अग्रता गुमाउँदा आर्मी धरानसँग टाइब्रेकरमा स्तब्ध, आजको खेल थ्रीस्टार Vs एपीएफ

अग्रता गुमाउँदा आर्मी धरानसँग टाइब्रेकरमा स्तब्ध, आजको खेल थ्रीस्टार Vs एपीएफ

Dharan

रञ्जन अधिकारी पोखरा, १४ माघ / अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब १६ औं आहा रारा गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको आर्मी तुलनात्मक रुपमा सहज आँकलन गरिएको धरान फुटबल क्लबसँग टाईब्रेकरमा ५–४ गोलले स्तब्ध बनेको हो ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा कप्तानीको जिम्मेवारी सम्हालेका आर्मीका जर्ज प्रिन्स कार्कीको पेनाल्टी क्रसबारमा लागेर विफल बनेपछि आर्मीले ईटहरी कपकै नियति ब्यहोर्न बाध्य बन्यो । आर्मी चार दिन अघि सम्पन्न खेलमा थ्रीस्टारसँग ५–३ गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित भएको थियो । अतिरिक्त समयमा भरत खवास मैदान बाहिरिएपछि कार्कीले टीमको कप्तानी सम्हालेका थिए ।

धरानका कप्तान विष्णु सुनार, निशान लिम्बु, बुद्धिमान राई, रोमन लिम्बु र सुरज विकले गोल गरे । आर्मीका नवयुग श्रेष्ठ, दीपक गुरुङ, दीप लामा र विवेक बस्नेतले गोल गरे । निर्धारित ९० मिनेटमा दुवै तर्फबाट १–१ गोलको बराबरी भएपछि २० मिनेट अतिरिक्त समय थपिएको थियो । थप गोल हुन नसकेपछि हारजितको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको हो । विजेता धरानले माघ १६ गते हुने नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

खेलमा आर्मीले १८ औं मिनेटमा भरत खवासको गोलमा अग्रता लियो । एरिक विष्टको कर्नर प्रहारमा विकास तामाङले डि–बक्स एरियामा मिलाइदिएको पासमा भरतले गोल गरे । धरानले ६३ औं मिनेटमा मात्र खेल बराबरीमा ल्याउन सक्यो । निशान लिम्बुले पेनाल्टी एरियामा हुलमुलमा भेटेको बललाई सेकेण्ड बार च्याप्दै जाली चुमाए । गोल खानुअघि सम्हालिएर खेलेको धरान एक गोलले पछि परेपछि भने आक्रामक रुपमा प्रस्तुत भयो । तर बराबरी पछि भने रक्षात्मक बन्न बाध्य भयो ।

खेलमा आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर गुमायो । ८८ औं मिनेटमा नवयुग श्रेष्ठले हेडर मार्फत बललाई जाली चुमाएपनि रेफ्री सुदीश पाण्डेले अफसाइड रहेको भन्दै मान्यता दिएनन् । अतिरिक्त समयको दोस्रो मिनेटमै नवयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्कियो । युवा खेलाडीले भरिएको धरानले पनि केही राम्रा गोल गर्ने अवसर गुमाउँदा निर्धारित समयभित्रै जित निकाल्न सकेन । खेलको १५ औं मिनेटमै धरानले अवसर पाएको थियो । दिपेश मगर चुके ।

धरानका म्यानेजर अशोक राईले अघिल्लो खेल भन्दा सुधारिएर खेल्दा जित निस्केको प्रतिक्रिया दिए । उनले बलियो आर्मीसँग रक्षात्मक खेल्ने रणनीति सफल भएको बताए । आगामी खेल मनाङसँग नै खेल्न आफू ईच्छुक रहेको उनको प्रतिक्रिया थियो ।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नविन न्यौपानेले खेलाडीले विपक्षीलाई कम आँक्दा र सहयोगीभावमा नखेल्दा पराजित हुन पुगेको प्रतिक्रिया दिए । उनले खेलाडीहरु सेलफिस तरिकाले खेल्दा आर्मीको पास गेम हुन नसकेको आरोप लगाए । १ गोलको अग्रता लिएपछि खेलाडीले सहजै जितिन्छ भनेर ‘इजी’ सोच्दा हार्नुपरेको उनको भनाई थियो । पहिलो रोजाइको गोलकिपर विकेश कुथु, जितेन्द्र कार्की लगायतका खेलाडी घाइते भएकाले पनि सोचेजस्तो प्रदर्शन गर्न नसकेको उनले बताए ।

आइतबारको खेलमा धरानका लागि बराबरी गोल गर्ने निशान लिम्वु म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ । बाइ पाएर सिधै क्वार्टरफाइनल खेल्न लागेको थ्रीस्टारको पोखरामा यो एघारौं पटकको उपस्थिति हो । गत वर्ष एन्फासँगको टकरावका कारण कुनै पनि फुटबल नखेलेको थ्रीस्टार क्लब १४ औं संस्करणमा पहिलो खेलमै आर्मीसँग १–० गोल अन्तरले पराजय व्यहोर्दै बाहिरिएको थियो । चार पटकको विजेता थ्रीस्टार १५ औं सँगै दोस्रो, चौथो, आठौं र १२ औं संस्करणमा सहभागी भएन । पाँचौं, नवौं, ११ औं र १३ औं संस्करणमा थ्रीस्टारले उपाधि चुमेको थियो ।

सशस्त्र प्रहरी बल को एपिएफ क्लवले पहिलो खेलमा सिएमजी क्लब संकटालाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार तीन वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । छैटौं संस्करणको फाइनल खेलेको एपिएफ त्यसको अघिल्लो वर्ष सेमिफाईनल यात्रा तय गरेको थियो ।

आजको खेल

थ्रीस्टार क्लब Vs सशस्त्रको एपीएफ

Pic. Goalnepal.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ