आहा रारा उपाधि कसले जित्ला ? पुलिस कि थ्रीस्टार?

आहा रारा उपाधि कसले जित्ला ? पुलिस कि थ्रीस्टार?

preview

रञ्जन अधिकारी  पोखरा, २० माघ / सत्र वर्ष अघिदेखि सहारा क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनलमा पहिलो पटक नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब शनिबार खेल्दैछन् । पोखरा रंगशालामा अहिले दिउँसो उपाधिका लागि यी दुई टीम आमनेसामने हुँदैछन् ।

पुलिस क्याराभान गोल्डकपसहित गोल्डकपको फाइनलमा नवौं पटक पुगेको हो भने पाँच पटक उपाधि जितिसकेको छ । अर्को टोली मनाङ मस्र्याङ्दीले पनि पाँचै पटक उपाधि उचालेको छ । २०५८ मा क्याराभान सहित पुलिसले पहिलो, छैटौं, सातौं र आठौं संस्करणमा उपाधि जितेको हो । पुलिस २०६० देखि ६३ सम्म फाइनल पुगेर पनि लगातार पराजित भयो । २०६३ मा मात्र पुलिस आएन । त्यसपछि लगातार तीन वर्ष जितेको पुलिसको अन्तिम उपाधि नै २०६६ को आर्ठौं संस्करणको हो । सात वर्ष पछि पुलिसले उपाधिका लागि खेल्दैछ ।

पाचौं पटक फाइनलमा पुगेको थ्रीस्टार यसअघि चार पटक फाइनल खेल्दा उपाधि नगुमाएको एक मात्र टीम हो । पाँचौ, नवौं, एघारौं र तेह्रौं संस्करणको उपाधि विजेता थ्रीस्टारको यो ११ औं सहभागिता हो । गत वर्ष फुटबल नै नखेलेको थ्रीस्टार १५ औं संस्करण सँगै बाह्रौं, आठौं, चौथौं, दोस्रो र क्याराभानमा पोखरा आएन ।

यसअघिका पाँच भेटमा पुलिसले तीन पटक र थ्रीस्टारले दुई पटक नतिजा आफ्नो पक्षमा पारेको छ । पछिल्लो पटक १३ औं संस्करणमा सेमिफाईनलमा थ्रीस्टारले पुलिसलाई १–० गोलले हराएको थियो । नवौं संस्करणमा थ्रीस्टारले नै पुलिसलाई १–० गोलले पराजित गर्दा त्यसअघि सातौंमा क्वार्टरफाइनलमा थ्रीस्टार पुलिससँग २–० गोलले हारेको थियो । छैटौंमा पनि क्वार्टरफाईनलमै थ्रीस्टारलाई १–० ले हराएको पुलिसले पहिलो पटक तेस्रो संस्करणको क्वार्टरफाईनलमा २–१ ले हराएको थियो ।

जारी प्रतियोगितामा पुलिस प्रिक्वार्टरबाटै खेलेको हो भने थ्रीस्टार सिधै क्वार्टरफाइनल खेलेको हो । पुलिसले पहिलो खेलमा झापा ११ लाई १–०, क्वार्टरफाइनलमा साविक विजेता मनाङ मस्र्याङ्दीलाई ३–१ र सेमिफाइनलमा धरान एफसीलाई १–० गोलले पराजित ग¥यो । थ्रीस्टारले भने एपीएफलाई टाइब्रेकर र उत्तर बरिन्धरा, बंगलादेशलाई ५–० गोलले हराएको हो ।

गत हप्तामात्र मदन भण्डारी मेमोरियल ईटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार जितलाई निरन्तरता दिँदै लगातार दोश्रो उपाधि जित्ने दाउमा छ । यसमा प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा ढुक्क छन् । पोखरामा क्वार्टरफाइनल र सेमीफाइनलमा वर्क परमिट नभएका कारण विदेशी खेलाडी मैदान उतार्न नपाएको थ्रीस्टारले फाइनलमा भने गुमाउँदैन ।

प्रशिक्षक केसीका अनुसार अफ्रिकन खेलाडी पिटर सेगुन र अजेयी मार्टिनको वर्क परमिट आइसकेको छ र उनीहरु फाइनल खेलमा मैदान उत्रिनेछन् । केसीले शनिबार आफूहरु जित्नको लागि मैदानमा उत्रिने बताए । उनले भने – ‘प्रतिद्वन्द्वी टिमलाई हामी कमजोर आँक्दैनौं, तर उनीहरुले भन्दा हामी बढी मेहनत गरेर खेल्छौं र जित्छौं पनि ।’ यस्ता प्रतियोगिताको उपाधि मनोवल उच्च बनाउनका लागि हुने भएकाले जितका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

थ्रीस्टारका कप्तान विक्रम लामाले इटहरी गोल्डकप जितेपछि मनोवल उच्च भएकाले पोखरामा पनि उपाधि पनि जित्नेमा आशावादी रहेको बताए । उनले आफूहरुले खेलको लय समातिसकेको र जित्नैपर्छ भन्ने चाहना खेलाडीमा रहेकाले खेलमा शतप्रतिशत दिने बताए ।

पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीले लय समातिसकेकाले राम्रो टीम गेम देखाउने बताए । फाइनल खेल सँधै टफ हुने भन्दै त्यसमा खेलाडीले न्याय दिएर उपाधि दिलाउने विश्वास व्यक्त गरे । उनले भने – ‘१५, २० दिनको छोटो समयमै मेरा खेलाडीले लय समात्ने कोशिश गरिरहेका छन् । बलिया टिमलाई पनि पराजित गरेकाले मनोवल पनि उच्च छ, यो पोजिटिभ साइन हो ।’ थ्रीस्टारलाई नेपाली फुटवलको पावर हाउस भनेका उनले आफूहरु डराएर नभई जित्नेगरी खेल्ने बताए । उनले पहिले थ्रीस्टारबाट समेत खेलेको र थ्रीस्टार विरुद्ध खेलेको स्मरण गरे ।

पुलिसका कप्तान हेम तामाङले पछिल्ला खेलहरुमा बलिया टिम हराएकाले मनोवल उच्च बनेकाले त्यो फाइनल खेलका लागि सहयोगी हुने बताए । उनले प्रशिक्षककै निर्देशनअनुसार खेलेर उपाधि जित्ने दाबी गरे ।

थ्रीस्टारमा कप्तान लामासँगै नेपाली राष्ट्रिय टिमका वैकल्पिक गोलकिपर एलन न्यौपाने, इटहरी गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी अनन्त तामाङ, निराजन खड्का, विश्वास श्रेष्ठ लगायत खेलाडी छन् ।

युवा खेलाडीले भरिएको पुलिससँग राष्ट्रिय टिममा स्थान बनाउने सम्भावना बोकेको गोलकिपर शत्रुघन चौधरी छन् । कप्तान हेम तामाङ, सुमन लामा, रवि पासवान, अभिषेक रिजाल, निरकुमार राई, अजित भण्डारीलगायतका खेलाडी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ