गण्डक न्युज पोखरा, २१ माघ / पोखरा क्षेत्रमा स्थान मिलेमा आगामी वर्षदेखि नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद्ले अग्रसरता देखाएको छ । सदस्य सचिव केशवकुमार विष्टले न्युट्रल भेन्युका रुपमा नेपाल रहने र त्यसका लागि प्राकृतिक स्रोतसाधनले ध्यान खिच्न सक्ने पोखरा उत्तम स्थान भएको उल्लेख गरे ।
‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान पोखरामा बनाउने सोच छ । २० हजार बढी क्षमता भएको क्रिकेट स्टेडियम बनाउने हो तर जग्गाका लागि पहल भने यतैकाले गर्नुस् ।’ नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले पोखरामा आईतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने– ‘उपयुक्त जग्गा मिले आउँदो आर्थिक वर्षदेखि नै बजेट छुट्टाउँछु । खाली जग्गा खेलकुदका लागि क्याप्चर गर्न भनेर भन्दै आएको छु ।’
पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने भन्दै विष्टले पोखरासहित इटहरी र तुलसीपुरलाई स्पोर्टस् सिटी घोषणा गर्न अग्रसर रहेको बताए । पोखरामा साग गेम्सका कम्तिमा ६ खेल हुने कुरा दोहो¥याउँदै उनले भौतिक पूर्वाधार बनेन भनेर साग गेम्स नसर्ने प्रष्ट्याए । विष्टका अनुसार सागमा महिला फुटबल उद्घाटन तथा समापन पोखराको नयाँ रंगशालामा हुनेछ । महिला तथा पुरुष भलिबल नयाँ निर्माण गरिएको बहुउद्देश्यीय कभर्डहल, ट्राइथोलन बेगनासताल वा फेवातालमा हुनेछ । ब्याडमिण्टन, आर्चरी र ह्याण्डबल खेलाउने निर्णय भएको छ भने बक्सिङ र उसु पनि खेलाउन सकिने सम्भावना छ ।
‘५० लाख सम्मको काम जिल्लालाई नै दिन्छौं । १ करोडसम्मको काम क्षेत्रले हेर्छ । ठूलो बजेट मात्र हामी केन्द्रले हेर्छ । उपभोक्ता समितिले १ करोडसम्मको काम गर्न पाउने भएकाले पोखराको फुटबल रंगशाला निर्माणको लागि अहिले भत्काउने काम समिति मार्फत नै भईरहेको छ । अब फुटबल प्रतियोगिता सकियो, काम सुरु हुन्छ ।’ बिस्टले भने– ‘एक अर्ब भन्दा माथिको बजेटलाई ग्लोबल टेण्डर गर्नुपर्नेहुन्छ । यो सवा अर्बको योजना हो । निर्माण कार्यका लागि गरिएको टेण्डर आह्वानमा जम्मा एक कम्पनी मात्र क्राइटेरिया पुरा गरेर आयो । एउटा मात्र प्रतिष्पर्धा नहुने भएकाले रद्ध भयो । अर्को टेण्डर निकाल्नुपर्ने हुन्छ । अब १५ दिनका लागि टेण्डर आह्वान गरे पुग्छ । हामी तयारीमा छौं ।’
काम सुरु गरेको १० महिनामा नेपालकै सबैभन्दा ठूलो, उच्च प्रविधिको अन्तर्राष्ट्रिय स्तरको रंगशाला पोखरामा बन्ने उनले जनाए । पोखरामा इन्डोर गेम खेल्नका लागि ९ करोडको डोम निर्माण गर्ने उनले खुलाए । बिष्टले साना योजनाहरु सम्बन्धित संघले राखेपको सहयोगमा गरिरहेको भन्दै ठूला योजनाहरु केन्द्रले गर्ने बताए । स्टेडियम बाहिर ढुंगेसाँघु, लामाचौर, सहारा सहित चार ठाउँमा बजेट परिसकेको उनले जनाए । लनटेनिस कोर्ट निर्माणका लागि रु चार करोड ५० लाख विनियोजन भइसकेको तथा अन्य पूर्वाधार पनि निर्माण भइरहेको विष्टले बताए ।
हालै पोखरामा अन्तर्राष्ट्रिय स्तरको सेभेन ए साइड फुटबल आयोजना भएको बारे आफूलाई थाहा नभएको र यसबारे बुझ्ने उनको कथन छ । विवादका बीच सो प्रतियोगिता सम्पन्न भईसकेको छ । रष्ट्रिय स्तरसम्मका प्रतियोगिता सम्बन्धित संघले हेर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको लागि राखेपको स्विकृति लिनु, जानकारी गराउनु अनिवार्य रहेको उनले बताए ।
परिषद् यतिखेर खेल क्षेत्रमा विद्यमान आर्थिक अनियमितता र भ्रष्टाचार रोक्न लागिपरेको उनले बताए । पोखराबाट प्रतिनिधित्व गर्नेसदस्य फत्त बहादुर गुरुङ नक्कली खेलाडी बनाई विदेश पठाउने कार्यमा संलग्न भनिएको सम्बन्धमा छानविन भईरहेको बिष्टले बताए । ‘उहाँलाई अहिले निलम्बन गरिएको छ । मिडियामा यसबारे प्रसारण भईसकेपछि बुझ्दा उहाँबाट कमी कमजोरी देखियो तर पुष्टि भईसकेको छैन । पीडित भनिएका समेत उजुरी गर्न आएका छैनन् ।’ उनले भने – ‘नक्कली खेलाडी बनेर जान खोज्ने पनि दोषी होलान् नि । छानविन भईरहेको छ । कमीकमजोरी छ तर पुष्टि भईनसकेकाले निश्कासन, फुकुवा गरेका छैनौं ।’
अब फुटबल विकासका लागि विभिन्न ठाउँमा आयोजना हुने गोल्डकप प्रतियोगिताको पुरस्कार राशी वृद्धि हुने र यसमा राखेपले सघाउने उनको भनाई थियो । मञ्चका अध्यक्ष केशव पाठकले रंगशालामा खानेपानीका लागि १८ लाखको बजेट अहिले खर्च मात्र गरेको तर काम प्रभावकारी नहुँदा दुरुपयोग हुन पुगेको भन्दै ध्यानाकर्षण गराए । कार्यक्रमको सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।
तस्विरः सुदर्शन रञ्जित
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला