बाम गठबन्धनको दाबी: ‘कास्कीका सबै सिट जित्छौं’

बाम गठबन्धनको दाबी: ‘कास्कीका सबै सिट जित्छौं’

baam news

पोखरा, १७ मंसिर / बाम गठबन्धनले कास्कीका सबै ९ वटै सिट जित्ने दाबी गरेको छ । बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समिति कास्कीले आइतबार साँझ पोखरामा पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ वटा गरी ९ मा ९ वटै क्षेत्र जित्ने दाबी गरेको हो ।

गठबन्धनले २ कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठबन्धन बनाएर एकतासम्म पुग्ने भनेपछि नेता, कार्यकर्ता मात्र नभई जनतामा समेत उभार आएको दाबी गरेको छ । गठबन्धनपछि देशमा स्थिरता आउने विश्वास पलाएको तथा आन्तरिक लोकतन्त्र नभएको कांग्रेसदेखि जनता वाक्क भएकाले बाम गठबन्धनको जित सुनिश्चित देखिएको गठबन्धनको दाबी छ ।

कास्की क्षेत्र नम्बर १ का उम्मेद्वार खगराज अधिकारीले कास्कीका ९ का ९ सिट नै जित्ने बताए । उनले भने, ‘हामी ९ का ९ सिट जित्छौं, त्यो पनि अत्यधिक मत ल्याएर ।’ अधिकारीले २१ औं शताब्दीमा आएर अधिनायकवाद ल्याउन लाग्यो भनेर कसैले भन्दा जनताले नपत्याएको जिकिर गरे । बरु द्वन्द्वकालमा टाउकाको मूल्य तोक्ने शेरबहादुर देउवा र उनको पार्टी कांग्रेस नै अधिनायकवादी भएको उनको टिप्पणी छ ।

कास्की २ का उम्मेदवार रवीन्द्र अधिकारीले जनताको चाहना वाम गठबन्धनले जितोस् भन्ने देखिएको बताउँदै कास्कीमा क्लिन स्विप गर्ने दाबी गरे । उनले जनताले राजनीतिक स्थिरता, समृद्धि र विकास चाहेको र त्यो बामपन्थीले दिने उनको भनाइ छ । जनता विश्वस्त भएकाले कास्की लालकिल्ला हुने उनले बताए ।

नेपाली कांग्रेस अस्थिरता निम्त्याउने पार्टी भएको भएको उनले टिप्पणी गरे । ५ वर्ष आवधिक निर्वाचन कुर्न नसकेर लोकतान्त्रिक पार्टीलाई अलोकतान्त्रिक भन्ने कांग्रेसको नियतमा नै खोट देखिएको उनले आरोप लगाए । उनले भने, ‘प्रजातन्त्र दरबारलाई बुझाउने पार्टी अधिनायवादी नहुने तर त्यही प्रजातन्त्र खोसेर ल्याउनेचाहिं कसरी अधिनायकवादी हुन्छ ?’ जनतामा लोकतान्त्रिक बाम गठबन्धनलाई अधिनायकवादी भनेर कांग्रेसले भ्रम छर्नु देश र जनताको लागि दुर्भाग्य भएको उनको भनाइ छ ।

कास्की १ प्रदेश १ का उम्मेदवार दीपक कोइराला ‘रुपक’ले कांग्रेसको एजेन्डा नै नभएकाले बाम गठबन्धनको पक्षमा लहर आएको बताए । भावनाले मात्र जनताले भोट हाल्ने जमाना गएको विचार राख्दै उनले बाम गठबन्धनको जित सुनिश्चित उल्लेख गरे । उनले भने, ‘हामीले जितिसकेका छौं । मत बाकसमा राखेर गणनामात्र गर्न बाँकी छ ।’

कास्की २ प्रदेश १ का उम्मेदवार कृष्ण थापाले कास्कीका सबै सिट जित्ने निश्चित भएको ठोकुवा गरे । देउवाप्रति कांग्रेसका इमान्दार कार्यकर्ता रुष्ट भएको, कांग्रेस र राप्रपा लगायतका दलमा रहेका देशभक्तहरु बाम गठबन्धनमा आएकाले जित सुनिश्चित भइसकेको उनको तर्क छ ।

कास्की २ प्रदेश २ का उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले जनतामा देखिएको उभार र उत्साहले कास्की लाल किल्ला बन्ने पाक्का भएको उल्लेख गरे । स्थिर सरकारसहित समृद्धि र विकासका कम्युनिष्ट एक भएर आएको उनको भनाइ छ । उनले भने, ‘प्रजातन्त्र दरबारलाई बुझाउने, टिकट खरिद, बिक्री गर्ने पार्टीलाई जिताउने कि देशको सुन्दर भविष्य देखाउने वाम गठबन्धनलाई रोज्ने ?’

अतिथिका रुपमा कार्यक्रममा सहभागी माओवादी केन्द्रका वरिष्ठ नेता देव गुरुङले कास्कीसहित प्रदेश नम्बर ४ मा अधिकांश सिट जित्ने उद्घोष गरे । नेकपा माअ‍ेवादी केन्द्र प्रदेश ४ का इन्चार्जसमेत रहेका उनले जनउभार बाम गठबन्धनको पक्षमा भए पनि आर्थिक चलखेल हुने सम्भावना औंल्याउँदै मतको सुरक्षा गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए । उनले कांग्रेसले लगाएको अधिनायकवादको आरोप जनताले खारेज गरिसकेको उनको भनाइ छ । गुरुङले भने, ‘देशमा कुनै दल राष्ट्रवादी छ भने त्यो बाम गठबन्धन हो ।’

देशको मुहार फेर्न लाग्छु ः अधिकारी

बाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभा उम्मेदवार रवीन्द्र अधिकारीले देशकै मुहार फेर्ने विकासको खाकासहित आफूहरु निर्वाचन होमिएको बताएका छन् ।

अर्मलामा भुवान पर्दा तत्कालीन समयमा सो स्थान आफ्नो क्षेत्रमा नपरे पनि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गरेर सो विपत्तिका निम्ति काम गर्ने वातावरण बनाएको उल्लेख गरे । आइतबार पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत वडा न १६ को अर्मलामा आयोजित कोणसभामा अधिकारीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा सो क्षेत्रका बिबिध समस्याबारे अधिकारीलाई स्थानीयले जानकारी गराएका थिए । अधिकारीले ग्रामिण कृषि, खानेपानी, पर्यटन र युवा रोजगारीलाई प्रमुख मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए ।

अधिकारीले आइतबार नै पोखरा लेखनाथ महानगर वडा न ११ काहँु, ३३ को आपुभन्ज्यांङ , वडा न ४ का बिभिन्न टोलमा कोण सभा र घरदैलो गरेका छन् ।

कोणसभामा बाम गठबन्धन कास्की २ (२ ) का उम्मेदबार राजकाजी गुरुङ ‘करण’ले झुट्टा आश्वासन बाडेर जनता नझुक्याउने दिन अब नरहेको बताए । उनले भन्दै अब विकासको बहसमा उत्रिन र देशलाई त्यस दिशामा अघि बढाउन वामपन्थीको विकल्प नभएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ