म्याग्दी, १५ चैत । म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।
धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो ।
रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।
तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र !’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’
थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने ।
पहिले दुई छोराको शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । त्यतिबेला मृत छोराका मुहार हेर्न लिलामति र धनबहादुर काठमाडौं नै आएका थिए । तर, अहिले उनीहरु दुवै काठमाडौं आउने अवस्था छैन । त्यसैले बाबुआमाको आग्रहमा थमबहादुर भाईको शव लिएर म्याग्दीतिर हिँडिसकेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले शव लैजान गाडीको व्यवस्था मिलाइदिएको छ ।
तीनै भाईको सुतेकै अवस्थामा मृत्यु
१२ वर्षअघि माइला छोरा भक्तबहादुर मृत्यु हुँदा २४ वर्षका थिए । कतारमा सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । भाईको मृत्यु भएको १८ महिनापछि जेठा तमबहादुर पनि मलेसियामा सुतेकोसुत्यै भए । अहिले मलेसियामै धर्मलालको उही हालत भयो । वैदेशिक रोजगारीका क्रममा एकै परिवारको तीन सदस्यको निधन भएको खबरले रोका परिवारमात्रै होइन, म्याग्दीको दुर्गम गाउँ रुम शोकमा छ ।
जब साथीले धर्मलाललाई कुर्सीमै मृत भेटे
मलेशियाको कोतरिया भन्ने स्थानमा धर्मलाल एउटा अपार्टमेण्टमा सुरक्षा गार्ड थिए । श्रम स्वीकृतीको अवधि समाप्त भइसकेका उनी म्याद थप गरी उतै बसेका थिए । नेपालकै राजु गुरुङ र उनी दुई सिफ्टमा आलोपालो काममा खटिन्थे । तर, गत शनिबार गुरुङको ड्युटी रातिको समयमा थियो । जिम्मेवारी हस्तान्तरण गर्न बिहान उनी धर्मलालाई पर्खिरहेका थिए । तर, अबेरसम्म पनि धर्मलाल ड्युटीमा पुगेनन् । गुरुङ अपार्टमेन्टभित्रै धर्मलाल सुतेको ठाउँमा पुगे । त्यहाँ पुग्दा उनी कुर्सीमा सुतिरहेको अवस्थामै मृत भेटिए ।
बिदेश गए, हण्डर खाए, अन्ततः ज्यानै गुमाए
घरमा बुढेसकालले छोइसकेका बाबुआमा बिरामी हुन थालेपछि खर्च जुटाउनु धर्मलालको धर्म र बाध्यता दुवै बन्यो । उनी १० कक्षाको पढाई बिचैमा छोडेर सात वर्षअघि पहिलोपटक विदेशिएका थिए । दुई वर्ष मलेसिया बसेर फर्किएका उनी डेढ वर्षपछि पुनः उतै हानिए । त्यसयता उनले चार पाँच लाख रुपैयाँ पठाएको दाई थमबहादुर बताउँछन् । ‘त्यो पैसा बाबुआमाको औषधोपचार र घरव्यवहारमै सकियो,’ उनले भने ।
पाँच–सात महिनाअघि धर्मलाल दलाल चंगुलमा समेत परेका रहेछन् । क्यानडा जाने आशमा पाँच लाख रुपैयाँ दलाललाई बुझाएका उनी मलेसियाबाट थाइल्याण्डसम्म पुगेछन् । तर, दलालले फसाएको थाहा पाएपछि उनी मलेसिया नै फर्किएका थिए । दलालले सबै पैसा खाएर भागेपछि एक रात एक दिनमा मलेसिया फर्केको कुरा भाइले सुनाएको थियो,’ थमबहादुरले सम्झिए, ‘त्यतिखेर मैले नजा भनेकै थिएँ । टुरिष्ट भिषामा जाँदा कुनै समस्या हुँदैन भनेर हिँडेको थियो ।’
छोराको मृत्युमा अचेत बुढीआमा
दुई भाई छोरा गुमाएको एक दशक भइसकेको थियो । फेरि कान्छो छोरो गुमाउनुपर्यो लिलामतीले । सुरुमा त साइला छोरा थमबहादुरले भाईको मृत्युको खबर आमाको कानसम्म नपुगोस् भन्ने चाहेका थिए । तर, धर्मलालको मृत्युको खबर सामाजिक सञ्जालहुँदै गाउँमा फैलियो, बुढी आमाको कानसम्म पुग्यो । त्यसपछि उनलाई सम्हालिन गाह्रो भयो । ‘भाईको घटना सुनेपछि आमाले बरु म मर्नुपर्नेमा छोरो मर्यो भन्दै टाउकोमा दाउराले हिर्काउनु भयो,’ थमबहादुरले भने, ‘छोराको मृत्युको पीडा र टाउकोमा लागेको चोटले आमा अचेत हुनुहुन्छ ।’
परिवारको जिम्मा थमबहादुरको काँधमा
थमबहादुरका जेठो दाइका दुई छोरा छन् । १६ वर्षका जेठो छोरा पोखरामा र कान्छो छोरा म्याग्दीकै बेनीमा पढ्दै छन् । माइला भक्तबहादुरका १७ वर्षका छोरा भारतको पन्जाबमा काम गर्दै अध्ययनलाई पनि निरन्तरता दिइरहेका छन् । दुई विधवा भाउजु, बुढा बाबुआमा र आफूसहित तीन भाइका पाँचजना सन्तान सबैको भरथेग गर्ने जिम्मेवारी थमबहादुरकै काँधमा थपिएको छ ।
आफ्नो जमिनको उब्जनीले रोका परिवारलाई मुस्किलले चार पाँच महिनामात्रै खान पुग्छ । तर, पनि थमबहादुर अव परिवार पाल्नकै लागि बिदेश नजाने सोंचमा पुगेका छन् । ‘भाइहरु सबै निप्टिसके,’ उनले भने, ‘अब मैले नै घर परिवार सम्हाल्नु पर्ने भएको छ ।’
बाबुआमा नै आएर यस अघि जेठा र माइला छोराको काठमाडौंको आर्यघाटमै अन्तष्टी गरिएको थियो । तर, पछिल्लो समय भने बिरामी बाबुआमा काठमाडौं आउन सक्ने अवस्थामा छैनन् । बिरामी बाबुआमाले अन्तिम पटक कान्छो छोराको अनुहार हेर्छु भनेपछि थमबहादुर वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मिलाइदिएको गाडीमा भाइको शव बोकेर बुधबार दिउँसो चार बजेतिर म्याग्दी हानिएका छन् ।
म्याग्दीमा भित्रिन्छ वर्षमा ३ अर्ब रेमिटेन्स
म्याग्दीका करिब २० हजारभन्दा बढी युवा बैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन् । जिल्ला प्रशासन कार्यालय म्याग्दीको तथ्यांक अनुसार यस वर्षमात्रै एक हजार एक सय ९१ जनाले राहदानी लिएका छन् । म्याग्दीमा बार्षिक २ देखी ३ अर्बसम्म रेमिटेन्स भित्रिने गरेको छ । यो रेमिटेन्सका लागि म्याग्दीले ०६५ यतामात्रै ५१ जनाभन्दा बढी युवा गुमाइसकेको छ ।
नौ वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ४५८ को मृत्यु
वैदेशिक रोजगारीका क्रममा पछिल्लो नौ वर्षमा मात्रै ६ हजार ४ सय ५८ को मृत्यु भएको छ । यो श्रम स्वीकृतिको अवधिभित्रै मृत्यु हुनेहरूको तथ्यांक मात्रै हो । श्रम स्वीकृतिको अवधि समाप्त भएका तथा अवैधानिक रूपमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको संख्यासमेत जोड्दा अझ धेरै छ ।
स्रोत/साभार – नयाँ पत्रिका,नारायण रिजाल (बाग्लुङ) ,गोपाल साउद (काठमाडौं)
सम्बन्धित खबर
म्याग्दीमा अकबरे खुर्सानीको व्यवसायिक खेती
पर्यटकको रोजाइमा म्याग्दीको टोड्के
एकै वर्षमा एकै व्यक्तिबाट झण्डै १० लाखको निगुरो बिक्री
दलित भन्दै गर्भवती अवस्थामा हत्या गरिएकी म्याग्दीकी मीनाको अन्त्येष्टि
मीना हत्या प्रकरण: मुख्य अभियुक्त खत्री सहित परिवारका पाँचैजनालाई कर्तव्य ज्यान मुद्दा दर्ता
पहिरोले बेनी–बाग्लुङ, बेनी–जोमसोमसँगको सडक सम्पर्क विच्छेद
यो पनि पढौँ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट डिस्चार्ज गरिएको भोलिपल्टै विजयपुर खोलामा शिशु मृत फेला
पोखराका यी ठाउँमा आज र भोलि दिउँसो बिजुली नआउने
पोखरा बुद्धचोकको द स्केट पार्क आगो लाग्दा पूर्ण नष्ट, लाखौँ क्षति
‘हनी ट्रयाप’मा पारेर ज्यान लिने मनिषा, बागलुङका प्रतिक गौतमसहित ५ जना पक्राउ