झण्डै साढे तीन दशकको अन्तरालमा लेकबाट ल्याइएको आलुको बीउबाट शुरुआत गरिएको कास्कीको आलुखेती पछिल्ला वर्षमा हिउँदे खेतीको मुख्य पहिचान जस्तै बनेको छ । मुस्ताङको लेतेबाट ल्याइएको वर्षे सेतो आलुका साथै कास्कीको घान्द्रुक र छोम्रोङबाट ल्याइएको रातो डल्ले आलुको बीउ लगाएर जिल्लाका हेम्जामा शुरु गरिएको आलु खेतीले पछिल्ला दिनमा जिल्लामा नै व्यावसायिक रुप लिएको हो ।
तीन दशक अघिसम्म फाट्टफुट्ट हुने गरेको आलुखेती पछिल्ला वर्षमा जिल्लाका हेम्जाका साथै विभिन्न स्थानमा विस्तार भएको कृषक बताउँछन् । हेम्जाको आलु देशका प्रमुख शहरमा बिक्री हुने गरेको छ ।
आलुखेती प्रतिको बढ्दो आकर्षणसँगै हेम्जा आलु गाउँका रुपमा परिचित बनिसकेको छ । कास्की र आसपासका क्षेत्रमा हेम्जाको आलुको माग बढेसँगै यसले विस्तारै व्यावसायिक रुप लिँदै गएको हो ।
स्थानीयवासीका अनुसार २०४५÷४६ सालदेखि हेम्जामा केही मात्रामा आलुखेती विस्तार भई २०५४÷५५ सालयता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले आफ्नो बाह्य अनुसन्धानस्थल स्थापना गरेपछि यो ठाउँ आलुखेतीका लागि प्रसिद्ध बन्दै गएको हो ।
हेम्जामा आलुखेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टिकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ विगत १० वर्षयता लगातार आलु महोत्सव गर्दै आइएको अगुवा कृषक चित्रनाथ पौडेलले जानकारी दिए ।
‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्दै आइएको आलु महोत्सव अघिल्लो वर्ष कोरोना महामारीका कारण प्रभावित भएको र यस वर्ष पनि हुने अवस्था नदेखिएको उहाँले बताए ।
विसं २०६६ फागुनमा पहिलो पटक एक दिवसीय प्रथम आलु महोत्सव गरिएको हेमजामा त्यसयता लगातार रुपमा महोत्सव हुँदै आएको छ । आलु खेतीको विस्तार हुँदै जाँदा नार्कअन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले यस गाउँलाई औपचारिक रुपमा नै आलु गाउँका रुपमा परिचित गराएको हो । आलु खेतीका साथै व्यावसायिक कृषिमा सर्वसाधारणको आकर्षण बढे पनि राज्यबाट पाउने सेवा सुविधाबाट वास्तविक कृषक अझै पनि वञ्चित हुने गरेको उनको भनाइ छ ।
“वास्तविक कृषक राज्यबाट पाउने सेवा सुविधा लिनका लागि सम्बन्धित ठाउँसम्म पुग्नसमेत सक्दैनन्”, राष्ट्रिय कृषक महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका पौडेलले भने , “कानूनी र प्रक्रियागत जटिलताका कारण वास्तविक किसान सम्बन्धित ठाउँमा पुग्न नसक्ने अवस्थामा कागजी प्रक्रिया मिलाएर सेवा सुविधा लिनेले भने निरन्तर लिइरहेका छन् ।” वास्तविक कृषकले राज्यबाट सेवा सुविधा प्राप्त गर्न सक्ने किसिमका राज्यका नीतिनियम तथा कानून व्यवहारिक बनाइनुपर्ने उनले जानकारी दिए।
स्थानीय विष्णुपादुका क्लबले गर्दै आएको महोत्सवले पनि हेम्जाको आलुको चर्चा देश विदेशमा हुने गरेको र देशका प्रमुख शहरमा ब्राण्डिङजस्तै बनिसकेको छ । पछिल्ला वर्षमा बजारमा अन्य स्थानको आलु पनि हेम्जाको आलु भनेर ग्राहकलाई झुक्याएर बिक्री गर्ने गरिएको कृषक बताउँछन् । हेम्जाका साथै लेखनाथ क्षेत्रका गगनगौँडा, मालमूल, राजाचौतारा, बागमारा, अर्मला आदि स्थानमा पनि आलुखेती विस्तार हुने गरेको स्थानीय कृषकले जनाएका छन् ।
एक दशकयता कास्कीको तल्लो गगनगाँैडा, मालमूललगायतका स्थानमा कृषक आलु खेतीतर्फ आकर्षित बन्ने गरेका छन् । पोखरा ३२ को सिमाना जोडिएको तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसीलगायतका स्थानमा पनि आलु खेतीतर्फ आकर्षण बढ्दै गएको हंशबाहिनी माविका शिक्षक ठाकुरप्रसाद खनालले जानकारी दिए। आलुको उत्पादन बढ्दै जान थालेपछि यसतर्फको आकर्षण पनि बढ्दै गएको उहाँको भनाइ छ ।
जिल्लामा उत्पादित आलु कृषकले थोक मूल्यमा बिक्री गर्दा प्रतिकिलो ३५ रुपैयाँ पाउने गरेका छन् भने खुद्रा मूल्य ४० रुपैयाँ पर्ने गरेको छ । कृषक र उपभोक्ताबीचको दूरीका कारण उपभोक्तासम्म पुग्दा आलुको मूल्य प्रतिकिलो लगभग ५० रुपैयाँ पर्ने गरेको छ ।
जिल्लामा एमएस ४२, कुफ्रज्योति, खुमल लक्ष्मी, जनकदेव, खुमल सेतो र डेजीरे जातका आलु लगाउने गरिएको छ । पछिल्ला वर्षमा एमएस ४२ जातको आलु अत्याधिक रुपमा लगाउने गरिएको छ । कृषि कार्यालयको तथ्याङक अनुसार कास्कीका हेम्जालगायतका आलुको राम्रो उत्पादन हुने स्थानमा आलुको उत्पादकत्वप्रति हेक्टर १८ देखि २० टनसम्म हुने गरेको छ । हेम्जामा लगभग ४०० देखि ४२५ हेक्टर क्षेत्रफलमा खेती गरिएको र आलु उत्पादनबाट मात्रै वार्षिक रु २० देखि २१ करोडसम्मको कारोवार हुने गरेको जनाइएको छ ।
नेपालमा वार्षिक एक लाख ९५ हजार २६८ हेक्टर क्षेत्रफलमा आलुको उत्पादन २७ लाख ३० हजार २९४ मेट्रिक टन छ भने प्रतिहेक्टर उत्पादकत्व १२।४ मेट्रिक टन छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो