पर्वतको उदाहरणीय अपाङ्ग जोडी – ‘सकेको काम गरौं, रुँदै नहिँडौं’

पर्वतको उदाहरणीय अपाङ्ग जोडी – ‘सकेको काम गरौं, रुँदै नहिँडौं’

rukmangat neupaane

पर्वत । पर्वतको दुर्गम गाउँ टकलाक पुग्ने हो भने रुक्मांगत र जुनुकुमारी न्यौपाने जोडीको चर्चा जोकोहीले पनि गर्छ । कारण के हो भने, अपांगता भएको यो जोडी कृषि कर्ममा अहोरात्र खटिएर अरूका लागि उत्प्रेरणाको स्रोत बनेकाे छ । दम्पत्तिले गाउँमा कृषि फर्म सञ्चालन गरेकाे छ । फर्ममा दिनसाँझ नभनी काम गर्दै उनीहरू साङ्गहरूका लागि पनि आदर्श बनेकाे छ ।

दुवै घुँडाभन्दा तल्लो भाग नभएका रुक्मांगत ह्विल चियरको सहायताले घरदेखि खेतबारीसम्म पुगेर काममा खट्छन् भने बायाँ हात नभएकी उनकी श्रीमती जुनुकुमारी आफ्ना श्रीमानलाई सघाइरहेकी देखिन्छिन् । ‘अपांगता भयो भनेर सकेको काम पनि नगरी रुँदै हिँड्नु राम्रो होइन,’ फर्ममा भेटिएका रुक्मागतले भने, ‘जीवन भनेको सुन्दर उपहार हो, खुशीले काममा डट्नुपर्छ । यो अझै सुन्दर हुन्छ ।’

न्यौपाने दम्पत्तिले दुई रोपनी जमिनमा संचालन गरेको कृषि फर्ममा हाल तीस हजार कफी, चार हजार कुरिलोका विरुवा, र विभिन्न मौसमी तथा बेमौसमी तरकारी खेती भइरहेको छ । चारवटा टनेलमा गोलभेंडा, एउटा टनेलमा च्याउ, विभिन्न प्रजातिका डाले घाँस र भूइँ घाँस पनि रोपेका रहेछन्, याे दम्पत्तीले । ‘सुरुमा तरकारी खेती गर्ने योजना गाउँमा सुनाउँदा सबैले हाँसोमजाकमा उडाए,’ जुनुकुमारीले एउटा हातले विरुवा गोडमेल गर्दै सुनाइन्, ‘अहिले त सबैले प्रंशसा गर्छन् । खुसी लाग्छ ।’

वि.सं. २०६८ बाट उनीहरूले वेमौसमी तरकारी खेतीमार्फत् व्यवसाय सुरु गरेका हुन् । तरकारी, कफी, च्याउखेती, कुरिलो र गड्यौँले मल बेचेर न्यौपाने दम्पत्तिले वर्षेनी पाँच लाख रुपैयाँ आम्दानी गर्ने गर्छन् । भरपर्दो पानीको स्रोत नभएको बारीमा न्यौपानेले आकाशे पानी संकलन गर्न ५४ हजार लिटर क्षमताको ट्याङ्की बनाएर सोही पानीको भरमा सिँचाइ गर्दै आएका छन् । ‘बारी खन्ने, पोलिथिनमा माटो भर्ने लगायतका सक्नेजति सबै काम आफै गर्छौं,’ रुक्मांगतले भने, ‘अलि कठिन कामका लागि कामदार खोज्ने गरेका छौं ।’ आशिंक कामका लागि चारजनालाई खेताला हाल्ने गरेको रुक्मागतले बताए ।

रुक्मांगत न्यौपानेले नेपाल ल क्याम्पसबाट कानूनमा स्नातकसम्मको अध्ययन सकेका छन् । ‘जागिर खाने विषयमा कहिल्यै पनि सोचिनँ,’ उनी थप्छन्, ‘बरु सानैबाट उद्यमशिलतातिर लाग्छु भन्ने नै थियो । तर मनले आँट्यो भने असम्भव भन्ने केही कुरा रहेनछ ।’ रुक्मांगतसँग ‘ख’ र जानुसँग ‘घ’ वर्गको अपांगता परिचयपत्र छ । उनीहरूले राज्यको सुविधा पनि लिन्नन् । ‘हामी आफैंले राज्यका लागि योगदान गर्न सक्छौँ भने किन सुविधा लिनु भनेर अहिलेसम्म कुनै सुविधा लिएका छैनौँ,’ उनले भने, ‘अरूले केहि सिकुन् भनेर नै हामी यसरी खटेका हौं ।’

न्यौपाने दम्पत्तिको काम देखेर गाउँका अरू युवाहरू पनि कृषि कर्ममा लागेका छन् । गाउँमा केही उपाय नदेखेर विदेश जाने तयारी गर्ने युवाहरूलाई बोलाएर सम्झाउन पनि न्यौपाने दम्पत्ति सक्रिय छन् । यो दम्पत्तिको नमूना काम र निरन्तरको संघर्षबाट पाठ सिकेर आसपासका युवाहरू पनि गाउँमै व्यवसायिक बन्न थालेका छन् ।

न्यौपाने दम्पत्तिले उत्पादन गरेको कृषि उत्पादन बजार पठाउन समस्या छैन । वडा कार्यालयसम्म गाडी आउँछ । त्यहाँबाट तरकारी नजिकैको हुवास, सेतीबेनी तथा स्याङ्जा बजारदेखि पोखरासम्म पुग्न थालेको छ । नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नं. ४ को प्रदेशसभा सदस्यका लागि समानुपातिक सूचीमा नाम सिफारिस भएका रुक्मांगत भन्छन्, ‘राजनीतिको मूल्य पनि आफ्नो ठाउँमा होला तर हरेक व्यक्तिले काम नगरी समाज बदलिँदैन ।’

राजु पौडेल, जनतापोष्ट दैनिक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds