अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

Former AIGP Mukundaraj-Acharya-1

३० वर्ष प्रहरी सेवामा बिताएर अवकाश लिएका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुन्दराज आचार्य कृषिकर्ममा जुटेका छन् । उनले आफ्नै जन्मभूमि स्याङ्जा चापाकोटमा फलफूल खेती सुरु गरेका हुन् ।

अवकाशपछिको जीवन उत्पादनमूलक क्षेत्रमा काम गरेर बिताउने उद्देश्यसहित आफू खेतीपातीमा लागेको उनले बताए ।

६२ वर्षीय आचार्यले २०७९ सालमा प्रहरी सेवाबाट अवकाश लिएपछि २०८० सालदेखि चापाकोट नगरपालिका-९, निर्दिममा फलफूल खेती थालेका हुन् । अवकाशपछिको समय सदुपयोग गर्नुका साथै गाउँमा फलफूल खेतीप्रति चेतना फैलाउने उद्देश्यले उनले लिची र आँपका बिरुवा रोपेका छन् ।

करिब ९ रोपनी क्षेत्रफलमा ५२ वटा लिची र १० वटा आँपका बिरुवा लगाएका उनले एभोकाडो र केराखेती पनि गरेका छन् ।

चापाकोटको हावापानी र माटो लिची तथा आँप खेतीका लागि उपयुक्त हुने भएकोले यी फलफूल रोजेको आचार्य बताउँछन् । उनले रोपेका अधिकांश लिचीका बिरुवा राम्रोसँग हुर्किरहेका छन् । लिची र आँपका बिरुवाले आगामी वर्षदेखि फल दिन थाल्ने अपेक्षा उनको छ ।

अवकाशपछि खाली बस्नुभन्दा आफ्नै गाउँमा उत्पादनमूलक काम गर्ने सोचले खेती सुरु गरेको आचार्यले बताए । यसमा हजुरबुबाको अधुरो सपना पूरा गर्ने उद्देश्य पनि जोडिएको छ ।

आचार्यका हजुरबुबा राणा शासनकालमा खरदार थिए । उनले गाउँमै कृषि कर्म गर्ने लक्ष्य राखेर जग्गा किनेका थिए । तर ती जग्गा लामो समयदेखि बाँझै रहे । हजुरबुबाले कृषि गर्ने उद्देश्यले किनेको जमिन उपयोगमा ल्याउने सोचले आफू खेतीमा लागेको आचार्यले बताए ।आफूलाई पुग्ने पेन्सन आउने र काठमाडौंमा घरसमेत भए पनि गाउँमा बाँझो जमिन राख्नुभन्दा केही उत्पादन गर्ने सोचले खेतीमा लागेको उनको भनाइ छ । उनी र उनकी श्रीमती दुवै फलफूल खेतीमा सक्रिय छन् ।

साधारण जीवनयापन गर्दै आएका आचार्यले आफ्नै बारीमा फलफूल उत्पादन गरेर वर्षभरि खान पाउने र थप आम्दानीको सम्भावना बनाउने लक्ष्य राखेका छन् । त्यसैले १२ महिनै फलफूल खान पाइने गरी अन्य प्रजातिका बिरुवा पनि लगाउने उनको योजना छ ।

आचार्य २०४६ सालमा खरिदार पदमा नाम निकालेर गोरखाको सिँचाइ कार्यालयबाट निजामती सेवामा प्रवेश गरेका थिए । त्यसको तीन वर्षपछि २०४९ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गरेका उनी ३० वर्षे सेवा अवधि पूरा गरी २०७९ सालमा अवकाश भएका हुन् ।

प्रहरी सेवामा रहँदा उनले गद्दी आरोहण रजत पदक, दैप्र पदक, प्रहरी सेवा पदक, संयुक्त राष्ट्रसङ्घ पदक, परदेश सेवा पदक र प्रबल जनसेवाश्री लगायतका विभूषण तथा सम्मान प्राप्त गरेका थिए ।

कृषि कर्ममा सक्रिय आचार्य सामाजिक तथा शैक्षिक क्षेत्रमा पनि संलग्न छन् । उनी चापाकोट बहुमुखी क्याम्पसका अध्यक्ष हुनुका साथै गरिमा विकास बैंक लिमिटेडका सञ्चालकसमेत हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ