ऋणमा डुब्यो एन्फा कास्की, सक्षम नेतृत्व नभए कास्कीको फुटबल सकियो, कसले के भने खेल पत्रकारको कार्यक्रममा ?

ऋणमा डुब्यो एन्फा कास्की, सक्षम नेतृत्व नभए कास्कीको फुटबल सकियो, कसले के भने खेल पत्रकारको कार्यक्रममा ?

IMG_7220

गण्डक न्युज पोखरा, २८ पुस / ऋणले चुर्लुम्म डुबेर निस्क्रिय हालतमा रहेको कास्की जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन अब सक्षम नेतृत्वको विकल्प नभएकोमा सरोकारवालाले जोड दिएका छन् ।

नियमित गतिविधि गर्न नसकेको, मुलुककै प्रतिष्ठित पोखरा कप फुटबल प्रतियोगिता निरन्तरता दिन नसकेको, ऋणका कारण बदनाम हुन पुगेको संस्थालाई पुरानै अवस्थामा फर्काउन ढिलाई गरे कास्कीको फुटबल खेलको छाता संस्था नै नरहने चिन्ता व्यक्त गरियो ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले शुक्रबार ‘कास्कीको फुटबल विकासमा हाम्रो भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरी एन्फा कास्कीका पदाधिकारीदेखि पूर्व अध्यक्ष, क्षेत्र, जिल्लाका खेल सम्बन्धित व्यक्तित्व, आबद्ध क्लबका प्रतिनिधिलाई उपस्थित गराई समस्या समाधानार्थ पहल गरेको हो ।

एन्फा कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका संघका क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङले आफ्नो नेतृत्वको टीमले ठूलो परिश्रमका साथ संघलाई निकै माथि ल्याएको स्मरण गर्दै अहिले संघ नै नाममात्रको रहँदा चिन्तित बनाएको उल्लेख गरे । ‘८ लाखको अक्षयकोष स्थापना गरियो । खेलाडी, खेल पत्रकार सम्मानदेखि पोखरा कप जस्ता प्रतियोगिता आयोजना हुन्थ्यो ।’ गुरुङले भने– ‘अहिले रुकुम रोल्पातिर फुटबल प्रतियोगिताहरु हुन्छन्, कास्की जस्तो संघ कहाँ पुग्यो ? आर्थिक पारदर्शिता खै ? ऋणमा संघ कसरी डुब्यो ?’

उनले खेल पत्रकारहरुले पनि समयमै यस्ता अवस्थामा खबरदारी गर्न आवश्यक रहेको भन्दै कास्कीको फुटबलको उन्नयनमा आफू सधैं लागिपर्ने बचनबद्धता प्रकट गरे । उनले अबको नेतृत्व राम्रो नभए नाम मात्र संघको नाम मात्र अध्यक्ष हुने भन्दै फुटबलजस्तो खेल हाँक्ने व्यक्ति एकल रुपमा यस्तै तरिकाले अघि बढ्छु भन्ने दिवास्वप्न नदेख्न चेतावनी समेत दिए । उनले मत प्रकट गर्ने क्लबका प्रतिनिधिले यसबारे सोचेर राम्रो नेतृत्व चयन गर्न सुझाव दिए । कास्कीमा २४ क्लब एन्फा कास्की अन्तर्गत भएपनि ६ वटाले लिग नखेलेका कारण १८ क्लबसँग मताधिकार रहेको छ ।

एन्फा कास्कीका अध्यक्ष धरम लामिछानेको अनुपस्थितिमा संघको प्रतिनिधित्व गर्दै सहभागी उपाध्यक्ष मिलन गुरुङले निर्वाचित पदाधिकारीहरुले समस्यादेखि डराएर भागेपनि आफूले यहाँसम्म संघलाई ल्याएको जिकिर गर्दै ऋण मुक्त बनाएर अधिवेशन गर्ने प्रतिबद्धता जनाए ।

‘संस्थामा पद खान तछाँडमछाड गर्ने अनि जब घाटा हुन्छ, ऋण लाग्छ राजिनामा दिएर भाग्ने ? ’ गुरुङले भने – ‘म भाग्ने भएको भए अहिले म आउँथिन । जिम्मेवार व्यक्ति हुँ । ऋण छ, तिर्छु । व्यक्तिगत भए पनि तिर्छु । तर आगामी नेतृत्वलाई यो ऋणको भार बोकाउन हुन्न ।’ २०७० सालको अधिवेशनमा निर्विरोध अध्यक्ष भएका गोपीबहादुर भट्टराई, निर्वाचित महत्वपूर्ण पदाधिकारीहरु महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष शुक गुरुङले राजिनामा दिएपछि एन्फा कास्कीले विशेष अधिवेशन पनि नगरेका कारण संघ यो हालतमा पुगेको हो ।

एन्फा कास्कीको पदाधिकारीहरु असफल भएको सन्दर्भमा तितो आशयहरु प्रकट भएपछि त्यसको स्पष्टीकरण दिँदै गुरुङले पछिल्लो समय चारपाँच लाख ऋण लागेको भएपनि बाहिर आएजस्तो नभएको दाबी गरे ।

उनले संस्थामा हालकै पदाधिकारीबाट सहयोग नभएको, अडिट तयार भएर समेत पास हुन नसकेको, वास्तै नगर्ने परिपाटीले संस्था यो अवस्थामा आईपुगेको जनाउँदै माघ २ गते नै अधिवेशन हुने र आफू अध्यक्षमा उठ्ने औपचारिक घोषणा समेत गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एन्फाको विधानका कारण आफूहरुले हस्तक्षेप गर्न नमिल्ने भएकाले एन्फा, कास्कीको यो हालत टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । उनले अब पोखरामा मुलुककै उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएकाले यस रंगशालाको व्यवस्थापन गर्न सक्ने, प्राविधिक ज्ञान भएको सबल नेतृत्व आवश्यक रहेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङले एन्फा कास्कीले अडिट रिपोर्ट, सम्पूर्ण आर्थिक कारोबार पारदर्शी हुने किसिमको कागजात नबुझाई गरेको अधिवेशनलाई मान्यता नदिने र रंगशाला समेत प्रयोग गर्न नदिने चेतावनी दिए । उनले यस्तो चेतावनी दिईरहँदा फुटबल र बक्सिङ यी दुई खेलका सन्दर्भमा भने राखेपले सिधा हस्तक्षेप गर्न नमिल्ने विधान छ । गुरुङले कास्कीमा ८५ वटा खेल संस्था दर्ता भएपनि २० वटा जति सक्रिय रहेको जनाए । केन्द्रिय प्रतिनिधि चुन्न र यहाँ अध्यक्ष बन्न मात्र चुनाव हुने नत्र खेल गतिविधि केहि नहुने उनको गुनासो छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अनिल गुरुङले सन्यास लिएपछि अब नेपाली फुटबल हाँक्ने पोखराको को त ? प्रश्न खडा भएको भन्दै फुटबल विकासमा अब सबै एक भएर अघि नबढ्ने हो भने कास्की पछि पर्ने बताए । उनले रंगशाला अन्तर्राष्ट्रिय स्तरको हुने त। खेलाडी चाहिँ कसरी उत्पादन गर्ने ? मुख्य सवाल यही रहेको नहउल्लेख गरे । खेल पर्यटनको राजधानी भनिरहँदा मुख्य खेल सम्बन्धित संघसंस्थाहरु यस्तो हालतमा हुनु विडम्वना भएको उनको भनाई छ ।

पूर्व राष्ट्रिय प्रशिक्षक कृष्ण थापा समेत सहभागी कार्यक्रममा सल्लाहकारहरु टीका कार्की, विक्रम थकाली, मदन केसी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, क्लबहरुका तर्फबाट बगर भाईखलकका दिलबहादुर गुरुङ, आदर्श क्लब भण्डारढिकका लक्ष्मीनारायण भट्टराई, ड्यामसाईड क्लबका पदमबहादुर ढकाल, शितलदेवी क्लबका सुरज श्रेष्ठ, भ्याली स्पोर्टस् क्लबका विश्व तण्डुकार, पूर्व सदस्य तिलकबहादुर अधिकारी लगायतले एन्फा कास्कीलाई ऋणमुक्त गराई पुनः चलायमान संस्था बनाउन आफूहरु योगदान गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका मञ्चका अध्यक्ष केशव पाठकले कास्की जस्तो जिल्लामा फुटबल संघको समस्यालाई समाधान गर्ने हेतु कार्यक्रम आयोजना गरिएको बताए । उपाध्यक्ष दिननाथ बरालले स्वागत तथा सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds