रञ्जन अधिकारी पोखरा, ६ फागुन / विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जनता पार्टीभक्तबाट स्वतन्त्र नहुन्जेल मुलुक परिवर्तन नहुने ठोकुवा गरेका छन् ।
संवाद नेपालले पोखरामा आईतबार आयोजना गरेको ‘विवेकशील साझाः चुनौति र भविष्य’ विषयक अन्तक्र्रियामा मुख्य वक्ता मिश्रले आफूहरुले सद्भाव पाएपनि भोट पाउन नसक्ने अवस्था रहेको भन्दै जनताप्रति तीतो समेत पोखे ।
‘समाज राजनीतिक मायाजालमा नराम्ररी फसेको छ । यसरी रंगिएको छ कि ? पार्टीभक्तलाई स्वतन्त्र नागरिक बनाउन असाध्यै मुस्किल छ । गुण र दोषका आधारमा मत दिने स्वतन्त्र नागरिक नभई देश कसरी बन्छ ? मतदाता परिवर्तन भए मुलुक रुपान्तरण हुन्छ ।’ – मिश्रले भने ।
उनले हाम्रो जीवनकालमै हाम्रो परिवारको लागि देश बनाउन आवश्यक रहेको भन्दै अहिलेका नेताहरुलाई रोगको समेत चिन्ता नभएको, छोराछोरी पढाउन चिन्ता नभएको, महंगीको चिन्ता नभएकाले अब जनताले आफ्नो चिन्ता आफै गर्न ढिलाई गर्न नहुने बताए ।
पाँच वर्षपछि मुलुकको नेतृत्व आफ्नो पार्टीले गर्ने जिकिर उनले गरेका छन् । चार महिनामै झण्डै राष्ट्रिय पार्टी बन्न लागेको भन्दै उनले पाँच वर्षमा नेतृत्वमा पुग्ने विश्वास व्यक्त गरे ।
पाँच वर्षपछि नेतृत्व लिने गरी संगठन निर्माणमा अघि बढेको बताए । ‘हाम्रो यस पटक लक्ष्य राष्ट्रिय पार्टी बन्ने थियो तर पाँच पार्टी राष्ट्रिय पार्टी बन्दा हाम्रो पार्टी छैटौं भयो । यो चारमहिनाकै अवधिमा भएको हो ।’ उनले भने – ‘स्थानीयमा चार हप्तामै एक्लै लड्नुपर्ने भयो । पछि एकीकरणपछि तयारी विना नै होमियौं तर सन्तोषजनक नतिजा आयो ।’
मिश्रले पछिल्लो चुनावमा १ सय ५७ ठाउँमा उम्मेदवार उठाईएको बताउँदै इटहरीमा राम्रो नभएपनि काठमाण्डौमा उत्साहजनक मत आएको बताए । ‘गणेशमानका छोरा, दुई पटकसम्म जितिसकेको, काँग्रेसको गढमा उठेर समेत म ८ सय मतले मात्र पराजित भएँ । अझै पनि सद्भाव पाउने तर भोट नपाउने स्थिति छ ।’ – मिश्रले भने ।
८८ दलले भाग लिएकोमा तयारी समेत नपुगेको विवेकशील साझा देशभर छैटौं, प्रदेश नं. ३ मा चौथो, काठमाण्डौमा तेस्रो स्थान मिल्नु सानो कुरा नभएको बताए । उनले दुई लाख १२ हजार सदर मत आफ्नो पार्टीलाई आएको भन्दै अब आक्रामक ढंगले संगठन निर्माणमा जुट्ने बताए ।
पुराना पार्टीहरु मुलुक भन्दा व्यक्ति केन्द्रित भएकाले नै राजनीतिमा विकल्प खोज्नुपरेको जिकिर गर्दै यसअघि धेरै जना अघि सरेपनि पहाड उचाल्ने जस्तो चुनौति भएपनि आफूहरु सफल भएरै छाड्ने दाबी गरे । संयोजक मिश्रले पाँच वर्षमा मुलुकको विकास नगरे अब देशको नेतृव सुम्पन तयार हुन समेत ठूला दलहरुलाई चुनौति दिए ।
‘विवेकशील साझा सत्ता र शक्तिका लागि लडेको हैन, देश बदल्न आएको छ ।’ उनले भने ‘तर, हामीमात्र देश बदल्ने हो भन्ने हाम्रो कुरा होईन । देश बनाउने जनमत पाएको छ, पाँच वर्षमा बदल्नुस् । हामी सानो प्रतिपक्षी कुनामै बसेर मुस्कुराएर बस्नेछौं । मुलुक हैन, आफू बन्ने हो भने नेतृत्व जनताले हामीलाई सुम्पनेछन् ।’ कार्यक्रमको अध्यक्षता संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा र सञ्चालन भानु पराजुलीले गरेका थिए ।

सम्बन्धित खबर
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
स्याङ्जामा तीन दिन निःशुल्क आँखा शिविर, मोतियाबिन्दुको शल्यक्रियासमेत गरिने
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्