पोखरा विमानस्थललाई थप जग्गा आवश्यक ! सशक्त प्रतिकारमा उत्रन स्थानीयको यस्तो तयारी

पोखरा विमानस्थललाई थप जग्गा आवश्यक ! सशक्त प्रतिकारमा उत्रन स्थानीयको यस्तो तयारी

Pokhara-International-Airport

रञ्जन अधिकारी 

पोखरा, २४ साउन । पोखरा अन्तर्राष्ट्रिय शहर बन्ने पहिलो आधार नै हो ‘विमानस्थल’ । साढे ४ दशकअघिदेखिको योजना बल्ल अहिले पूरा गर्न अग्रसरता देखाइएको छ । कहिले प्राविधिक कठिनाई, कहिले लागत, कहिले मुआब्जाका कारण काम भएको थिएन । अब सबै मिलिसकेपछि त द्रुततर गतिमा हुनुपर्ने हो । तर, आशंका कायमै छ । पोखरा जस्तो सानो उपत्यकामा ठूला जहाजको उडान/अवतरण सम्भव छैन भन्ने त सरकारी धारणा नै आईसकेको छ ।

अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्छ त ? बन्दैन रे त ! विज्ञले नै अन्तर्राष्ट्रिय उडान थेग्दैन भनेर प्रतिवेदन बुझाए रे ! लौ पोखरामा विकास हुन नदिने तत्व फेरि सक्रिय भए । केहि साता अघि पोखरा यसरी नै तात्यो । पर्यटन मन्त्रालयले नै अफवाह भनेपछि चियागफ फेरियो ।

चालिस वर्ष अघि पोखराको बजार क्षेत्रबाट छिनेडाँडा टाढा लाग्थ्यो । एयरपोर्ट बनाउन उपयुक्त थियो तर अब घना बस्तीका बीच पोखरा जस्तो प्राकृतिक शहरमा एयरपोर्ट काम छैन भन्ने तर्क गर्नेहरु पनि कम छैनन् । यद्यपी, पोखरेलीको सपना भन्दै महिनौं अनसन बसेका, सिंहदरबार घेर्न काठमाण्डौ नै पुगेका उनीहरु तोकिएकै समयमा विमानस्थल बन्नेमा ढुक्क छन् । कछुवा गतिमा नै भएपनि निर्माण काम भईरहेको छ ।

  

फेरि चाहियो जग्गा

वि.सं २०३१ सालमा छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरियो । पछिल्लो पटक ५ सय २१ रोपनी जग्गा अधिग्रहण भयो । अब फेरि जग्गा आवश्यक पर्ने भन्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले महानगरलाई पत्र काटेको छ ।

साविक छिनेडाँडा वडा नं १, २, ३ का जग्गा आवश्यक पर्ने आयोजनाको भनाई छ । हजार रोपनी बढी जग्गा अझै आवश्यक देखिन्छ । अब स्थानीय विमानस्थलका लागि जग्गा दिन तयार छैनन् । जग्गा हामी दिन्नौं भन्दै प्रतिकार समिति नै गठन भएको छ । यसअघि, ५२१ रोपनी जग्गा अधिग्रहण गर्दाको समयमा जस्तो टुलुटुलु हेर्दै जे भन्यो त्यही लुरुलुरु मानेर नबस्ने स्थानीयको चेतावनी छ ।

यसअघि पनि उचित मुआब्जाका लागि दबाब दिन समितिहरु गठन गरिएपनि सरकारी एजेन्टको काम गरेर स्थानीय नै मार्न उद्धत भएको स्थानीयको निश्कर्ष छ । वडा कार्यालय पोखरा १४ लाई आयोजनाले विमानस्थलको लागि थप जग्गा आवश्यक परेको भन्दै सोमबार (साउन २१) पत्र काट्यो । भोलिपल्ट मंगलबार कुनै जानकारी विना जग्गा थप अधिग्रहण गर्नुपर्ने ठाउँ भन्दै प्राविधिक टोली सर्भेमा पुगेपछि त्यहाँको स्थानीयले टोली नै लखेटे ।

‘ह्याङ्गर, आयल, डिपोट, ग्लाईड पाथ लगायत अन्य पुर्वाधार निर्माण गर्नको लागि जग्गा अपुग हुने देखिएकाले साविक छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहणको सम्भावना अध्ययनको लागि २०७५ साउन २२ गतेदेखि सर्भे कार्य सुरु गर्नको लागि सम्बन्धित जग्गा धनीलाई जानकारी गराई आवश्यक सहयोग गराई निर्देशानुसार अनुरोध गर्न’ भन्दै पत्र लेखेको थियो ।

प्रतिकार समितिको नेतृत्व गनेस पौडेलले गर्ने

राष्ट्रिय गौरवको आयोजना भन्ने तर कति ठूलो बनाउने, कति क्षेत्रफलमा विमानस्थल बन्छ भनेर तय नहुने ? भन्दै स्थानीय आक्रोशित छन् । मनलाग्दी हचुवाका भरमा किस्ता किस्तामा तारबार सार्दै गर्ने काम ठीक नभएको भन्दै उनीहरुले आफू जन्मेको, हुर्केको ठाउँ यसै नछाड्ने जिकिर गरेका छन् । समितिको नाम र संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

प्राविधिक कारण भन्दै वर्षैपिच्छे जग्गा थप्ने श्रृंखला चलाएर आतंकित नपार्न संयोजक गनेस पौडेलले चेतावनी दिए । स्थानीय युवा पौडेलकै नेतृत्वमा अब सशक्त प्रतिकार समिति आयोजना विरुद्ध उत्रने उनीहरुको सामूहिक निर्णय छ । २ दर्जन सदस्य समितिमा छन् ।

‘विमानस्थल बनाउने भनियो । लामो समयदेखिको निर्माण अभियान नै हो । अहिलेसम्म सहयोग गरेकै हो । अब भने थप जग्गा दिँदैनम्’ संयोजक पौडेलले भने– ‘अब समितिको मुख्य जिम्मेवारी नै थप जग्गा अधिग्रहण हुन नदिनु हो ।’

पछिल्लो पटक अधिग्रहण भएपछि विमानस्थल निर्माण कार्य पनि अघि बढ्यो । त्यससँगै विमानस्थल जग्गाक्षेत्र बाहिरका जग्गाधनीहरुले पनि घर बनाउन थालेको पौडेलले बताए । ‘अब विमानस्थलले उठिबास गर्दैन भनेर घर बनाउन सुरु गरे । कतिले सम्पन्न प्रमाणपत्र लिन मात्र बाँकी छन् । किन दिएको स्थानीय तहले ? महानगरले स्वीकृति ? ’ पौडेलले भने – ‘एउटै परिवार पटक पटक सर्दै सर्दै कुना पुगिसकेको छ । अन्याय भयो स्थानीयलाई । हामी सशक्त प्रतिकार गर्छौं ।’

मुआब्जामा गुनासो

स्थानीयले उचित मुआब्जा नपाएको भन्दै गुनासो गरेका छन् । अहिले पोखराको जग्गाको भाउ सुनिसाध्य छैन । रोपनीकै २–३ करोडमा कारोबार हुने त्यहाँको जग्गाको मुआब्जा २० लाख देखि ८० लाखसम्म निर्धारण गरिएको संयोजक पौडेलको गुनासो छ । पौडेलले कि नजिकै सटही जग्गा दिनुपर्ने कि त मार्केट अनुसार जग्गाको भाउ कायम गर्नपर्ने आफूहरुको माग रहेको सुनाए । ‘चल्तीको मूल्य समेत नदिने अनि वर्षैपिच्छे मनलाग्दी हचुवाको भरमा जग्गा चाहियो भन्ने ?’ पौडेलको प्रश्न छ – ‘जग्गा बैंकमा छन् । बैंकले राखेको मूल्य जत्ति पनि मुआब्जा निर्धारण नहुने कस्तो मापदण्ड हो ?’

जग्गाको मूल्यसँगै पहिचानकै क्षतिपूर्ति कसरी हुन्छ ? भन्दै प्रश्न गरे । पोखराको सबैभन्दा पूरानो इतिहास बोकेका गाउँहरु नै अब सकिने खतरा उत्पन्न भएकोमा उनको चिन्ता छ । ३०० वर्ष पूरानो पितापुर्खाको थाकथलो मासिन नदिन आफूहरु उत्रेको पौडेलले बताए ।

विमानस्थल बनाउने समय: २०७८ असार २६ भित्र

सरकारले सन् २०१४ मे १२ (२०७१ वैशाख २९) मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । कम्पनीले २०२१ जुलाई १० (२०७८ असार २६) मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । सहमति अनुसार नेपाल सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण तोकिएको समयमा नसके कम्पनीले क्षतिपूर्ति तिर्नेछ । विमानस्थल इपिसी मोडलमा निर्माण हुँदैछ ।

चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माणको काम अगाडि बढेको हो । पोखराको वडा नं १४ र १८ मा पर्ने झन्डै ३७ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ । विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ओलीले नै २०७२ चैत दोस्रो साता आफ्नो चीन भ्रमणकै क्रममा ऋण सम्झौता गरेका थिए ।

अहिले जग्गा सम्याउने काम भईरहेको छ । त्यसपछि सात मिटर फिलिङ हुने र त्यसपछि विजयपुर माथि डाँडा झण्डै १२ मिटर कटान गर्नुपर्ने प्राविधिकहरुको भनाई छ ।

सम्बन्धित समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ: मन्त्री पण्डित

पोखरा विमानस्थल नबन्ने चर्चाले तरंगित पोखरा

उडान कार्यविधि डिजाइन बिना नै पोखरा विमानस्थल निर्माण

अन्तर्राष्ट्रिय उडानका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अयोग्य !

पोखरामा चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल !

पोखरा विमानस्थल निर्माणको काम यसरी धमाधम अघि बढ्दै (फोटो फिचर)

यस्तो बन्नेछ पोखराको अन्तर्राष्ट्रिय विमानस्थल, सकियो ६ प्रतिशत सम्याउने काम (तस्विर/भिडियो)

यसरी बन्दैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (फोटो/भिडियो)

पोखरेलीलाई खुशीको खबर: चिनियाँ कम्पनीले थाल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ