पोखरा । लोकगायक कल्याण शेरचनको ७६ औं जन्म जयन्तीको अवसरमा पोखरामा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल पोखराले साउन १२ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।
जन्म जयन्तीमा इन्द्रेणी कार्यक्रमसमेत हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा लोकबाजाको संग्रहालय निर्माण गर्न तथा लोक गायक स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्न प्रतियोगिता गर्न लागेको बताए । गीत संगीततर्फ नारायण रायमाझी र शिक्षाप्रेमी योगेन्द्रबहादुर बस्नेत (मरणोप्रान्त)लाई जनही २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।
‘शिक्षा र खेलकुदको क्षेत्रमा समेत योगदान पुर्याएका शेरचनको प्रिय विधा लोक दोहोरीगीत प्रतियोगिता गर्न लागेका छौं,’ अध्यक्ष ह्योल्मोले भने, ‘विगतका वर्षमा शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा कौरा, मादल बादन प्रतियोगिता, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका छन् ।’ उनले प्रतियोगिताबाट ५५ लाख आम्दानी र ३९ लाख ५० हजार खर्च हुने जानकारी दिए । बचत १५ लाख ५० हजारबाट शेरचनको शालिक निर्माण गर्ने योजना छ ।
प्रतिष्ठानका सचिव जीवन दाहालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वाना हुने समूहलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र १ लाख नगद प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई जनही ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट कलाकारलाई बेलायतको कार्यक्रममा सहभागी गराइने कार्यक्रम रहेको सचिव दाहालले बताए ।
प्रतियोगितामा ४० देखि ४५ समूहले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको निर्णायक संयोजकमा रमेश बिजी छन् । उनले प्रतियोगिताका लागि भाका सार्वजनिक गरी भाकावापत स्रष्टालाई रोयल्टी प्रदान गरिने उल्लेख गरे । दाहालले इन्द्रेणी साँस्कृतिक समाज काठमाडौंले प्रायोजनबापत १० लाख प्रदान गर्ने र सबै गीत छायांकन गरी इन्द्रेणीको युट्युब च्यानलबाट प्रशारण हुने बताए ।
पोखरा सभागृहमा हुने कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रीय समिति, गण्डकी तथा पोखरा प्रज्ञा प्रतिष्ठान, हिमाली साँस्कृतिक परिवारको सहकार्य छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य शंकरबिरही गुरुङ र स्रष्टा सम्मान समितिका संयोजक खेम गुरुङले समेत प्रतियोगिताबारे जानकारी दिएका थिए ।
प्रतियोगितामा भाग लिनका लागि २ हजार रुपैँया दर्ता शुल्क लाग्नेछ भने सहभागी कलाकारहरुलाई प्रति समूह ३ हजार रुपैयाँ भत्ता स्वरुप नगद दिइनेछ । प्रतियोगिता हेर्नका लागि निःशुल्क प्रवेश गर्न पाइनेछ ।
स्व. शेरचनकाे स्मृतिमा यसअघि पश्चिमाञ्चल स्तरिय कौरा (चुट्का) गीत प्रतियोगिता, कल्याण स्मारिका तथा जम्काभेट गीतिसंग्रह लोकार्पण, तथा स्रष्टा सम्मान कार्यक्रम, सम्मान तथा विविध काँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरिसकेको छ । शेरचनको जन्म २००३ साउन १२ गते भएको थियो भने निधन २०६७ माघ २४ गते भएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह