थ्रीस्टार सेमिफाइनलमा, एपीएफ टाइब्रेकरमा चुक्यो, आजको खेल मनाङ मस्र्याङ्दी Vs पुलिस

थ्रीस्टार सेमिफाइनलमा, एपीएफ टाइब्रेकरमा चुक्यो, आजको खेल मनाङ मस्र्याङ्दी Vs पुलिस

Three Star

रञ्जन अधिकारी पोखरा, १५ माघ / दुई दिन अघि मात्रै इटहरी गोल्डकप जितेको थ्रीस्टारले पोखरा आएर सुखद सुरुवात गरेको छ । यद्यपी, उसलाई सशस्त्रको एपीएफ विरुद्ध सहज जित निकाल्न भने मुस्किल प¥यो । १६ औं आहा रारा गोल्डकपमा सिधै क्वार्टरफाईनल खेलेको थ्रीस्टारले एपीएफलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । इटहरी कपमा समेत थ्रीस्टारले सेमिफाईनलमा आर्मीलाई पेनाल्टीमै हराउँदै फाइनलमा मनाङसँग खेलेको थियो ।

चार पटकको विजेता थ्रीस्टारले फाइनल प्रवेशका लागि बिहीबार उत्तर बरिन्धरा क्लब बंगलादेशसँग पहिलो सेमिफाइनलमा माघ १७ गते प्रतिष्पर्धा गर्नेछ । पोखरा रंगशालामा निर्धारित ९० मिनेट र थपिएको २० मिनेटको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टी टाइब्रेकरतर्फ धकेलिएको थियो ।

पेनाल्टी सुटआउटमा थ्रीस्टारका पाँचै जनाले गोल गरे भने एपीएफका राजेन्द्र रावल चुके । दोस्रो क्रममा पेनाल्टी हानेका उनलाई विपक्षी गोलकिपर एलन न्यौपानेले विफल पारे । न्यौपाने खेलमा म्यान अफ द म्याच समेत बने । थ्रीस्टारका तर्फबाट रञ्जित धिमाल, निराजन खड्का, सुनिल बल, विक्रम लामा र विजय धिमालले गोल गरे । एपीएफका अञ्जन बिष्ट, नविन लामा र रञ्जन बिष्टले जाली चुमाए ।

थ्रीस्टार वर्क परमिट नभएपछि ३ विदेशी खेलाडी बिना नै मैदानमा उत्रिएको थियो । भरपर्दा स्ट्राइकर बिमल घर्ती मगर समेत भारतको मोहन बगानसँग आबद्ध भएपछि इटहरी गोल्डकप खेलेर सिधै कलकत्ता उडिसकेका छन् । थ्रीस्टारले गोल गर्न पाएको प्रशस्त अवसर सदुपयोग गर्न सकेन भने एपीएफले पनि उत्तिकै अवसर खेर फाल्यो ।

पोष्ट म्याच कन्फरेन्समा बोल्दै थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले वर्क परमिट नभएपछि ३ विदेशी खेलाडीलाई खेलाउन नपाउँदा खेल कठिन भएको बताए । थ्रीस्टारले आफ्नो खेल प्रदर्शन गर्न नसकेको स्विकार्दै उनले बिमल नभएपनि बाँकी विदेशी खेलाडी गुमाउनु टीमका लागि भारी भएको बताए । इटहरीमा फाइनल लगत्तैको यात्रापछिको थकान पनि खेल्न नसक्नुको कारण भएको केसीको भनाई थियो । बंगलादेशी टीम विरुद्ध अर्को खेलमा वर्क पर्मिट नविकरण गरी विदेशी खेलाडीलाई मैदानमा उतार्ने उनको भनाई छ । एघारौं पटक उपस्थित थ्रीस्टार पाँचौं, नवौं, ११ औं र १३ औं संस्करणको विजेता टीम हो ।

एपीएफका प्रशिक्षक रत्नकाजी महर्जनले पहिलो हाफमा खेलाडीहरुबीच तालमेल नमिलेको र दोश्रो हाफमा थ्रीस्टार आक्रामक बन्दा आफूहरु दवाबमा पर्दा उत्कृष्ट खेल्न नसकेको बताए । आहारारा गोल्डकपमा यो सहित १२ औं पटक सहभागी एपीएफ लगातार तीन वर्ष पहिलो खेलबाटै बाहिरिएको थियो । यसपटक दोस्रो चरण पुगेपनि टाइब्रेकरमा थ्रीस्टारसँग स्तब्ध बन्दा अघिल्लो चरणको यात्रा बन्द भयो । छैटौं संस्करणको फाइनल खेलेको एपिएफको त्यो नै उच्चतम सफलता हो ।

मंगलबार अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच खेल हुनेछ । साविक विजेता मनाङले पुलिससँगै सर्वाधिक पाँच पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । क्याराभान सहित आहा रारा गोल्डकपमा मनाङले सबैभन्दा बढी १० पटक फाइनल खेलेको छ । क्याराभान सहित १७ वर्ष पुग्दा छैटौं र सातौं बाहेक यो सहित १४ पटक सहभागिता जनाएको मनाङ यसअघि एकपटक मात्र क्वार्टरफाइनल पुग्न सकेन । प्रायः सिधै बाइ पाएर उसले क्वार्टरफाइनलबाटै खेल्दै आएको छ ।

नेपाल पुलिसले क्याराभान सहित पाँच पटक उपाधि उचालेको छ भने तीन पटक उपविजेतामा चित्त बुझाएको छ । पुलिसले २०५८ मा क्याराभान पश्चात् २०५९ मा पहिलो संस्करण जितेको थियो । त्यसपछि लगातार २०६०, ६१ र ६२ मा फाइनल हारेका ेपुलिस २०६३ मापोखरा आएन र त्यसपछि तीन पटक लगातार २०६४, ६५ र ६६ मा उपाधि जित्न सफल भयो । १० औं र ११ औं मा पहिलो खेलमै आउट पुुलिस यसअघि १४ औं र १५ औं संस्करणमा पनि लगातार पहिलो खेलबाटै बाहिरिएको थियो । यस पटक भने पहिलो खेलमा झापा ११ लाई १–० ले हराउँदै मनाङ मस्र्याङ्दीसँगको भेट पक्का गरेको हो ।

आजको खेल

मनाङ मस्र्याङ्दी क्लब Vs नेपाल पुलिस क्लब

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ