काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पक्राउ गर्न आउने हो भने खाली हात नभई हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्।
सरकारका कुनै पनि व्यक्तिले आफूहरूलाई तर्साउन खोजेको भए गलत पार्टी र गलत मान्छे छानेको उनको भनाइ छ। पार्टी कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले सरकारले प्रतिपक्षीको आवाज दबाउन खोजे त्यसको सशक्त प्रतिवाद गर्ने बताए।
सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै थापाले आफूहरू रास्वपाका कुनै पनि समस्यामा नपस्ने स्पष्ट पारे। प्रतिपक्षी दलहरूको गठबन्धन गर्ने पक्षमा पनि आफूहरू नरहेको उनको भनाइ छ। ‘जहाँ सरकारलाई साथ दिनुपर्छ, त्यहाँ दिन्छौं। प्रतिवाद गर्नुपर्ने ठाउँमा प्रतिवाद गर्छौं,’ उनले भने, ‘हामी प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्छौं। सरकार र नागरिकबीचका ग्यापहरूमा हामीले झकझकाउने काम गर्छौं।’
उनले सुकुम्बासी व्यवस्थापनको विषयमा पनि सरकारसँग प्रश्न गरेका छन्। अदालतले रोक्दारोक्दै घरबार भएका मानिसलाई उठिबास लगाइएको भन्दै उनले त्यसको समाधान खोइ भनेर प्रश्न गरे। सरकारले अध्यादेश ल्याए पनि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक किन नल्याएको भन्दै उनले प्रश्न उठाए। भदौ २३ र २४ गतेका घटनासम्बन्धी अध्यादेशबारे पनि प्रधानमन्त्रीले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ।
सरकारले आफ्ना नजिकका व्यक्ति वा पार्टीका सदस्यलाई संरक्षण गर्न नहुने थापाले बताए। केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि आफूहरूले नजिकका व्यक्तिका कारण कसैले उन्मुक्ति पाउन नहुने बताएको स्मरण गर्दै उनले अहिले प्रधानमन्त्री बालेन शाहसँग निकट वा रास्वपामा आबद्ध भएकै आधारमा कसैले छुट पाउन नहुने बताए।
‘सरकारलाई निजी कम्पनीजस्तो चलाउन थालियो भने हामी बोल्छौं। त्यसो हुन दिँदैनौं,’ उनले भने, ‘सरकार सरकारजस्तो भएर चल्नुपर्छ, प्रतिपक्ष प्रतिपक्षीजस्तो। हामीले त्यही भूमिका निर्वाह गरिरहेका छौं।’
त्यस्तै निवर्तमान सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाएका छन्। देउवाको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान रहेको उल्लेख गर्दै उनले देउवाले आफ्नो राजनीतिक हैसियत र मर्यादा कायम राख्नुपर्ने बताए।
‘देउवा दाइ निवर्तमान सभापति मात्रै होइन, प्रजातान्त्रिक लडाइँमा उहाँको ठूलो योगदान छ। उहाँसँग प्रतिस्पर्धा गरेर आएको हुँ। उहाँ अग्लो ठाउँमा बस्नुस् भन्ने मेरो चाहना हो,’ उनले भने।
जेनजी आन्दोलनका क्रममा देउवाको घर गगन थापाले जलाएको भन्ने भिडियो भाइरल भएको प्रसंग उल्लेख गर्दै उनले देउवाले समेत टाउको हल्लाएर त्यसलाई समर्थन गरेको देख्दा चिन्ता लागेको बताए।
विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न आफू तयार रहेको पनि थापाले बताए। महाधिवेशनमा छुटेका साथीहरूलाई सँगै लिएर अघि बढ्न छलफल गर्न तयार रहेको उनको भनाइ छ।
कांग्रेस आधिकारिकतासम्बन्धी मुद्दाको पुनरावलोकनका लागि निस्सा दिएको विषयमा केही नेता अलमलमा रहेको उल्लेख गर्दै उनले संसद् पुनःस्थापनासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको बताए। आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन आफ्नै नेतृत्वमा हुने दाबी गर्दै थापाले पार्टीका नेता तथा कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरे।
सभापति थापाले पूर्वसभापति देउवाले विभिन्न सभा र भेलामा बोलेका कुराप्रति कुनै टिप्पणी नगर्ने बताउँदै आफ्नो स्तर भने कायम राख्न सुझाव दिए । पाँच पटकसम्म प्रधानमन्त्री भएको र लामो समय पार्टीको नेतृत्व गरिसकेको व्यक्तिले चालेका कदम र विभिन्न स्थानमा गरिएको दाबी पार्टीको विधान विपरित रहेको बताउँदै थापाले आफ्नो स्तर अनुसारको काम गर्ने आग्रह गरे। आफूले यसअघिका सम्बोधनमा देउवालाई अन्य नेताहरुले झुक्याएको बताउने गरेपनि पछिल्ला गतिविधिले पूर्वसभापति देउवाले अन्य नेतालाई झुक्याएको लाग्न थालेको दाबी गरे।
सभापति देउवाले पूर्वसभापति देउवासहितका नेताहरुले तत्काल समानान्तर गतिविधि नरोके कारबाहीका चेतावनी पनि दिए ।
सम्बन्धित खबर
सरकारलाई गगनको चुनौती- मलाई पक्राउ गर्न खाली हात नआउनू, हतकडी लिएर आउनू
बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा जाहेरी
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
कालापानी-लिपुलेकबारे बालेनको मौनता, नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएपछि ‘बार्गेनिङ पावर’ कमजोर
बालेन भारत जाँदा तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा
राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयोः ओली
यो पनि पढौँ
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
दशौँ राष्ट्रिय खेलकुदमा प्रतिभा माविका २२ विद्यार्थीले गण्डकीको प्रतिनिधित्व गर्ने
पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न, उत्कृष्ट करदाता सम्मानित
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य