पोखरा । लोकगायक कल्याण शेरचनको ७६ औं जन्म जयन्तीको अवसरमा पोखरामा राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता हुने भएको छ । कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपाल पोखराले साउन १२ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको हो ।
जन्म जयन्तीमा इन्द्रेणी कार्यक्रमसमेत हुने प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर गुरुङ ह्योल्मोले जानकारी दिए । उनले गण्डकी प्रदेशको राजधानी पोखरामा लोकबाजाको संग्रहालय निर्माण गर्न तथा लोक गायक स्रष्टा, शिल्पी कल्याण शेरचनको प्रतिमा निर्माण गर्न प्रतियोगिता गर्न लागेको बताए । गीत संगीततर्फ नारायण रायमाझी र शिक्षाप्रेमी योगेन्द्रबहादुर बस्नेत (मरणोप्रान्त)लाई जनही २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम छ ।
‘शिक्षा र खेलकुदको क्षेत्रमा समेत योगदान पुर्याएका शेरचनको प्रिय विधा लोक दोहोरीगीत प्रतियोगिता गर्न लागेका छौं,’ अध्यक्ष ह्योल्मोले भने, ‘विगतका वर्षमा शेरचनको जयन्तीमा काठमाडौं र पोखरामा कौरा, मादल बादन प्रतियोगिता, सारंगी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता भएका छन् ।’ उनले प्रतियोगिताबाट ५५ लाख आम्दानी र ३९ लाख ५० हजार खर्च हुने जानकारी दिए । बचत १५ लाख ५० हजारबाट शेरचनको शालिक निर्माण गर्ने योजना छ ।
प्रतिष्ठानका सचिव जीवन दाहालले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वाना हुने समूहलाई क्रमशः ६ लाख, ४ लाख, २ लाख र १ लाख नगद प्रदान गरिने जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट गायक, गायिका र अनुशासित समूहलाई जनही ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट कलाकारलाई बेलायतको कार्यक्रममा सहभागी गराइने कार्यक्रम रहेको सचिव दाहालले बताए ।
प्रतियोगितामा ४० देखि ४५ समूहले प्रतिस्पर्धा गर्ने आयोजकको अनुमान छ । प्रतियोगिताको निर्णायक संयोजकमा रमेश बिजी छन् । उनले प्रतियोगिताका लागि भाका सार्वजनिक गरी भाकावापत स्रष्टालाई रोयल्टी प्रदान गरिने उल्लेख गरे । दाहालले इन्द्रेणी साँस्कृतिक समाज काठमाडौंले प्रायोजनबापत १० लाख प्रदान गर्ने र सबै गीत छायांकन गरी इन्द्रेणीको युट्युब च्यानलबाट प्रशारण हुने बताए ।
पोखरा सभागृहमा हुने कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रीय समिति, गण्डकी तथा पोखरा प्रज्ञा प्रतिष्ठान, हिमाली साँस्कृतिक परिवारको सहकार्य छ । कार्यक्रममा प्रतिष्ठानका सदस्य शंकरबिरही गुरुङ र स्रष्टा सम्मान समितिका संयोजक खेम गुरुङले समेत प्रतियोगिताबारे जानकारी दिएका थिए ।
प्रतियोगितामा भाग लिनका लागि २ हजार रुपैँया दर्ता शुल्क लाग्नेछ भने सहभागी कलाकारहरुलाई प्रति समूह ३ हजार रुपैयाँ भत्ता स्वरुप नगद दिइनेछ । प्रतियोगिता हेर्नका लागि निःशुल्क प्रवेश गर्न पाइनेछ ।
स्व. शेरचनकाे स्मृतिमा यसअघि पश्चिमाञ्चल स्तरिय कौरा (चुट्का) गीत प्रतियोगिता, कल्याण स्मारिका तथा जम्काभेट गीतिसंग्रह लोकार्पण, तथा स्रष्टा सम्मान कार्यक्रम, सम्मान तथा विविध काँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमको आयोजना गरिसकेको छ । शेरचनको जन्म २००३ साउन १२ गते भएको थियो भने निधन २०६७ माघ २४ गते भएको थियो ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?