काठमाडौँ । सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो ।
अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न/नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् ।
सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासनले जहिले र जसरी रोक लगायो त्यसैअनुसार नियम लागू हुनेछ । उनले भने–‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन समिति छ । त्यही समितिले आवश्यक निर्णय गर्न सक्छ ।’
यस्तै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा राजनीतिक भेला तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने जनाएको छ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले हिजो आइतबार निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
त्यस्तै सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय तथा प्रशासनलाई निर्देशन दिएको छ ।
साथै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । अहिलेसम्म कुनै पनि डोज खोप नलगाएको भए तुरुन्तै लगाइहाल्न मन्त्रालयका प्रवक्ता कोइरालाले आग्रह गरे । उनका अनुसार माघ ७ गतेसम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाएको कार्ड वा कार्डको फोटो लिएर मात्रै सार्वजनिक ठाउँमा जान पाइनेछ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने