अर्धनग्न भेटिएकी श्रीयाको बलात्कार पछि हत्या ! दबाब समूह गठन (फोटो फिचर)

अर्धनग्न भेटिएकी श्रीयाको बलात्कार पछि हत्या ! दबाब समूह गठन (फोटो फिचर)

shreeyaaa (2)

रञ्जन अधिकारी, पोखरा । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रीया बिक (सुनार) सोमबार साँझ साढे ६ बजेदेखि घर फर्किनन् । विद्यालयबाट फर्कने बित्तिकै बिस्कुट किन्न पसल गएकी श्रेया नफर्केपछि आफन्तले रातभर खोजी गरे । तर मंगलबार बिहानै मृत अवस्थामा भेटिइन् ।

बिहान ८ बजेतिर झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामाघरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । साँझ देखि आफ्नो ईष्ट मित्रकोमा केन्द्रित गरी बालिकाको खोजी कार्य भए पनि नभेटिएपछि घर नजिकको खोल्सा तथा झाडीहरुमा खोज्ने क्रममा बालिका बिहान मृत अवस्थामा भेटिएको थियो ।

शव घोप्टो परेको अवस्थामा अर्धनग्न हालतमा भेटिएको थियो । तलको कपडा घुँडा मुनिसम्मै खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको अवस्थामा भेटिएकाले उनको बलात्कार पछि हत्या गरेको स्थानीयको दाबी छ । चिकित्सकले समेत बलात्कार भएको जनाइसकेको स्थानीयको ठोकुवा रहेपनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भइसकेको छैन । डा. मदन बराल सहितको पाँच जना चिकित्सक टीमले तयार पारेको रिपोर्ट बुधबार कास्की प्रहरीलाई बुझाईदैछ ।

श्रीयाको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ । बालिकाको अनुहार र टाउको क्षतविक्षत अवस्थामा थियो । नजिकै तिखो ढुंगामा रगत देखिएकाले सोहि ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । उनको शव भेटिएको झाडी नजिकै मान्छे नबस्ने एउटा पुरानो घर छ । जुन घरको एउटा कोठामा मान्छे छिर्न सक्ने भाग खुल्ला छ । सोहि स्थान वरपर उनको बलत्कार पछि हत्या भएको हुन सक्ने उनीहरुको आशंका छ । मामाघरमा आफ्ना हजुरबा हजुरआमा संगै बस्दै आएकी श्रेया स्थानिय लिला आधारभूत माविमा कक्षा ३ मा अध्ययनरत थिईन् ।

‘हत्या हुनु अघि बलात्कार नै भएको हो’

बालिकाकी ठूलोबुबा मिनबहादुर बिकले श्रीयाको बलात्कारपछि नै हत्या भएको दाबी गरेका छन् । बिकले हत्या अघि बलात्कार भएको पुष्टि गर्ने आधारहरु भन्दै यसरी बेलिविस्तार लगाए – ‘झाडीमा नांगो अवस्थामा शव भेटियो । रक्ताम्ये अवस्था थियो । ढुंगाले हानेर हत्या गरिएको थियो । बलात्कार भएको आशंका त थियो नै । पोष्टमार्टमका लागि अस्पताल लगेपछि डाक्टरहरुले यौनांग च्यातिएको, रगत बगेको, घाँटी थिचेको भनेका छन् । बलात्कार भएको स्पष्ट रुपमा डाक्टरले भनिहाले तर कति जना संलग्न थिए ? यसको डिएनए रिपोर्टबाट मात्र थाहा हुने हामीलाई बताईसक्नुभएको छ ।’

बिकले बलात्कार पछि हत्या गर्नेलाई यथाशीघ्र पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

दबाब समूह गठन

अपराधीलाई कानुनी कठघरामा ल्याउन दबाब दिन बालिकाका ठुलोबुबा मिनबहादुर बिकको संयोजकत्वमा २१ सदस्यीय शान्तिपूर्ण दबाब समूह गठन गरिएको छ । समूहमा स्थानीय आमा समूह, क्लब, टोलसुधार समितिका प्रतिनिधि रहेका छन् ।

समूहले एक विज्ञप्ती जारी गर्दै लेखेका छन् ‘शव पोष्टमार्टम कक्षमा १०÷१२ जनाको टोलीले शवलाई पल्टाई पल्टाई हेर्दा हामी लगायत स्थानीय सबैलाई उक्त केश बलात्कार पछि हत्या भएको ठहर गर्दै तत् पश्चातका कामकारबाहीहरु कानुनी रुपमा अगाडि बढाउने र सो घटनाको हत्यारालाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्नको लागि शान्तिपूर्ण दबाब समूह गठन ग¥यौं ।’

गाउँबाट शव उठाउन स्थानीयको अवरोध

शवको अवस्था समेत देखेका स्थानीयले बलात्कार गरेर हत्या गरेको ठहर गरेका छन् । घटना सत्य तथ्यमा नपुगी फितलो हुने आशंका गर्दै स्थानियले एम्बुलेन्स सहित प्रहरीको टोलीलाई केहि समय अबरोध समेत गरेका थिए । बलात्कार नै भएको, हत्यारालाई छिटो भन्दा छिट्टो पत्ता लगाउन माग गर्दै उनीहरुले प्रहरीलाई अवरोध गरेका थिए । नाराबाजी गर्दै गाउँ नै उल्टिएर प्रहरीलाई अवरोध गरेका थिए ।

चिनेकै चिकित्सकले पोष्टमाटम गर्ने शर्तमा शव सहित प्रहरीलाई गाउँलेले छाडिदिएका थिए । स्थानियले प्रहरी र चिकित्सकको मिलेमतोमा पोष्टमार्टमको रिपोर्ट सत्य नहुने आशंकामा स्थानीयकै रोहवरमा पोष्टमार्टम गर्न उनीहरुको माग थियो ।

बाबु अन्तै, आमा बिरामी

श्रेयाकी आमा बेली विक विरामी छन् । लामो समय अस्पतालको शैयामा समय काटेकी बेली पूर्ण रुपमा स्वस्थ्य नहुँदै फेरी अर्काे बज्रपात बेहोर्नु परेको छ ।

श्रेयाका आमाछोरीलाई छोडेर कान्छी श्रीमती भित्र्याएका श्रेयाका बाबुले उनीहरुलाई वास्ता गर्न छोडेको धेरै भइसकेको छ । श्रीमान्को हेपाई सहन नसकेर बेलीले छोरी श्रेयालाई साथमै लिएर माइत बस्दै आएकी थिईन् ।

घटनापछि बेलीको हालत झनै दयनीय बनेको छ । छोरीको अवस्थाबारे थाहा पाउने वित्तिकैबाट मुर्छा परेकी उनी अर्धबेहोस् छिन् । हजुरआमा उस्तै भावविह्वल छिन् ।कसले ग¥यो यस्तो कुकृत्य र जघन्य अपराध ? गाउँले त्रसित छन् ।

प्रहरी भन्छ ‘अब पोष्टमार्टम रिपोर्ट कुरौं’

मंगलबार विहान ८ बजे स्थानीयले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । बैदाम प्रहरी चौकीका डिएसपी नबिन कार्की नेतृत्वको टोलीले घटना स्थल सुरक्षित गर्ने देखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको हो ।

स्थानीयले भने जस्तो रेप भएको हो हैन भन्न विषयमा प्रहरी मौन छ । ‘अर्धनग्न भेटिएपनि रेप भएको नभएको त मेडिकल रिपोर्ट आएपछि मात्रै थाहा हुने कुरा भयो, डाक्टरहरुले भन्छन् ।’ उनले भने ‘यसबारेमा विस्तृत जानकारी पोष्टमार्टम रिपोर्टपछि नै भन्न सकिने भयो ।’

कास्की प्रहरी प्रमुख एसपी ओम रानाले बलात्कार भएकोबारे नकार्न सकेनन् । उनले त्यस्तै देखिएको तर पोष्टमार्टम रिपोर्टले नै पुष्टि गर्ने बताए ।

पुष्पा घटना स्मरण

ठीक १ महिना अघि भदौ ८ गते पोखरा लामाचौरमा १३ वर्षीया बालिका पुष्पा केसीको पनि शव भेटिएको थियो । विन्ध्यवासीनि मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पाको श्रेयाजस्तै चोटपटक नदेखिएपनि झण्डै उस्तै हालतमा फापरतरो स्थित शैलजा स्मृति पार्कको डिलमुनी भिरालो झाडीमा स्कर्ट खोलिएको अवस्थामा शव भेटिएको थियो ।

उनको हत्या र त्यस अघि बलात्कार समेत भएको स्थलगत अवलोकनका क्रममा जानेहरुको ठोकुवा नै थियो । उनले लगाएको स्कुलको बेल्ट, स्कर्ट फुकालिएको र दुई मिटर पर भेटिनु, झोला पनि टाढा फेला पर्नु, झाडी फाडिएको र मुठीले झारहरु समातेको अवस्थामा झारले छोपेको स्थितिमा उनको शव भेटिएको भन्दै स्थानीय धेरै पछिसम्म आन्दोलित भए ।

पुष्पाको टाउकोमा रगत जमेको, देब्रे छाती, फोक्सोमा चोट लागेको र देब्रे खुट्टाको कुर्कुचा भाँच्चिएको देखिएको अस्पतालले जनायो । रिपोर्ट अनुसार उनको शरीरमा आन्तरिक चोट र रक्तश्राव भएको देखियोे । तर त्यसलाई परिवार र आफन्तले पत्याएनन् । प्रहरी अनुसन्धानकै क्रममा रहेको एसपी रानाले बताए ।

अन्तमा, माया बोधी लामा आत्महत्या कि हत्या ?

पोखरा महानगरपालिका २४ पामे घर भई पोखरा ६ जरेवरमा डेरा गरी बस्दै आएकी माया बोधी लामाको शव भदौ २८ गते पोखरा १७ रातोपहिरो कुलोमा भेटियो । हल्लनचोक स्थित पोखरा भिलेजमा आयोजना गरिएको पार्टीबाट साँझ साढे ७ बजे निस्किएकी उनी हेल्पिङ ह्याण्ड स्पामा काम गर्ने गरेको बुझियो । जानकारका अनुसार उनी अनाथ हुन् । घटना सम्बन्धमा जाहेरी दिने कोहि थिएनन् ।

भदौ १० गते राति पोखरा २२ पुम्दीभुम्दीकै १६ वर्षीया सुस्मिता लामिछाने र भदौ २ गते स्याङ्जा पुतलीबजार अरौदीकी १८ वर्षीया दीपा कुँवरले आत्महत्याको जनाउ दिएरै फेवाताल र ड्याममा हामफालेका थिए । माया बोधी लामाले आत्महत्या गरिन् कि ? पार्टीबाट निस्केकी युवतीको हत्या गरेर फालियो ? यो अझै खुल्न सकेको छैन ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा मुलुकमा नै आन्दोलन चर्किएको दुई महिना भइसक्यो ।

प्रकाशित मितिः २०७५ असोज ९ राति ११ः४५

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ