कुम्भ राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

कुम्भ राशीः २०७५ तपाईंको लागि शुभ छ कि अशुभ ?

Kumbha

कुम्भ

वर्षको ग्रह गोचर समग्रमा राम्रो रहनेछ । उपलब्धिका काम हुनेछन् । बर्षारम्भमा ग्रह अनुकूल भएकाले जोस र जाँगर बढ्ने तथा चौतर्फी सफलता पाउने योग छ । तपाईँको लगनशीलता र इमान्दारीको राज्यले पूर्ण सम्मान गर्नेछ । वकिल, ज्योतिषी र पत्रकार तथा न्यायिक कार्यहरूमा लाग्नेहरूले रुचि र खुशीले अघि बढ्ने अवसर मिल्नेछ ।

बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव पर्याप्त हुनेछ । ठूला व्यक्तिसँग हुने अन्तरसंवादले मनोबल बढ्नुको साथै पदप्रतिष्ठा प्राप्तिको बलियो सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन्। पदोन्नतिको सम्भावना पनि प्रवल छ ।

राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । आश्विन १९ पछि नोकरीमा केही अप्ठ्याराहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । कुटनीतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हुँदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला ।

कुरा काट्नेहरू सबै नै प्रशंसक हुनेछन् । पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । शत्रु पराजय हुनुको साथै मित्रतथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर, जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ ।

पढाइमा सफलता मिल्नुको साथै बौद्धिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । सन्तानबाट सुख,शान्ति मिल्नेछ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो बर्ष निकै फलदायी रहनेछ ।

भाग्य वलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने, सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । आश्विन १९ गतेपछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई भाद्र महिनासम्म सक्नु उपयुक्त हुनेछ ।

वैशाख, श्रावण, मार्ग, पौष शुभ महिना हो भने ज्येष्ठ, आश्विन, माघ, चैत्र खराब। आषाढ, भाद्र, कार्तिक, फाल्गुन मध्यम महिना हुन् ।

(पं. अाेजराज लाेहनी सहित विभिन्न ज्योतिषीका राशीफल मर्ज गरिएको)

[शनि साढेसाति वा अढैया लाग्दा सर्वप्रथम पीपलको पूजा गर्ने, भैरवको पूजा गर्ने। शनिबारको दिन भैरवको पूजा गरी भैरवको दायाँहातमा २ मिटर कालो कपडा राखी‘शनिको दशा नाश होस्’ भनेर दशकदम पछि हटी नहेरी फर्कने। भैरवको मन्दिर उपलब्ध नभएमा २ नदीको संगममा नदीको मूलतिर वा नदी आएकोतर्फ फर्केर पूजा गर्ने, २ मिटर कालो कपडा आफूभन्दा पछाडिबाट बगाउने र ‘मेरो शनि दोष बगोस्’ भनी बगाउने। बगेकोलाई नहेर्ने यस प्रकारको उपाय गर्दा शनिको दोष कम हुन्छ। यो व्यवहारिक प्रयोगले थाहा भएको हो। ]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ