रञ्जन अधिकारी पोखरा, १२ पुस / साग गेम्सका आधा दर्जन खेल यहाँ हुने भएपछि पोखरा रंगशालाको स्तरोन्नतिको काम अघि बढेको छ । बुधबारबाट फुटबल मैदान प्यारापिट भत्काउन सुरु गरिएको छ ।
एक वर्षभित्रै अन्तर्राष्ट्रिय स्तरको फुटबल स्टेडियम बनाउन ग्लोबल टेण्डर आह्वान भईसकेको अवस्थामा ठेक्का प्राप्त कम्पनीले काम सुरु गर्नु अगावै पुरानो संरचना भत्काउन सुरु गरिएको हो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलका अनुसार भिम शर्माको अध्यक्षतामा गठित उपभोक्ता समिति मार्फत प्यारापिट भत्काउन सुरु गरिएको हो । काठमाण्डौको जेबिए निर्माण सेवाले एक महिनामै पुराना संरचना हटाईसक्नेछ । ३५ वर्ष अघि बनेको प्यारापिट भत्काउन ४४ लाखमा ठेक्का दिईएको हो । मैदानमा हाल साधारण र भीआइपी गरी दुइवटा प्यारापिट छन् । २०७२ सालको भूकम्पपछि रंगशालाका संरचना जिर्ण बनेकाले पनि भत्काउनु अत्यावश्यक भईसकेको थियो ।

सन् २०१९ को मार्च महिनामा नेपालमा आयोजना हुने १३ औ दक्षिण एशियाली खेलकुद (साग गेम्स) लाई मध्येनजर गर्दै रंगशालाको आवश्यक पूर्वाधार निर्माण कार्य अघि बढाईने पौडेलले बताए । साग गेम्सका ६ वटा खेलहरु महिला फुटबल, महिला तथा पुरुष भलिबल, ह्याण्डबल, आर्चरी, ट्रायथोलन, लन टेनिस यहाँ हुनेछन् ।
‘एक महिना अवधिमा पूराना संरचना हटाउने काम पनि सकिन्छ । टेण्डर प्रक्रिया पनि टुंगोमा पुग्नेछ ।’ – अध्यक्ष पौडेलले भने– ‘अब १० महिनामा पोखरामा अत्याधुनिक रंगशाला निर्माण हुनेछ ।’ करिब १ अर्ब ३३ करोडको लागतमा १० महिनामा निर्माण सम्पन्न हुने उनको ठोकुवा छ । ग्लोबल टेण्डरमा राष्ट्रिय खेलकुद परिषद्ले प्रारम्भिक चरणमा ६ वटा कम्पनी छनोट गरेको छ। चीनका चार, भारत र फ्रान्स एक–एक कम्पनीले चासो दिएका छन् । ईच्छुक ६ वटा कम्पनीको आशयपत्र आएपछि ठेक्का दिने कम्पनी छनोट हुने उनले जनाए । हालसम्म चिनियाँ कम्पनीले प्रस्तुत गरेको डिजाईन चित्तबुझ्दो रहेको पौडेलले बताए ।

एनडी इन्जिनियरिङ कन्सल्टेन्सीले अघिल्लो वर्ष नै नयाँ रंगशालाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेको हो। डीपीआरलाई आधार मानेर सरकारले चालू आर्थिक वर्षमा पहिलो किस्ता स्वरुप १७ करोड उपलब्ध गराईसकेको छ । चार सय १७ रोपनी जग्गामा रहेको रंगशालामा २० करोड लागतमा बहुउद्देश्यीय कभर्ड हल निर्माणको अन्तिम चरणमा छ ।
प्यारापिट विनाको आहारारा गोल्डकप
पोखरा रंगशालाको फुटबल मैदानमा हरेको प्यारापिट हटेपछि आसन्न आहा रारा गोल्डकपमा प्रत्यक्ष प्रभाव पर्नेछ । साधारण प्यारापिट तर्फ चार हजार र भिआईपीतर्फ १६ सय अट्ने प्यारापिट हटेपछि अब अन्य स्थानमा झैं उभिएरै फुटबल हेर्नुको विकल्प छैन ।

आयोजक सहारा क्लबले यो वर्ष अफठ्यारो भएपनि अर्को वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको रंगशालामा बसेर हेर्न पाईने भएकाले खासै चिन्ता मान्नुपर्ने विषय नभएको बताएको छ । क्लबका अध्यक्ष केशव थापाले प्रतियोगिता अगावै भत्काईएका संरचना रंगशालाबाट हटाईसक्ने अपेक्षा गरे । आहारारा गोल्डकपको १६ औं संस्करण यसपटक माघ ९ देखि २० गतेसम्म हुनेछ ।
‘पोखरा रंगशाला मुलुकमै गर्वलायकको अत्याधुनिक बन्दैछ । हामी खेलसँग सम्बन्धित संघसंस्था खुशी मात्र होईन, सहयोग गर्नुपर्छ ।’ थापाले भने– ‘काम द्रुत गतिमा होस्, प्रतियोगिता गर्ने बेलासम्म प्यारापिट नभएपनि वरपरका भत्काईएको संरचना हटाईदिनुस् भन्ने मात्रै हाम्रो अनुरोध हो ।’ उनले प्यारापिट नभएपछि कृत्रिम रुपमा अस्थायी बनाउने सोच समेत रहेको बताउँदै समयाभाव भए यसपटक दुःखकष्ट व्यहोरेर नै प्रतियोगितालाई माया गरिदिन पोखरेलीमाग अनुरोध समेत गरे ।
तस्विर: केशव पाठक
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ