म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो ।
कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए। “पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।” पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ ।
पुल निर्माणका लागि हिमशिखर/जयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते रु दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो । वि. सं. २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए।
निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थामा पनि लक्ष्यअघिनै पुल निर्माण गर्न सफल भएको बताए। स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई निषेधाज्ञामा निरन्तरता दिएको उनले बताए।
धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगङ्गा–१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो ।
यसैबीच जिल्लाको मङ्गला गाउँपालिका–२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० मिटर लामो पुल निर्माणका लागि हिमशिखर–रामकृष्ण जेभीले रु २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?