ब्रेकिङ न्युजः हेम्जामा फेरि दुर्घटना, ट्याक्टर चालकको मृत्यु, ४ महिनामा ५ को ज्यान गयो

ब्रेकिङ न्युजः हेम्जामा फेरि दुर्घटना, ट्याक्टर चालकको मृत्यु, ४ महिनामा ५ को ज्यान गयो

accc (1)

गण्डक न्युज पोखरा, १५ वैशाख / पोखराको हेम्जा क्षेत्रका सडकमा सवारी दुर्घटना बढ्दो छ । शनिबार ट्रयाक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मृत्यु हुनेमा कास्की माछापुच्छ्र्रे ४ मकैखोला घर भएका ३४ वर्षीय दीपक परियार रहेका छन् ।

कास्कीको घाचोकबाट पोखरा आउँदै गरेको ग१त ३०८८ नम्बरको ट्रयाक्टर अघि साढे ३ बजेतिर हेम्जा तिब्बेतियन क्याम्प नजिकै पल्टिएको हो । परियारसँगै १५ वर्षीय माछापुच्छ्रे ३ का सरोज नेपाली थिए । उनी सामान्य घाईते छन् र सहारा अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले जानकारी दिए ।

ट्रयाक्टर बिग्रिएको कारण दुर्घटना भएको अनुमान गरिएको छ । वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर दुर्गा श्रेष्ठले ट्रयाक्टरको अवस्था पनि राम्रो नरहेकाले मर्मत गर्ने र फर्किदाँ तेल समेत लिएर फर्कने गरी ड्रम बोकेर ट्याक्टर आएको बुझिएको बताए । ट्रली छुटेर इन्जिनको भाग घोप्टो पर्दा चालक गम्भिर अवस्थामा उद्धार गरिएपनि मनिपाल अस्पतालमा पुर्याउँदा मृत घोषणा गरिएको थियो ।

पोखराको हेम्जामा चार महिना नपुग्दै पाँच जनाले ज्यान गुमाइसके । गत चैत २० गते मिनी ट्रकको लापरबाहीको शिकार दुई युवा भएका थिए । तिब्बतियन क्याम्प नजिकैको चोकमा पोखराबाट हेम्जा फर्किरहेका दुई युवा सवार स्कुटरलाई लापरबाही ढंगले चलाइएको ग१क २३३४ नम्बरको ट्रकले ठक्कर दिँदा चालक स्थानीय २२ वर्षीय शंकर कुँवरको घटनास्थलमै मृत्यु भएको थियो भने पछाडि सवार १८ वर्षीय रोशन केसी घाईते भएकोमा उपचारकै क्रममा उनको पनि ज्यान गएको थियो । ग१४प ३६३६ नम्बरको उक्त स्कुटर टायर समेत फुट्ने गरी धुजा धुजा भएको थियो ।

त्यसअघि, फागूपूर्णिमाको राति फागुन १७ गते हेम्जामा दुर्घटनामा परी एक जनाको मृत्यु भएको थियो । राति साढे २ बजेतिरको समयमा पोखरा लेखनाथ वडा नं. २५ उपल्लो हेम्जामा स्कुटर आफै पल्टिदाँ पछाडि बस्ने २१ वर्षीय सूर्य प्रसाद अधिकारीको उपचारकै क्रममा निधन भएको थियो । ग १३ प ८८१० नम्बरका सो स्कुटर चालक २२ वर्षीय विकास अधिकारी घाईते भए ।

माघे संक्रान्तिका दिन पोखरा २५ स्थित सुईखेतमा साँझ दुई मोटरसाईकल आपसमा जुध्दा एक जनाको मृत्यु भयो । दुर्घटनामा परी तीन जना घाईते भए । हेम्जाबाट फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा सवार हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको ज्यान गएको हो ।

उनले चलाएको मोटरसाईकल विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग साँझ सवा ६ बजे ठोक्किएको थियो । त्रिपाठी पछाडि सवार माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भए । यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते भए ।

तस्विरः विजय नेपाली

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ