गण्डक न्युज पोखरा, २३ चैत / राष्ट्रिय भूमि अधिकार मञ्च, नेपाल प्रदेश नंं. ४ समितिमा सुनिता विश्वकर्मा अध्यक्ष चुनिएकी छिन् । मञ्चको विहीबार पोखरामा भएको प्रथम प्रदेश सभाले विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा रेशम चेपाङ, सचिवमा आशबहादुर गुरुङ, कोषाध्यक्षमा दानबहादुर शाही, सहसचिव निर्मल नेपाली चुनिए । यस्तै, सदस्यहरुमा प्रेम बहादुर गुरुङ, शान्ति सिंह ठकुरी, धनकुमारी गुरु ङ, भगवती चेपाङ, सुवास्ना बिक, तिलकबहादुर नेपाली, प्रेम गजमेर, कृष्ण कुमारी क्षेत्री, निशु मल्ल सदस्य चयन भएका छन् । एक सदस्य पछि मनोनित गरिने जनाइएको छ ।
यसअघि, प्रदेशसभाको उद्घाटन गर्दै नेपाली काँग्रेसबाट प्रदेश नं. ४ सदस्यमा निर्वाचित प्रदेश सांसद विन्दुकुमार थापाले भूउपयोग नीति आउने क्रममा रहेको जनाउँदै सो नीतिमा सुकुम्बासी तथा भूमिहीनका हक अधिकार र मागहरुलाई सम्बोधन गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । थापाले सम्पूर्ण भूमिहीन एक भएर आफ्ना मागलाई सशक्त ढंगले राख्न पनि आग्रह गरे ।
मञ्चकी केन्द्रिय महासचिव सरस्वती सुब्बाले खेती नगर्ने तर कागजमा मात्र जग्गाधनी भएर बस्नेहरुलाई जग्गा छाड्न प्रोत्साहित गर्ने, कर्म गरेर खाने तर भूमि नभएकाहरुलाई राज्यले दिनुपर्ने, कृषिमा आधारित मुलुकको मुहार फेर्न भूमि र कृषिको सही व्यवस्थापन हुनुपर्ने कुरामा जोड दिइन् ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा नेपाल भूमिहीन सुकुम्बासी संगठन, कास्की अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले कार्यक्रम आयोजना गरिएकै स्थान नयाँ बसपार्क क्षेत्रलाई इंगित गर्दै यहाँ बसेका सुकुम्बासीहरु उचित व्यवस्थापन भएमा बसपार्क विरोधी नभएको बताए । उनले सुकुम्बासीलाई सही व्यवस्थापन गरी गुरुयोजनाका साथ अघि बढ्नुपर्ने सुझाव दिए ।
पोखरा वडा नंं ९ का सचिव तथा काँग्रेस कास्की सचिव रामराज लामिछानेले जग्गाविहीनले राज्यबाट जग्गाको अधिकार पाउनुपर्ने बताउँदै पोखरा वडा नं. १५ मा सुकुम्बासी खेदिरहँदा यहाँका सुकुम्बासीले आफू उठ्नुपर्ने चिन्ता नगर्न आश्वासन दिए । उनले लामेआहालमा ठूलो बसपार्क र पृथ्वीचोकमा सिटी बसपार्क हुने भन्दै सुकुम्बासीलाई खेदेर बसपार्क नबन्ने उल्लेख गरे ।
नेकपा माओवादी केन्द्र जिल्ला कार्यालय सदस्य अर्जुन मल्लले सुकुम्बासीका मुख्य माग लालपुर्जा रहेको भन्दै मौखिक आश्वासन र दुई चार महिनाका लागि रकम थमाएर कोहि पनि एक डेग नचल्ने बताए । कार्यक्रममा स्वागत गर्दै मञ्च कास्की जिल्ला अध्यक्ष आशबहादुर गुरुङले जोत्नेको जमिन, पोत्नेको घर हुनुपर्ने उल्लेख गर्दै बच्चा रोएपछि आमाले भोकाएको पत्तो पाउने भएकाले अब सम्पूर्ण भूमिहीन र सुकुम्बासी एक भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।
प्रदेश संयोजक सुनिता विकको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका पर्वत अध्यक्ष निर्मल नेपाली, गोरखा अध्यक्ष कृष्ण चेपाङ लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन मञ्च कास्की सहसचिव प्रेम बहादुर गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु