आहा रारा गोल्डकप: पेनाल्टी सहारामा पुलिस फाइनलमा, धरान बाहिरियो

आहा रारा गोल्डकप: पेनाल्टी सहारामा पुलिस फाइनलमा, धरान बाहिरियो

game

रञ्जन अधिकारी पोखरा, १८ माघ / पोखराको मैदानमा सर्वाधिक सफल टोली मध्ये एक नेपाल पुलिस क्लब ७ वर्ष पछि आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । धरान विरुद्ध १–० गोलले कठिन जीत हात पार्दै पुलिस उपाधि नजिक पुगेको हो ।

२०६६ मा आठौं संस्करणको उपाधि जितेपछि पुलिस फाइनल पुग्न सकेको छैन । १६ औं संस्करणको जारी प्रतियोगिताको उपाधिका लागि थ्रीस्टार र नेपाल पुलिस क्लब अब शनिबार खेल्नेछन् । बंगलादेशको उत्तर बरिन्धरा क्लबलाई ५–० ले हराउँदै थ्रीस्टार फाइनलमा पुगिसकेको छ ।

बिहीबार भएको प्रतिष्पर्धात्मक खेलमा पेनाल्टी मौकामा पुलिसले धरानलाई पराजित गरेको हो । पुलिसका सुमन लामाले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । उनले थ्रीस्टारका विश्वास श्रेष्ठसँगै गोलसंख्या ३ पु¥याएर हाई स्कोररको प्रतिष्पर्धामा छन् । फाइनलमा स्थान बनाउन पुलिसका लागि त्यही पेनाल्टी गोल निर्णायक बन्दा धरान दोस्रो पटक पनि सेमिफाईनल पार गर्न सकेन ।

२२ औं मिनेटमा खेल चलिरहँदा पुलिसका रवि पासवानलाई पेनाल्टी एरियामा लडाएपछि रेफ्री सुदीशकुमार पाण्डेले धरानका डिफेन्डर रोमन लिम्बुलाई पहेलो कार्ड दिए भने पुलिसलाई पेनाल्टीको अवसर दिए । रेफ्रीको निर्णयमा धरानले विरोध जनाएको थियो । आफ्नो अपिल सुनुवाई नभएपछि धरानले मैदान छाड्ने चेतावनी दिँदै केहिबेर खेल रोकियो । तर, धरानका प्रशिक्षक अर्जुन राईले मैदान नछाडि खेल खेल्न निर्देशन दिएपछि पुनः खेल सञ्चालन भएको थियो । खेल सकिएपछि धरानका कप्तान विष्णु सुनार रेफ्रीमाथि जाइलाग्न खोजेका थिए ।

खेल हारेपनि धरानले उत्कृष्ट प्रदर्शन गर्दै दर्शकको मन जित्यो । धरानले आधा दर्जन बढी गोल गर्ने पनि जुटाएको थियो तर, सदुपयोग गर्न नसक्दा फाइनल पुगेर इतिहास रच्ने मौका गुमायो ।

बिजयी टिम नेपाल पुलिस क्लवका प्रशिक्षक अनन्तराज थापाले संघर्षपूर्ण भएपनि जित निस्केकोमा खुशी व्यक्त गरे । खेल जित्नु नै मुख्य उद्देश्य भएको बताउँदै आफ्नो टास्कमा सफल भएको प्रतिक्रिया दिए । उनले पुलिस अब विस्तारै आफ्नो लयमा आएको समेत बताए ।

धरान फुटवल क्लव सुनसरीका म्यानेजर अशोक राईले रेफ्रीका गलत निर्णयका कारण पराजित हुनुपरेको गुनासो गरे । उनले राम्रो खेल्दाखेल्दै पनि रेफ्रीले दिनै नपर्ने सामान्य ट्याकलमा पेनाल्टी दिँदा सो नै टर्निङ प्वाईन्ट बन्नपुगेको बताए । यद्यपी आज खेलाडीको प्रदर्शनप्रति भने सन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ