पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयको आफ्नै स्थायी संरचना बन्ने भएको छ । पोखरा २९ खल्याणस्थित शिक्षालयको नयाँ भवन निर्माणका लागि शनिबार मेयर मानबहादुर जिसी, संघीय सांसद तथा पूर्वगृहमन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइरालाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
आउँदो वर्षको फागुन २९ गतेसम्म निर्माण सक्ने गरी भूमि इन्फास्ट्रक्चर प्रालिले ठेक्का लिएको छ । उक्त कम्पनीले ११ करोड ४२ लाख रुपैयाँमा योजना सम्पन्न गर्ने गरी जिम्मा लिएको महानगरका इन्जिनियर लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । भवन ४० हजार ४ सय ९२ स्क्वायर फिटमा फैलिने छ । संघ सरकारको विशेष अनुदान र पोखरा महानगरपालिकाको लगानीमा भवन बन्न लागेको हो ।
शिक्षालयको डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटो मोबाइल इन्जिनियरिङको अध्यापन कार्यक्रम हाल पोखरा २९ कै जनप्रकाश माविको भवनबाट सञ्चालित छ । उक्त कार्यक्रममा भर्ना भई अध्ययनरत विद्यार्थीले सर्टिफिकेट लिँदा नलिँदै आफ्नै सुविधायुक्त नयाँ भवन पाउने संघीय सांसद एवं पूर्व गृहमन्त्री खगराज अधिकारीले बताए ।
‘तीव्र गतिका साथ शिक्षालयको भवन निर्माण हुने हाम्रो विश्वास छ,’ उनले भने, ‘बाटो, पुलपुलेसा भन्दा पनि देशलाई कायापलट गर्न गुणस्तरीय र प्राविधिक शिक्षा महत्वपूर्ण विषय हो ।’ प्राविधिक शिक्षामा अगुवाई गर्ने पोखरा महानगर, कार्यपालिकाका सदस्यहरु, स्थानीय र सरोकारवालाहरुलाई पूर्वमन्त्री अधिकारीले आभार एवं बधाई व्यक्त गरे ।
प्राविधिक शिक्षालयबाट अधिकतम फाइदा लिन मेयर मानबहादुर जिसीले स्थानीयलाई आग्रह गरे । ‘शिक्षालयबाट दक्ष प्राविधिक उत्पादन हुने विश्वास लिएको छु । उत्पादित जनशक्तिले गरेका कामहरु प्राविधिकरुपमा उत्कृष्ट हुनेछन्’ उनले भने, ‘भवन निर्माण समयमै सुरु भई सम्झौता अवधि भित्रै सम्पन्न हुनेछ ।’ प्रदेश सांसद दीपक कोइरालाले आजको आवश्यकता प्राविधिक शिक्षा भएकोले गर्दा पोखरा महानगरजस्तै अन्य पालिकाहरुले समेत प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । महानगरको सोचलाई समुदायस्तरसम्म पु¥याई सफल बनाउन शिक्षालयले योजनालाई मूर्तरुप दिन लागिपरेको निर्देशक लक्ष्मण तिमिल्सिनाले बताए ।
‘स्थानीय आवश्यकता अनुसारको प्रविधिको खोज अनुसन्धान र विकासद्वारा महानगरको दीगो विकास, व्यवस्थित सहरीकरण र नगर समृद्धिको सपनालाई साकार पार्न आवश्यक दक्ष जनशक्ति शिक्षालयले उत्पादन गर्ने छ,’ उनले भने । मूलतः विपन्न, दलित, उत्पीडित समाजमा पछि परेका वर्गको क्षमता विकास, सीप तालिमको माध्यमद्वारा सशक्तिकरण गर्दै रोजगार मूलक स्वरोजगार र उद्यमशिलताको विकास गर्न शिक्षालयले भूमिका खेल्ने तिमिल्सिना बताउँछन् ।
पोखरामा पहिलोपटक पोखरा महानगरपालिकाले सञ्चालनमा ल्याएको उक्त शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनीयरिङ र अटोमोबाइल इन्जिनीयरिङको पहिलो सत्रको अध्यापन कार्यक्रम जारी छ ।
तीनवर्षे कोर्सका लागि शिक्षालयमा ४८ जनाको कोटा निर्धारण गरी छात्रवृत्ति समेतको व्यवस्थामा अध्यापन भइरहेको हो । जसअनुसार शिक्षालयमा १० ओटा कोटा पूर्ण छात्रवृत्ति, ६ ओटा कोटा सहुलियत र ३२ ओटा कोटा खुलातर्फका रहेका छन् । महानगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)को साझेदारीमा तत्कालका लागि जनप्रकाश माविबाट शैक्षिक कार्यक्रम अघि बढाएको थियो ।
यस वर्ष दुई प्राविधिक विषयको अध्यापन शुरू गरिए पनि शिक्षालयको पूर्वाधार निर्माण सम्पन्न भएपछि प्राविधिकतर्फका डिप्लोमा इन जियोमेटिक इन्जिनियरिङ, फरेस्टी, फार्मेसी विषयमा समेत कक्षा सञ्चालन गर्ने योजना रहेको शैक्षिक प्रमुख सरोज अधिकारीले जानकारी दिए ।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला