलाई आफूले सक्दो सहयोग गरेको जनाए । ‘मैले निर्वाचन क्षेत्र कार्यक्रममा बजेट छुट्याउँदा ५ कुरालाई ध्यान दिएँ । आवश्यकता, योजनाको सही छनौट, अनुगमन, पारदर्शिता, संरक्षण लगायतलाई बिशेष जोड थियो ।’ अधिकारीले भने– ‘पोखरी पुनर्निर्माण आवश्यकता थियो । स्थानीयको सक्रियता थियो अहिले सोचेबमोजिम कार्य भएको छ । एउटाबाहेक सबै योजनाले मूर्तरुप पाईसकेका छन् ।’ उनले फेवाताल सफाइ मेसिनका लागि ५० लाख छुट्टाएको स्मरण गर्दै अहिले यो योजना सफल बन्दा हर्षित भएको बताए ।
विशेष अतिथि प्रदेशसांसद थापाले प्रदेशको प्रशासकीय वडामा यति सुन्दर पोखरी र मन्दिर निर्माण हुँदा पर्यटन क्षेत्र समेत बन्न सक्ने भन्दै यसलाई सिंगार्ने, चिनाउने प्रयासमा लाग्न अनुरोध गरे । उनले फिर्के पारी वडा नं. ६ पर्यटकीय क्षेत्र बन्दा ७ किन बनाउन नसकिने भन्दै स्थानीय लाग्नुपर्ने र आफ्नो सहयोग रहने बताए ।
पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले अब साँच्चैको पोखरी बनेको भन्दै पानी भर्ने जिम्मा महानगरपालिकाले लिने बताए । वडा नं. ७ अध्यक्ष रामचन्द्र बरालले फिर्केको करिडोर, फुटट्रयाक खोल्न लागिपरेको बताउँदै फुर्के पुल बनाउने योजना सुनाए । सो अवसरमा नागरिक समाजका संयोजक रामबहादुर पौडेलले पोखरी चौतारी जस्ता सम्पदा मास्न नहुने बताए । नेकपा एमाले कास्की सचिवालय सदस्य तेजनारायण अधिकारी, नेपाली काँग्रेस वडा एकाई सभापति सरोज बराल लगायतले बोलेका थिए ।

कार्यक्रममा ईञ्जिनियरहरु शारदामोहन काफ्ले, शिव बराल र हरि बरालका साथै दाता विष्णुमाया बराललाई सम्मान गरिएको थियो । समितिका अध्यक्ष नारायण बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लिलाभक्त बरालले स्वागत तथा सचिव नारायणप्रसाद बरालले कार्यक्रमको सञ्चालन गरेका थिए । समितिको साधारणसभा समेत रहेको सो कार्यक्रममा कोषाध्यक्ष जमुना बरालले आयव्ययबारे जानकारी गराईन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु