लेकसाइडमा घर धनी र भाडामा बस्नेको समेत रेकर्ड राख्न सुरु

लेकसाइडमा घर धनी र भाडामा बस्नेको समेत रेकर्ड राख्न सुरु

IMG_2158

पोखरा  । पोखराको पर्यटकीय केन्द्र लेकसाइड क्षेत्रमा रहेका घरपरिवार र भाडामा बस्नेहरुको समेत तथ्याङ्क लिन सुरु भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र, बैदामको अग्रसरता, वडा प्रहरी कार्यालय बैदामको सहयोग र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ को सक्रियतामा डिजिटल रुपमा तथ्याङ्क संकलन गर्न थालिएको हो ।

वडा नं. ६ अन्तर्गतका ७० प्रतिशत तथ्यांक लिने काम भईसकेको छ । अहिले फाराम भरेर संकलन गरेपनि अब बाँकीको मोबाइल एपबाटै तथ्यांक लिइने सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भिम पराजुलीले जानकारी दिए । सो एपको बुधबार लञ्च गरियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले डिजिटल रुपमा तथ्यांक संकलन भएपछि अपराध अनुसन्धान गर्न सहज हुने बताए । उनले तस्विर सहित लिने काम भएमा झनै प्रभावकारी हुने भन्दै लोकेशनका कारण तुरुन्त प्रहरी सेवा पुग्ने समेत जनाए । लेकसाइडमा व्यवसायिक व्यक्तिहरु रहेकाले उनीहरुले सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्नेमा उनको जोड थियो ।

आफू नौ महिनामै कास्कीबाट सरुवा भएपनि आफ्ना कामलाई आउने प्रमुखले निरन्तरना दिने विश्वास व्यक्त गर्दै एसपी सिंहले आफूले जिल्लाको शान्ति सुरक्षाका लागि १२१ ठाउँमा सिसि टिभी राख्न पहिचान गरेपनि समयाभावले नसकेको बताए । यो एपका कारण घटनापछि अनुसन्धान गर्न घर घर पुग्न सहज हुने वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले बताए ।

पोखरा वडा नं. ६ अध्यक्ष जगतबहादुर पहारीले राज्यबाट हुनुपर्ने काम सामुदायिक सेवा केन्द्रबाट भएकोमा खुशी प्रकट गर्दै आफ्नो साथ सहयोग सदैव रहने बताए । विकसित देशहरुमा सबै तथ्याङ्कलाई डिजिटल रुपमा राखिदैं आएको जनाउँदै उनले नेपालमा पहिलो प्रयास भएको वडा नम्बर ६ का अध्यक्ष जगत पहारीले बताए ।

पत्रकार महासंघ, प्रदेश नं. ४ अध्यक्ष त्रिभुवन पौडेलले ठूला होटले भरिएको लेकसाइडमा सुरक्षा चुनौति सम्बन्धमा अझै पनि गम्भिर हुन नसकेको भन्दै कम्तिमा आफ्ना ग्राहकको परिचय टिप्न आग्रह गरे । उनले तथ्यांक संकलन पछि शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एपका निर्माणकर्ता गोरेटो सफ्टवयरका निशान गुरुङ र हरि लामिछानेले एपले प्रत्येक घर, परिवार, संख्या, नाम, भाडामा बस्नेहरुको नाम ठेगानादेखि तीन पुस्ते परिचय, योग्यता, शारीरिक स्वास्थ्यवस्था, पेशा, राष्ट्रियता सबै खुलाउनुपर्ने बताए ।

सामुदायिक प्रहरी केन्द्र बैदामबाट १० र पोखरा ६ वडाबाट १० जना गरि २० जनाले तथ्याङ्क संकलन हुने अध्यक्ष पराजुलीले बताएका छन् । एक महिनामा सबै संकलन भइसक्ने छ । यो एप अन्य ठाउँमा पनि चाहेको खण्डमा प्रयोग गर्न सकिनेछ ।

कार्यक्रममा स्वागत उपाध्यक्ष मीना भट्टराई र सञ्चालन सचिव चेतनारायण पाण्डेले गरेका थिए ।

तस्विरः कृष्ण रेग्मी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ