अश्विन दानी, गोरखा । बृद्धभत्ता बृद्ध अवस्थामै पाइने सामाजिक सुरक्षा भत्ता हो । यसका लागि ७० वर्ष कटेको हुनुपर्छ । तर गोरखा नगरपालिका ९ दल भञ्ज्याङकी राममाया नेपालीले ३१ बर्षकै उमेरदेखि वृद्धभत्ता थाप्न थालिन् । नागरिकता बनाउँदा जन्म मिती फरक परेपछि उनले ३१ बर्षकै उमरदेखि वृद्धभत्ता थाप्न पाईन् ।
नेपाल सरकारले ७० बर्ष उमेर नाघेकालाई मासिक दुईहजार रुपियाँका दरले वृद्धभत्ता भत्ता दिँदै आएको छ । तर ३५ बर्षको उमेरमा वृद्धभत्ता थाप्दा अरुले हजूरआमा भनेर जिस्क्याउने राममाया बताउँछिन् । ३५ बर्षमै वृद्ध भत्ता खादै आएकी राममायालाई वृद्धभत्ता थाप्न मनभित्रैदेखि लाज लागेर आउँछ । लाजले गर्दा सुरुको एकबर्ष त उनले भत्ता थापिनन् ।
‘३१ बर्षको उमेरदेखि नै वृद्ध भत्ता खान थालेकी हुँ । अहिले ३५ बर्षको भएँ तर वृद्धभत्ता थाप्दा हजूरआमा भएँ जस्तो लाग्छ ।’ – नेपाली भन्छिन् – ‘नागरिकता बनाउँदा म ३० बर्षको थिएँ । लाज लागेर सुरुको एकबर्षचाहिँ मैले भत्तै लिइन । पछि अरुले पनि लिऊ भनेर कराउन थाले । अनि लिन थालेँ ।’
कृषि विकास वैंकको गोरखा शाखाबाट भत्ता लिने गरेको उनी बताउँछिन् । ‘वैंकमा भत्ता लिन पनि एकदम गाह्रो मानीमानी गएको थिएँ । त्यहाँका कर्मचारीहरुले तपाइँ भन्दा सानो उमेरका अरुले पनि खादै आएका छन्, गाह्रो नमान्नू भनेपछि मन अल्लि हलुङ्गो भयो’ – राममाया भन्छिन् – ‘म भन्दा सानो उमेरका ढुङ्गागाढे र खोप्लाङका अरुले पनि वृद्धभत्ता खाँदै आएका रहेछन् ।’
आफ्नो बास्तविक जन्ममिति २०४० साल भएको मनमायाँ बताउँछिन् । २०६७ सालमा नागरिकता बनाउन वडा कार्यालय जाँदा तत्कालीन गोरखा नगरपालिकाको वडा नं. ८ को कार्यालयले जन्ममिति २००१ साल राखेर सिफारिस बनाइदिएको नेपाली बताउँछिन् ।
‘बुबाको नागरिकतामा उहाँको जन्ममिति २००१ साल रहेछ तर कर्मचारीले सिफारिस बनाउँदा बुबाको जन्ममिति मेरोमा राखिदिएछन्’ साधारण लेखपढ मात्र भएकी नेपालीले भनिन् । उनको नागरिकतामा जन्ममिति २००१।०५।१२ गते उल्लेख छ । २०६७ साल कात्तिक १७ गतेको मितिमा बनेको उनको नागरिकतामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको दस्तखत छ ।
पति कृष्णबहादुर नेपालीको नागरिकताको आधारमा नागरिकता बनाए पनि जन्ममिति भने बुबाको नागरिकताको राखिएको छ । ‘मलाई राम्ररी पढ्न लेखन आउँदैन’ उनी भन्छिन् ‘नागरिकता बनाउन जाँदा बुबाको नागरिकता पनि दिएको थिएँ । सरहरुले बुबाकै जन्ममिति राखेर मेरो नागरिकता बनाई दिनुभएछ ।’ जन्ममिति सच्याउन उनी नगरपालिका र जिल्ला प्रशासन कार्यालय नधाएको पनि होइन । ‘म नगरपालिका र प्रशासनमा पटक पटक धाएको थिएँ’ उनले भनिन् ‘जहाँ गएपनि सरहरुले यो सच्याउन मिल्दैन । यस्लाई धेरै खोजीनीती नगर्नुस् । तपाई एउटाको सच्याउन थालियो भने अरु सबैको सच्याउनुपर्छ ।
त्यसैले चुपचाप लागेर बस्नु भन्दै फर्काउनु भयो ।’ नागरिकता त्यति महत्वपूर्ण नभएको भन्दै नागरिकता सच्याइदिन झण्झट मानेको उनले बताइन् । ‘तपाईलाई किन नागरिकता सच्याउनुप¥यो ? कतै जागिर खानु छैन् । बिदेश जानुछैन् । बरु यही जन्ममितिको नागरिकताको आधारमा वृद्धभत्ताको पट्टा बनाइदिन्छौं । बुद्धभत्ता आउँछ । चुपचाप लागेर यही खानुस् भन्नुभयो’ उनले भनिन् ‘त्यसैले मैले भत्ता रहरले होईन करले लिएको हुँ ।’ अझै नागरिकता सच्याउन मन लागेको भन्दै उनी भन्छिन् ‘अझै सच्याउन मिल्दैन र ? भत्ता लिन थालेपनि कसैकसैले हजुरआमा भन्दै जिस्काउँदा नमज्जा लाग्छ ।’
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले यस बारेमा तत्काल छानबीन गर्ने बताए । नागरिकताको जन्ममिति सच्याउन मिल्ने भन्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आवश्यक कागजात जुटाएर जन्ममिति सच्याउने बताए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो