कास्कीको माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाको केन्द्रबाट वडाका केन्द्र जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । नौ वडा रहेको गाउँपालिकामा गाउँपालिकाको केन्द्र लाहाचोकबाट सबै वडा केन्द्रलाई पक्की कालोपत्र सडक पूर्वाधारबाट जोड्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘पर्यटन, कृषि, ऊर्जा र पूर्वाधार : समृद्ध माछापुच्छ्रेको आधार’को नारासहित अघि बढेको गाउँपालिकाले हालै पालिकाका तीन वडालाई जोड्ने गरी पक्की कालोपत्र सडक निर्माण शुरु गरेको छ । वडा नं ४ लाहाचोकको भिरकटेराबाट वडा नं ३ को घाचोक र वडा नं १ को साविक माछापुच्छ्रे गाविसको टुसेसम्म चार किमी पक्की सडक निर्माण शुरु भएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दबाडीले जानकारी दिइन् । उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको समपूरक बजेटबाट ती सडक पूर्वाधार निर्माण गर्न लागिएको हो ।
भिरकटेराको पानपाते चौताराबाट भलाबोट शुक्लागण्डकी विद्यालयसम्म एक र भलाबोटबाट टुसेसम्म अर्को खण्डमा विभाजन गरी काम गरिने गाउँपालिकाले जनाएको छ । भलाबोटबाट टुसे खण्डका लागि तीन करोड ७५ लाख लागतमा गत पुस २६ गते ठेक्का सम्झौता भएर काम शुरु गरिएको छ । यसै आर्थिक वर्षभित्र सो सडकखण्ड पक्की कालोपत्र गरिने गर्ने नयाँबाटो निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए ।
उनका अनुसार वडा नं ४ को पानपाते चौताराबाट वडा नं ३ को शुक्लागण्डकी विद्यालयसम्मको एक किमी ६०० मिटर लामो सडकका लागि बोलपत्र आह्वान भएर मूल्यांकनको चरणमा रहेको छ । ‘गाउँपालिकाको कार्यालयबाट वडाका केन्द्रलाई पक्की सडक सञ्जालबाट जोड्ने गरी योजना निर्माण गरेर कार्यान्वयन शुरु गरेका छौँ’, उपाध्यक्ष दबाडीले भने, ‘स्तरीय सडक पूर्वाधारका माध्यमबाट गाउँपालिकावासीलाई सुविधा दिने योजना छ ।’
यसैगरी गाउँपालिकाका अधिकांश वडालाई समेट्ने गरी वडा नं २ को कोलचोकबाट, भलाबोट, लाहाचोक, भिँडाबारी, गैरीगाउँ, धिताल हुँदै धम्पुससम्मको १५ किमी सडक गत आर्थिक वर्षदेखि स्तरोन्नति काम भइरहेको छ । संघ, प्रदेश र गाउँपालिकाको लगानीमा माछापुच्छ्रेमा सडक पूर्वाधारका ठूला योजना सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत पोखरा–२५ मेलबोटबाट गाउँपालिकाको वडा नं ९ घलेलसम्मको १५ किमी सडकको काम विसं २०७५ असोजदेखि शुरु भएकामा आगामी चैत मसान्तभित्रमा निर्माण सम्पन्न हुने जनाइएको छ ।
यसैगरी प्रदेश सरकारको प्रदेश सदरमुकामबाट स्थानीय तहका केन्द्र जोड्ने सडक कार्यक्रमअन्तर्गत पोखरा–२५ मिलनचोकबाट माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहाचोकसम्म पाँच किमी सडक १० करोड लागतमा कालोपत्र गर्ने योजनाअनुसार हाल सडक फराकिलो बनाउने, नाला निर्माणलगायतका काम भइरहेको गाउँपालिका उपाध्यक्ष दबाडीले बताइन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’