पोखरा विमानस्थल नबन्ने चर्चाले तरंगित पोखरा

पोखरा विमानस्थल नबन्ने चर्चाले तरंगित पोखरा

pokhara airport

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ समूहको ‘पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानको लागि ठीक नभएको’ भन्ने प्रतिवेदनप्रति पोखरामा तीब्र रोष प्रकट भएको छ । पोखरेलीहरुले विमानस्थल निर्माणले गति लिएको बेला सार्वजनिक भएको प्रतिवेदन समग्र प्रदेश नम्बर ४ प्रतिको पूर्वाग्रह भएको भन्दै असन्तुष्टी जनाएका छन् ।

‘यो प्रतिवेदन षड्यन्त्रपूर्ण छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार विमानस्थल निर्माण र यसको वास्तविकता’ विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै संघका अध्यक्ष विश्वशंकर पालिखेले भने,‘मन्त्रीबाट गठन भएको समूहले दिएको प्रतिवेदनले हामी आश्चर्यचकित भएका छौँ, यो मन्न्त्रीमाथिको पनि प्रश्न हो ।’

यतिबेला पोखराकै रवीन्द्र अधिकारी पर्यटन मन्त्री छन् । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेण्डालाई उनले पटक पटकको चुनावमा उठाउँदै आएका थिए । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा विमानस्थल निर्माणको लागि दवाब दिन आयोजना भएको अनसन कार्यक्रममा पनि उनको सक्रिय सहभागिता रहेको थियो । त्यसैगरी सिँहदरबार घेराऊ कार्यक्रमलगायतका सबैजसो आन्दोलनमा उनी अग्रमोर्चामा रहँदै आएका थिए । उनै अधिकारी मन्त्री भएको बेला उनले नै गठन गरेको समितिले पोखरा विमानस्थलबारे दिएको प्रतिवदेनपछि भने पोखरा क्षेत्रमा उनको आलोचना हुन थालेको हो ।

संचारमाध्यमको नजिक रहेका तथा निरन्तर सामाजिक संजालमा सक्रिय मन्त्री अधिकारी विज्ञ समूहको प्रतिवेदनबारे मौन छन् । ‘यतिबेला काठमाण्डौंलाई केन्द्र मान्ने स्वनामधन्यहरुले मन्त्री ( रवीन्द्र)को काँधमा बन्दुक राखेर आफ्नो काम गर्र्दै आएका छन्’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सोही कार्यक्रममा भने,‘काठमाण्डौंको नेक्सस ठूलो छ,त्यही समूहले फेवातालमा गलत गर्नेहरुलाई विज्ञ टोलीमा राख्न सफल भएका हुन् ।’

उनको भनाई कर्ण शाक्यका छोरा सुनिल शाक्यलाई विज्ञ समूहमा राखेकोप्रति लक्षित थियो । मन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुल्मीले मन्त्रीकै निर्देशनमा यो गतिविधी भएको त होइन भन्ने प्रश्नसमेत गरे । नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले पोखरामा विमानस्थल निर्माण अभियानलाई कसैले रोक्न खोजे त्यसको कडा प्रतिवाद गरिने बताए । उनले केन्द्र सरकारले विमानस्थल बनाउन आलटाल गरे प्रदेश सरकारले ऋण लिएर भए पनि विमानस्थल बनाउनुपर्नेमा जोड दिए । पर्यटन मन्त्री अधिकारी पोखराकै भए पनि उनले पोखरा र समग्र प्रदेशको जनताको भावनामाथि खेलबाड गरेको उनको आरोप थियो ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरुङ‘करण’ले कथित विज्ञहरुको टोलीले दिएको प्रतिवेदनलाई दुर्भाग्यपूर्ण बताउँदै सो प्रतिवेदनलाई केटाकेटीपनको संज्ञा दिए । पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेले थानकोट पनि नकटेका केही व्यक्तिहरुले तीनपुस्ते पोखरेलीको सपनामाथि धावा बोल्न खोजेको गुनासो गरे । अर्का पूर्व अध्यक्ष प्रकाश खनालले पोखरा विमानस्थल मन्त्रीको गोजीबाट नभई पोखरेलीको संघर्षबाट आएको बताउँदै मन्त्रीको गलत क्रियाकलापको प्रतिवाद गर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा, व्यवसायीहरु केशव खत्री, रामजी बास्तोलालगायतले विमानस्थल निर्माणबारे देखिएको अन्यौलता अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।

प्रतिवेदन बेमौषमी बाजा: मूख्यमन्त्री गुरुङ

प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन मन्त्रालयले गठन गरेको विज्ञ समूहको प्रतिवेदनलाई बेमौषमी बाजाको संज्ञा दिएका छन् ।

‘यो बेलामा के को विज्ञ समूह ?’, पोखरा उद्योग वाणिज्य संघले पोखरा विमानस्थल निर्माणप्रति विज्ञ समूहको नाममा आएको प्रतिवेदनप्रति असन्तुष्टी जाहेर गर्दै ज्ञापनपत्र बुझाएपछि उनले भने,‘पोखरामा जसरी पनि एयरपोर्ट बन्छ, अझ यसको रनवे ५ सय मिटर थपिन्छ ।’

उनले पर्यटनमन्त्री रवीन्द्र अधिकारीले गठन गरेको विज्ञ समूहलाई औचित्यहीन भएको बताए । केन्द्र सरकारले प्रदेशहरुलाई अधिकार दिन आनाकानी गर्दै आएको अभिव्यक्ति दिँदै आएका मूख्यमन्त्री गुरुङले आफू पर्यटनमन्त्री हुँदा देखि नै विमानस्थलको जग्गा मुआब्जा र निर्माण कार्यलाई अगाडि बढाउन खेलेको भूमिकाको स्मरण पनि गरे ।

पोखरा उद्योग वाणिज्य संघले बुझाएको ज्ञापनपत्रमा कथित विज्ञ समूहको नाममा आएको ज्ञापनपत्रको भत्र्सना गर्दै आवश्यक परे कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

विमानस्थल बन्न नदिने षड्यन्त्र भएको काँग्रेस कास्कीको आरोप

नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङसंग भेटी ज्ञापनपत्र बुझाएको थियो ।

विमानस्थलको निर्माण कार्य १५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ समितिको प्रतिवेदनले विमानस्थल उडानका लागि योग्य नरहेको भन्नु यहाँ विमानस्थल बन्न नदिने षड्यन्त्र भएको भन्दै खेद पनि प्रकट गरेको छ ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा पार्टी सभापति कृष्ण केसीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विज्ञ समितिको प्रतिवेदन दुरासयपूर्ण रहेको र पोखराकै विभागीय मन्त्रीले विमानस्थलका सम्बन्धमा दिएका अभिव्यक्तिले विमानस्थल निर्माणमा चलखेल र कमिसनको खेल त होइन रु भन्ने गम्भीर आशंका उत्पन्न गराएको बताए ।

ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री गुरुङले उक्त विमानस्थललाई यस प्रदेशको समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिएको बताउँदै सन् २०२१ सम्म विमानस्थल निर्माण गराउने कुरामा प्रदेश सरकार लाग्ने विश्वास दिलाए ।

विमानस्थल निर्माण हुन नदिने षड्यन्त्रस्वरुप विज्ञ समूहबाट आएको प्रतिवेदनको विरुद्धमा पोखरा उद्योग वाणिज्य संघले पनि आजै मुख्य मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ