काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
उनले संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।
शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।
उनले भनिन्– ‘हामी संस्कारयुक्त बनौँ, द्वन्द्वलाई कम गरौँ, हामी एक–अर्कामा सहयोग गरौँ, एक–अर्कामा भावना जोडौँ । यो प्रदेश बनाउनका लागि मिलेरै काम गरौँ । आफ्ना–आफ्ना ठाउँ होला, जिम्मेवारी होला । आफ्ना आफ्ना जवाफदेहीता होला । पदीय दायित्व होला त्यो आफ्नै ठाउँमा छ । तर आखिरमा प्रदेश बनाउनलाई नमिली सुखै छैन । मैले आज यो ठाउँमा मुख्यमन्त्रीको नाताले सरकारको सिङ्गो नेतृत्वको नाताले मार्ग प्रशस्त गरेको छु ।’
सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताइन् ।
उनले भनिन्– ‘हिजाको परम्परागत सोचले हुँदैन । प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्ने, यो सोच त्याग्नुपर्छ । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई आलोचना गर्ने । यो संस्कार हामीले विकास गर्न किन सक्दैनौं ?’
शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।
उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।
बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु