विश्वकप २०१८ फाइनल: फ्रान्स Vs क्रोएसिया (म्याच प्रिभ्यु)

विश्वकप २०१८ फाइनल: फ्रान्स Vs क्रोएसिया (म्याच प्रिभ्यु)

France-v-Croatia

रुसमा जारी विश्वकप फुटबलको उपाधिका लागि फ्रान्स र क्रोएसियाबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोको लुज्हनिकी रंगशालामा हुँदैछ ।

फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाएको हो । फाइनल यात्रा तय गर्दासम्म फ्रान्सले अर्जेन्टिना, उरुग्वे र बेल्जियमलाई पराजित गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारका रूपमा उभ्याएको छ।

यस्तै, इंग्ल्याण्डलाई २–१ ले हराउँदै क्रोएसियाले पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो । गु्रप अफ डेथका रूपमा हेरिएको समूह ‘डी’ बाट विजेता बन्दै अघि बढ्ने क्रममा नाइजेरिया, अर्जेन्टिना र आइसल्यान्डलाई पराजित गरेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको चुनौती पेनाल्टी सुटआउटमा समाप्त पारेको थियो। त्यस्तै क्रोएसियाले सेमिफाइनलमा इङ्ल्यान्डलाई अतिरिक्त समयमा निराश पारेको थियो।

फ्रान्सले यसअघि एकपटक विश्वकपको उपाधि उचालेको छ भने क्रोएसियाले उपाधि उचाल्न सकेको छैन । फ्रान्सले सन् १९९८ मा उपाधि उचालेको थियो तर सन् २००६ मा फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।

ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो । यसअघि २०१० मा दक्ष्णि अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन्। २०१० मा स्पेनले नेदरल्यान्ड्सलाई निराश पार्दै विश्वकपको उपाधि जितेको थियो।

हेड टु हेड

–यसअघि क्रोएसियासँग भएका ५ भिडन्तमा फ्रान्स अपराजित छ । ३ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । महत्वपूर्ण प्रतियोगितामा पनि फ्रान्स र क्रोएसिया २ पटक आमने सामने भइसकेका छन् ।

–सन् १९९८ मा भएको विश्वकपको सेमिफाइनलमा फ्रान्स १–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै २–१ ले विजयी भएको थियो । त्यतिबेला लिलियन थुरामले निर्णायक गोल गरेका थिए । फ्रान्सबाट १ सय ४२ क्याप जितेका थुरामको त्यो नै करिअरकै एकमात्र गोल थियो ।

–युरो २००४ को समूहगत चरणमा फ्रान्स र क्रोएसियाले २–२ गोलको बराबरी खेलेका थिए ।

–युरो २००४ पछि फ्रान्स र क्रोएसिया २०११ को मार्चमा मैत्रीपूर्ण खेलका लागि भिडे । सो खेल साँच्चै नै मैत्रीपूर्ण रह्यो । अर्थात् गोलरहित बराबरीमा सकियो ।

फ्रान्स

–तीनपटक भन्दा बढी विश्वकपको फाइनलमा पुग्ने फ्रान्स छैटौं टोली हो । जर्मनी सर्वाधिक ८ पटक, ब्राजिल र इटाली ६–६ पटक, अर्जेन्टिना ५ पटक फाइनलमा पुग्दा नेदरल्याण्ड्सले पनि ३ पटक विश्वकपको फाइनल खेलेको छ ।

–फुटबलको महत्वपूर्ण प्रतियोगितामा फ्रान्सले फाइनल खेल्न लागेको यो छैटौं अवसर हो । युरोपेली च्याम्पियनसिपको फाइनल फ्रान्सले ३ पटक खेलिसकेको छ । पछिल्ला ५ फाइनलमध्ये फ्रान्सले ३ वटामा जित हात पारेको छ ।

–विश्वकपको फाइनलमा फ्रान्सले गरेको ४ मध्ये ३ गोल सेट पिसबाट निस्किएको थियो । २ वटा गोल कर्नरमार्फत् हुँदा एउटा पेनाल्टीबाट सम्भव भएको थियो ।

–जारी विश्वकपकमा गोल गर्ने ५ खेलाडीमध्ये फ्रान्सका ३ डिफेण्डर छन् । बेन्जामिन पभार्ड, राफेल भारान र स्यामुअल उमटिटी फ्रान्सेली डिफेण्डर हुन् जसले रुस विश्वकपमा आफ्नो नाममा गोल लेखाइसकेका छन् ।

–पछिल्लोपटक फ्रान्सका ३ जना डिफेण्डरले विश्वकपमा गोल गर्दा सन् १९९८ मा उसले ट्रफी आफ्नै घरमा राखेको थियो ।

–पेनाल्टी शुटआउटलाई छाड्ने हो भने विश्वकपका नकआउट चरणका १४ खेलमा फ्रान्सले एउटैमा मात्र हार बेहोरेको छ । ११ खेल फ्रान्सले आफ्नो पक्षमा पारेको थियो । २ खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । सन् २०१४ को क्वार्टरफाइनलमा भने फ्रान्स जर्मनीसँग १–० ले पराजित भएको थियो ।

–फ्रान्सले आज विश्वकप उचाले प्रशिक्षक डिडियर डेसच्याम्प्स खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि मारियो जागालो र फ्राञ्च बेकनबरले यो उपलब्धि हासिल गरेका थिए ।

–किलियन एमबापेले आज गोल गर्न सके उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो टिन एजर खेलाडी हुने छन् । यसअघि पेलेले टिन एजमै विश्वकपको फाइनलमा गोल गरेर कीर्तिमान बनाएका छन् । सन् १९५८ मा पेलेले ६ गोल गरेका थिए । एमबापेले जारी विश्वकपमा ३ गोल गरिसकेका छन् । आज गोल नगरे पनि एमबापे पेलेपछि विश्वकपमै सर्वाधिक गोल गर्ने खेलाडी बनसकेका छन् ।

क्रोएसिया

–विश्वकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो क्रोएसिया ।

–पहिलोपटक फाइपनल खेलेर पनि उपाधि उचाल्ने राष्ट्र फ्रान्स र स्पेन हुन् । फ्रान्सले १९९८ र स्पेनले २०१० मा पहिलो फाइनलमै राष्ट्रलाई विश्वकप दिलाएका थिए । क्रोएसिया पनि आज इतिहास दोहर्‍याउन चाहन्छ ।

–नकआउट चरणका सबै खेलमा पछि पर्नका बाबजुद विश्वकपको फाइनल पुग्ने एक्लो टोली हो क्रोएसिया ।

–क्रोएसियाले पछिल्ला ३ खेल अतिरिक्त समयसम्म खेलेको छ । आजको खेल पनि अतिरिक्त समयमा धकेलिए क्रोएसियाले एउटै विश्वकपमा लगातार ४ खेल अतिरिक्त समयसम्म खेल्ने कीर्तिमान बनाउने छ ।

–क्रोएसियाले जारी प्रतियोगितामा १२ गोल गरेको छ । आत्मघाती गोललाई समेत गन्ने हो भने क्रोएसियाबाट ७ खेलाडीले गोल गरिसकेका छन् ।

–जापानसँग २००६ मा गोलरहित बराबरी खेलेयता क्रोएसियाले विश्वकपका पछिल्ला १० खेलमा गोल गरेको छ ।

–क्रोएसियाले रुसमा खाएको ५ मध्ये ४ गोल सेट पिसमा सम्भव भएको थियो । एउटा पेनाल्टी, थ्रो ईन, र डाइरेक्ट तथा इनडाइरेक्ट फ्रि–किकमा क्रोएसियाले गोल खाएको छ ।

–क्रोएसियाले जारी प्रतियोगितामा ९९ वटा फउल खेलेको छ । उसका खेलाडीले १४ वटा पहेंलो कार्ड पाइसकेका छन् ।

यी दुईबीचको खेल लुज्निकी रंगशालामा राति पौने ९ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ