जिल्लाको व्यास नगरपालिका क्षेत्रका तीनवटा मुख्य सडकको स्तरोन्नतिका लागि नेपाल शहरी तथा पूर्वाधार आयोजनाको समन्वयमा रु ७५ करोड तीन लाख सहयोग प्राप्त भएको छ । नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार सडक निर्माणका लागि उक्त रकम सहयोग प्राप्त हुने भएको व्यास नगरपालिका कार्यालयले जनाएको छ । सम्झौता पत्रमा आयोजनाका तर्फबाट आयोजना प्रमुख नवराज प्याकुरेल र व्यास नगरपालिकाको तर्फबाट नगरप्रमुख वैकुण्ठ न्यौपानेले हस्ताक्षर गरेका हुन् ।
सो सडकअन्तर्गत घाँसीकुवा, फराकचौर, माझँफाट, कलेस्ती हुँदै व्यास मार्ग जोडिने पराशर मार्ग, पतेनीटार, चिन्तुटार, मादिवेशी, शेखटार हुँदै शिशाघाट जोडिने मार्ग र केशवटार, कुलुङ, छाब्दी, कर्लुङ हँुदै छिर्कने निस्कने मार्गको स्तरीकरण (कालोपत्रे) गर्ने कार्यक्रम रहेको नगरप्रमुख न्यौपानेले जानकारी दिए । योजनाअन्तर्गत लैङ्गिक समानतालगायत पूर्वाधार निर्माण र शासकीय सुधारका विषयमा पनि कार्यक्रम गरिनेछ । हाल वहाल रहेका जनप्रतिनिधि निर्वाचित हुने वित्तिकै नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएअनुसार काम अगाडि बढ्नुपर्नेमा कोभिडलगायत विविध कारणले नगरपालिकासँगको सम्झौता ढिलो हुन पुगेको हो ।
देशभरका ३३ नगरपालिकासँग आयोजनाका तर्फबाट सम्झौता गरिएको छ । आयोजनाका तर्फबाट करिब १४ अर्ब बजेटमा यो कार्यक्रम सञ्चालन हुँदैछ । गण्डकी प्रदेशका पोखरा महानगरपालिकासहित व्यास, शुक्ला, बाग्लुङ र स्याङ्जाको पुतलीबजार नगरपालिकासँग सम्झौता गरिएको हो । योजना सम्पन्न गर्ने अवधि पाँच वर्षको हुनेछ ।
आयोजनाले व्यास नगरपालिकाको ग्रामीण र शहरी क्षेत्रलाई पर्यटनका माध्यमबाट विस्तार गर्ने कार्यलाई सहयोग पुर्याउने छ । मादी उपत्यकाको वारिपारि क्षेत्र तथा छाब्दी, कुलुङ पर्यटन क्षेत्रको विकास हुने पनि व्यास नगरपालिकाले लक्ष्य लिएको छ । शहरी क्षेत्रमा जनघनत्व बढ्दै गइरहेको र बसाइसराइ तीव्र भइरहेको अवस्थामा यो योजना सम्पन्न भएपछि गाउँ छाडेर शहर झर्ने क्रम रोकिने अपेक्षा गरिएको छ ।
साथै आयोजनाको कार्यान्वयनको चरणमा बृहत् शहर विकास अभियानअन्तर्गत स्याङ्जा, पोखरा, शुक्लागण्डकी र व्यास क्षेत्रलाई शहरी क्षेत्रमा विकसित गर्न सम्बन्धित मन्त्रालय र विभागले प्राथमिकतामा राखेको बताइएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’