पोखरामा विमान चढी आउजाउ गर्ने मात्र वर्षमै साढे ५ लाख ! डेढ लाख पर्यटक बढे

पोखरामा विमान चढी आउजाउ गर्ने मात्र वर्षमै साढे ५ लाख ! डेढ लाख पर्यटक बढे

Pokhara Airport plane

File Photo

पोखरा । पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४/७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।

उनले अघिल्लो वर्षभन्दा १ लाख ४१ हजार ६ सय ७१ जना पर्यटक बढी आएको जानकारी दिए । ‘नेपाली मात्रै हैन, विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘२०७३/७४ मा विदेशी पर्यटक १ लाख ३९ हजार ४ सय ७७ जना आएका थिए, २०७४/७५ मा १ लाख ७५ हजार २४ जना पर्यटकले विमान प्रयोग गरे ।’

उनले आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ११ हजार ५ सय ३६ जनाले हवाईमार्ग प्रयोग गरेकोमा २०७४/७५ मा ५ लाख ५३ हजार २ सय ७ जना हवाईमार्गबाट आवतजावत गरेको बताए । पोखरामा विमानस्थलमा पछिल्लो आर्थिक वर्षको एक वर्षमा २ लाख ७० हजार २ सय ३० जना हवाईमार्गबाट पोखरा प्रवेश गरेका छन् भने २ लाख ८२ हजार ९ सय ७७ जना पोखराबाट बाहिरिएका छन् ।

विमानस्थलको आम्दानी पनि ३४ प्रतिशतले बढेको उनले बताए । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड २३ लाख आम्दानी बढेको जानकारी उनले दिए । आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४/७५ मा ९ करोड १७ लाख ३० आम्दानी गरेको बताए ।

पोखरा विमानस्थलले यात्रु सेवा शुल्क, जहाज आवतरण, ह्यांगर, घरभाडा लगायत शीर्षकबाट आम्दानी गर्छ । पोखराबाट दैनिक पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चितवन र पोखरा जोमसोम सिधा उडान हँुदै आएको छ । बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलायन्स, तारा एयरलायन्स लगायतले दैनिक करिब २० उडान भर्छन् ।

थपिँदै उडान

पोखरामा पर्यटकीय सिजन सुरु हुने हुनै लाग्दा एयर लाइन्सहरुले फ्लाइट संख्या बढाउने तयारी थालेका छन् । पोखरा काठमाडौं रुटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट तयारी गरेको बुद्ध एयरका पोखराका प्रमुख गौतम बरालले जानकारी दिए ।

‘अहिले दैनिक ८ फ्लाइट छ,’ उनले भने ‘पर्यटकीय सिजनमा अग्रिम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक १२/१४ फ्लाइटको तयारी गरिरहेका छौं ।’ उनले आइतबारदेखि पोखरामा नै राति पनि जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी गरेको बताए ।

यती एयरलाइन्सले पनि १२/१३ फ्लाइइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।

सिम्रिक एयरलाइन्सका पोखरामा प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि ५ फ्लाइट थप पर्ने बताए । ‘अहिले २ फ्लाइट हुदै आएको छ,’ उनले भने ‘सिजनको बेला ५/ ६ फ्लाइट उठान गर्ने छौ ।’

मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको छ । श्रीएयर लाइन्स पनि पोखराबाट उडानका लागि तयारी गर्दै गरेको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ