सुदुरपश्चिमले बदला लिँदा आयोजक सहारा बाहिरियो, आजको खेल धरान Vs सिक्किम

सुदुरपश्चिमले बदला लिँदा आयोजक सहारा बाहिरियो, आजको खेल धरान Vs सिक्किम

Sudurpaschim

रञ्जन अधिकारी पोखरा, ९ माघ / आयोजक सहारा क्लबको १६ औं आहा रारा गोल्डकपको यात्रामा पहिलो खेलबाटै विराम लागेको छ । पाहुना टोली सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबले गत वर्ष व्यहोरेको हारको बदला लिँदा घरेलु टोली उद्घाटन खेलबाटै बाहिरिएको हो ।

पोखरा रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब सुदूरपश्चिमाञ्चल ११ स्पोर्टिङ क्लबसँग ३—० गोलान्तरले पराजित भयो । एकतर्फी तर्फी तीन गोल गर्ने क्रममा सुदुरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालको योगदान रह्यो । १५ औं संस्करणको उद्घाटन खेलमै सुदुरपश्चिमलाई ४—० गोलले हराउँदै विजयी यात्रा सुरु गरेको सहारा उपविजेता बनेको थियो ।

सहाराको टीम

निकै प्रतिष्पर्धात्मक खेलमा २५ औं मिनेटमा सुदुपश्चिमले अग्रता लिन सफल भएको थियो । २५ औं मिनेटमा जर्सी नं. ९ का धनबहादुर थापाले गोल गरे । पहिलो हाफमा एक गोलले अग्रता लिएको सुदुरपश्चिमका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका मनिराम चौधरीले ७८ औं मिनेटमा अग्रता दोब्बर पारे । दोस्रो हाफमा थपिएको तीन मिनेटको ईन्जुरी समयको अन्तिम मिनेटमा राकेश हमालले गोल गरेपछि ३—० गोलको नतिजाका साथ सुदुरपश्चिम क्वार्टरफाईनल पुगेको हो ।

विजेता टीमका प्रशिक्षक सुरेश हमालले खेलाडीहरुले थकानका वावजुद पनि राम्रो खेलेको बताए । दाङमा भएको प्रतियोगितामा सहभागिता जनाएर सोमबार दिउँसो मात्रै पोखरा टेकेको टोली, दुई खेलाडी घाईते भएको बाबजुत पनि पाएको अवसर सदुपयोग गर्दा विजयी बनेको उनले बताए । सेट टीम नै रहेको भन्दै उनले दुई खेलाडी थपिएपछि आगामी खेल राम्रो हुने समेत जानकारी दिए ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले यसपटक सबै लोकल खेलाडी भएका कारण पनि पहिलो खेलमै हार व्यहोर्नुपरेको प्रतिक्रिया दिए । खेलाडीहरु उत्कृष्ट नहुँदा प्रतिष्पर्धा गर्न नसेको उनको भनाई छ ।

सुदूरपश्चिम स्पोर्टिङ क्लबको यो दोस्रो सहभागिता हो । १३ औं संस्करणमा सुदुरपश्चिमको टीम सेमिफाईनलमा पुगेपनि त्यो सुदुरपश्चिम फुटबल क्लब, कैलाली टीम थियो । क्याराभान सहितका १६ संस्करणमा तीन पटकमात्र सहारा उद्घाटन खेलमा पराजित बनेको छ । १३ औं संस्करणमा नवजनजागृतिसँग उद्घाटन खेलमा टाईब्रेकरमा पराजित भएको थियो । चौथोमा सहारा रातो एन्फा यू १७ संग टाईब्रेकरमै हारेको थियो । १२ औं संस्करणको विजेता सहारा ११ र १५ औं संस्करणमा फाईनल पुगेपनि अहिलेसम्म उपाधि विमुख छ ।

विजेता सुदुरपश्चिमसँग क्वार्टरफाईनलमा भिड्ने टीमको टुंगो मंगलबार बेलुकीसम्म लागिसकेको छैन । आयोजकले प्रिक्वार्टरका चार खेलको मात्र टाईसिट सार्वजनिक गरेको छ । बुुधबार भारतको युनाइटेड सिक्किम फुटवल क्लवबिरुद्ध धरान फुटवल क्लव, माघ ११ गते विहीबार विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबबिरुद्ध संकटा क्लव र माघ १२ गते अर्को विभागीय टीमम नेपाल पुलिस क्लव बिरुद्ध रमपम झापा ११ प्रतिष्पर्धामा उत्रिनेछ ।

यसअघि, प्रतियोगिताको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरे । उनले अनवरत १६ वर्षसम्म फुटबल खेलको महोत्सव आयोजना गरेर देश विदेशमा पोखरालाई चिनाउँदै फुटबल खेलको विकासमा योगदान पु¥याएकोमा क्लबप्रति आभार व्यक्त गरे । क्लबका अध्यक्ष केशबबहादुर थापाले यो महोत्सवलाई माया गरिदिन सबै कस्केलीलाई आग्रह गरे ।

आजको खेल

धरान फुटबल क्लब Vs युनाइटेड सिक्किम फुटबल क्लब, भारत

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds