पोखरा । नेकपा एमाले पोखरा -१५ ले मेयर र उपमेयरका उम्मेदवारसहित घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। घरदैलो कार्यक्रममा मेयर र उपमेयरसहित वडाका पाँचै जना उम्मेदवार र कार्यकर्ताको टोलीले वडाको विभिन्न टोलको परिक्रमा गरे।
घरदैलो पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै मेयर पदका प्रत्यासी कृष्ण थापाले घरदैलो कार्यक्रममा वडावासीले देखाउनुभएको माया र विश्वासले विगतमा जस्तै आगामी निर्वाचनमा पनि एमालेले अत्याधिक मत पाएर बिजयी हुने बताए।
थापाले ३४ वर्षको उमेरमै आफू मेयर हुने अवसर प्राप्त गरेको भन्दै यो बीचमा धेरै अनुभवहरु सँगालेको बताए। उनले २०५२ सालदेखि शुरु भएको माओवादी युद्ध र त्यसले निम्त्याएको ध्वंस अनि २०५९ साल असार ३१ गते तत्कालिन गठबन्धनका प्रधानमन्त्री शेर बहादुर देउवाले जननिर्वाचित संस्थाहरुलाई अपदस्त गरेको स्मरण गर्दै त्यसपछि लगातार १५ वर्ष स्थानीय तहमा कुनैपनि निर्वाचन नभएको र उक्त भयावह अवस्था आफूहरुले नजिकबाट देखेको बताए ।
थापाले अमरसिंहचोकदेखि तल झर्न अत्यन्त विकट रहेको अवस्थामा बाच्छेबुडुवामा ल्याण्डफिल्ड साइटको निर्माण गरेपछि यस क्षेत्रमा पहिलो पटक बाटो बनाएको बताए । तत्कालिन समयमा आफूहरुले नै पोखरामा विकास निर्माणको पूर्वाधारहरु कोरेको दाबी गरे।
पोखरामा झन्डै साढे ४ अर्वको खानेपानीको योजना आफू स्वयं साक्षी बसेर ल्याएको र यसै योजनाको तेस्रो फेजको निर्माण तथा विस्तार कार्य अहिले चलिरहेको उनले दाबी गरे।
अप्ठेरो अवस्थामा हिजो पोखरामा विकासका कार्यहरुको थालनी गरेको बताउँदै उनले पोखरा महानगरको मेयरमा मान बहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङको नेतृत्वले पनि विगतमा गरेका कामलाई निरन्तरता दिएको बताए।

उनले फेरी एउटा सुखद सौभाग्य मिलेको भन्दै देशकै उत्कृष्ट उपमेयरको निरन्तरता, २०५४ सालदेखि काम र अनुभवले खारिएको आफू र आशा गरिएका युवा नेतृत्व तोरण बानियाँ र उनको टीमले काम गर्नेमा विश्वस्त हुन वडावासीलाई आग्रह गरे। उनले भने – “यो वडाको बाँकी रहेका सम्पूर्ण विकास हामीलाई गर्ने मौका दिनुहोस्, हामी गरेर देखाउँछौँ।”
यस्तै, उपमेयर पदकी मञ्जुदेवी गुरुङले आफूहरु निर्वाचित भएर आइसकेपछि यस वडामा धेरै कामहरु भएको बताइन्। उनले वडाका नागरिकहरुले सुरक्षाको अनुभूति गर्न पाउनुपर्छ भनेर सबैभन्दा पहिले यसै वडामा सिसिटिभी क्यामेरा जडान गरिएको बताइन्। उनले अझ कतिपय कामहरु गर्न बाँकी रहेको र कतिपय कामहरु प्रक्रियामा रहेकोले ती कामलाई पूर्णता दिँदै अन्य कामलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिवद्धता जनाइन्।
नेकपा एमाले ज्येष्ठ नागरिकको सम्मान गर्ने पार्टी भएकाले यो बीचमा गठबन्धन या परमादेशको सरकार नआएको भए अहिलेसम्म वृद्धभत्ता सम्भवतः ५ हजार पुग्ने उनले बताइन्। उनले गठबन्धनको टोलीमा धेरै चिन्ह अंकित झन्डाहरु रहेकोले मतदान गर्न गाह्रो र झन्झटिलो हुने भन्दै नेकपा एमालेको सूर्य चिन्ह सिङ्गो एउटा मात्र भएकाले मतदान गर्न सजिलो हुने बताइन्।
यस्तै, वडा नं -१५ का अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले यहाँको समाज, यहाँका जनता र यस क्षेत्रको विकासका लागि हर समय तल्लिन भएर समस्यालाई समाधान गर्न अग्रसर हुने बताए। बानियाँले एकैचोटी यो समाजको नेतृत्व गर्छौं भनेर आएको नभै धेरै अगाडिबाट मेहेनत गर्दै संघर्ष गरेर सामाजिक काममा समर्पित रहँदै आएकाले हिजो गरेका कामको कारणले पनि यहाँका जनताले विश्वास गरेर भारी मतले बिजयी गराउने आशा व्यक्त गरे। उनले घरदैलोका क्रममा जनतासँग धेरै वाचाहरु गरेकाले आउँदो ५ वर्ष भित्र आवश्यकता र औचित्यका आधारमा एकपछि अर्को गर्दै सबै वाचाहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रमको संचालन वडा कमिटि सचिव तथा न्यायिक समिति सदस्य पार्वती कार्कीले गरेकी थिइन् भने, सभामा जिल्ला कमिटि कास्कीका इन्चार्ज भिम कार्की, वर्तमान वडा अध्यक्ष तथा इन्चार्ज प्रकाश पौडेल, पूर्व अध्यक्ष तथा निर्वाचालन परिचालन कमिटिका संयोजक शिव बहादुर भण्डारी, शिव बहादुर बानियाँ, पूर्व सदस्य ललित बहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’