दि युनाइटेड गोल्डमार्ट पिसिसी क्रिकेट कप उपाधि आयोजकलाई, म्यान अफ द सिरिज प्रदीप रावत

दि युनाइटेड गोल्डमार्ट पिसिसी क्रिकेट कप उपाधि आयोजकलाई, म्यान अफ द सिरिज प्रदीप रावत

Winner

गण्डक न्युज पोखरा, २७ माघ / आयोजक पोखरा क्रिकेट क्लब (पिसिसी) ले दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तर क्लब क्रिकेट कप २०७४ को उपाधि जितेको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाईनलमा आयोजक टोलीले पोखराकै राइजिङ क्रिकेट एकेडेमीलाई ९९ रनको फराकिलो स्कोरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधिसँगै विजेता टीमले नगद ४० हजार तथा उपविजेता राइजिङ एकेडेमीले २० हजार नगद साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

टस जितेर पहिले ब्याटिङमा उत्रेको पिसीले म्यान अफ द म्याच समेत बनेका गोविन्द प्रधानको ५९ रन मद्धतमा पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा १८९ रनको योगफल तयार पारेको थियो । पिसिसीका लागि किशोर महतोले २५ बल ब्यहोर्दै अविजित ४६ रनको योगदान दिए । रिजन प्रजुले २० रन बनाए । राइजिङ क्रिकेट एकेडेमीका राजु तामाङले चार ओभरमा २१ रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेलले ३९ रन दिँदै २ विकेट झारे ।

१९० रनको लक्ष्य पछ्याएको राइजिङ क्रिकेट आयोजकसामु निरीह बन्यो । निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा ९० रनमै समेटिँदा उपविजेतामै सीमित बनेको हो । राइजिङका लागि दिपेश खत्रीको २७ रन नै हाइस्कोर रह्यो । मनोज कोइरालाले १९ रन जोड्दा राजु गुरुङ १३ रनमा नटआउट रहे । पिसिसीका दिपेश श्रेष्ठले चार ओभरमा जम्मा १३ रनमात्र दिएर २ विकेट लिए । ऋषिकेश शर्मा र चन्द्र गुरुङले पनि कम रन खर्चेर एक–एक विकेट लिए । ३८ बलमा ५९ रन जोड्ने गोविन्द प्रधान फाइनल म्यान अफ द म्याच बन्दै २५ सय २५ रुपैंया प्राप्त गरे ।

बमबहादुर कुँवरको प्रशिक्षण तथा अनिल गुरुङको कप्तानी रहेको आयोजक टोलीले पहिलो खेलमा खबरा क्रिकेट क्लब बेनीलाई १८२ रनले पराजित गरेको थियो भने सेमिफाइनलमा सांग्रिला क्रिकेट क्लबलाई ५५ रनले हराएको थियो । बौद्ध क्रिकेट क्लब म्याग्दीलाई ५६ रनले हराएको राइजिङ क्रिकेट एकेडेमीले सेमिफाइनलमा अरण्यज्योति क्रिकेट क्लबलाई ८ विकेटले सहजै पराजित गर्द उपाधिका लागि खेलेको हो । राइजिङका प्रशिक्षक सन्दिप शाही र कप्तान अमृत गुरुङ हुन् । बाग्लुङ र म्याग्दीबाट आएका तीन पाहुना टोली पहिलो चरणबाटै बाहिरिएका हुन् ।

प्रतियोगितामा म्यान अफ दि सेरिज पिसीसीका प्रदीप रावत बने । उनले सेभेन बी फोनजोनका तर्फबाट मोबाइल सहित ७५०० रुपैंया बराबरको क्रिकेट किट् प्राप्त गरे । विधागत रुपमा बेस्ट ब्याट्सम्यान पिसीसीका रिजन प्रजु, बेस्ट बलर सांग्रिला क्रिकेट क्लबका विपिन खत्री बन्दै क्रिकेट किट प्राप्त गरे । प्रजुले आफूले पाएको ब्याट सोहि अवसरमा आफूलाई मन परेका खेलाडी मुस्कानलाई प्रदान गरे । जुनियर टीम पोखरा क्रिकेट एकेडेमीका १० वर्षीय सोहिल कुँवर बेस्ट इमर्जिङ प्लेयर घोषित हुँदै ५ हजार ५० सहित पुरस्कृत भए । उनले खेलमा ५ रन समेत जोडेका थिए ।

विजेता तथा उत्कृष्ट खेलाडीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङ, नेपाल क्रिकेट संघ क्यानका पूर्व उपाध्यक्ष तथा कास्की संघका संस्थापक अध्यक्ष डा. वीरेन्द्रसिंह गुरुङ , क्यानका केन्द्रिय सदस्य ऋषिराम गौतम, मुख्य प्रायोजक दि युनाइटेड गोल्डमार्ट प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, नेपाल खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशव पाठक, बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा पोखरा वडा नं. ३ अध्यक्ष रविन्द्रबहादुर प्रजु, क्लबका अध्यक्ष निकेश श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

आठ टीम सहभागी प्रतियोगितामा १० वर्षदेखि ४० वर्ष उमेरसम्मका स्थानीय खेलाडीको सहभागिता थियो । यसमध्ये राष्ट्रिय यू–१६ तथा यू–१९ टोलीका सदस्य समेत थिए । राष्ट्रिय खेलाडीत्रय समिर सेन, किशोर महतो, दिपेश श्रेष्ठलाई आयोजकले सम्मान समेत गरेको थियो ।

प्रमुख अतिथि गुरुङले स्थानीय स्तरमा आयोजना गरिने यस्ता प्रतियोगिताले योग्य खेलाडी उत्पादन गरी राष्ट्रिय क्रिकेटमा योगदान पुग्ने बताए । उनले खेलक्षेत्रलाई हेर्ने नजर अभिभावक, विद्यालयको सकारात्मक हुनुपर्ने बताए । भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष समेत रहेका गुरुङले मञ्चकै सक्रियतामा रंगशाला कम्पाउण्ड भएर यसरी जग्गा संरक्षण भएको जनाए ।

क्लबका अध्यक्ष निकेश श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्रिकेट मैदान निर्माण समिति संयोजक समेत रहेका प्रा.डा. वीरेन्द्र सिंह गुरुङ, संघका केन्द्रिय सदस्य ऋषिराम गौतम, कास्की संघका उपाध्यक्ष विनित श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सदस्य कपिलदेव गौतमले गरेका थिए ।

‘दि’ युनाइटेड गोल्डमार्ट प्रालि मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा प्राविधिक सहयोगी जिल्ला क्रिकेट संघ कास्की, अनलाइन मिडिया पार्टनर गण्डकन्युज डटकम, हस्पिटल पार्टनरमा हिमालय पोलिक्लिनिक रहेका थिए ।

यस्तै प्रायोजकहरुमा तारापुञ्ज एजुकेशन एकेडेमी, अदिती ट्रेडर्स, मेट्रो फुटवयर गोल्डस्टार, ओम डेभलपमेन्ट बैंक, सेभेनबी फोन जोन, स्माइल डेन्टल केयर, न्यू दिपनिशान गिफ्ट एण्ड किचन, नेपाल राइनो, बाग्मती प्लाष्टिक, माउण्टेन भिल्ला, शाक्य आभुषण, होटल स्पोर्टस् नेपाल, मिडटाउन सिनेमाज, लिगल सपिंग सेन्टर, ओम हस्पिटल, मानस, प्रजु मेटल इन्डस्ट्रीज, पी.राज ट्रेड कन्सर्न, एक्स्ट्रा हिमगिरी साबुन, सिल्भर हिल सोनम चामल भकारी, हुलास खाद्यान, बाग्मती कुर्ची, क्याफे ब्ल्याक एण्ड ह्वाईट, स्टाटस, कुँवर एण्ड सन्स, इन्फोम्याटिक्स कलेज पोखरा लगायत रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ