म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् ।
जिल्लाको अति विकट तथा दुर्गम गाउँ गुर्जामा १८ वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी सम्हाल्दै आएकी छन्त्यालले कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले उपलब्ध गराएको खोप लगाउन पाउँदा निकै खुसी भइन् ।
घरघरमा पुगेर विभिन्न खोप अभियानमा निम्तापत्र दिई खोप केन्द्रसम्म बालबालिकालाई जम्मा गर्ने गरेकी छन्त्यालले पहिलो चरणको खोपसँगै कोरोनासम्बन्धी विभिन्न जानकारी लिएर गएको बताइन् ।
छन्त्यालसँगै सदरमुकाम बेनीबाट करिब २६ कोष टाढा रहेको गुर्जा गाउँबाट कहालीलाग्दो उकालो भिरालो पहाडमा सकसपूर्ण यात्रापछि बेनीसम्म आइपुगेकी सुकमाया छन्त्याल, उमादेवी छन्त्याल, मनकुमारी छन्त्याल र सपना विकले समेत खोपको महत्वबारे र थप जानकारी लिए ।
कोभिसिल्ड पहिलो खोप बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। जितेन्द्र कँडेलले लगाएको समाचार सुनेपछि ढुक्क भएर आएको उनीहरूको भनाइ थियो ।
बिनापारिश्रमिक निःस्वार्थ भावले काम गर्ने गरेको अवस्थामा समुदायलाई कोरोनाको सन्देश र सावधानी अपनाउन घरघरमा धाइरहेको अवस्थामा खोप लगाएपछि थप सुरक्षित भएको एक दशकदेखि कार्यरत उमादेवीले बताइन् । ‘आउन–जान पाँच दिन लाग्छ, खर्च आफैं गरेर आएका छौं । यही मौकामा कोरोनाबाट जोगिन आवश्यक थप जानकारी लिएर जान्छौं,’ उनले भनिन् ।
उनले निःशुल्क खोपसँगै दुर्गम क्षेत्रबाट आउने स्वयंसेविकालाई स्थानीय तहले यातायात र खानबस्न सुविधा दिए सहज हुने बताइन् । ‘यातायात र खाना खर्चमै ७ हजारभन्दा धेरै खर्च भइसक्यो । तलब पाउनेले त सक्छन्, हामीलाई सरकारले पोसाक र केही सामान्य सुविधा मात्रै दिएको छ,’ उनले भनिन् ।
बजार झरेपछि पाइलैपिच्छे खर्च हुने भएकाले दोस्रो चरणको खोप गाउँमै दिनसमेत उनले माग गरिन् । कोरोनाको खोपले समुदायलाई थप सुरक्षित बनाउन सकिने भन्दै उनीहरूले खर्चको व्यवस्थापन भए राहत मिल्ने बताउँदै जिम्मेवारीअनुसारको मूल्यांकन गर्नसमेत सम्बन्धित निकायलाई अनुरोधसमेत गरेका थिए ।
यो समाचार आजको नागरिक दैनिकमा हरिकृष्ण गौतमले लेखेका छन् ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु