म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्। नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन्।
भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ। बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ। अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ। नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो। जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो। लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन्।
विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो। त्यसपछि नेपाल बस्ने उनलाई कानूनी अनुमति छैन । होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताए।
“केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ”, उनले भने, “कसरी पठाउने भन्ने अलमलमा परेका छौँ। गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ।”
एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन्। खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन्। स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन्।
कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो